मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
विश्वकै चर्चित लिग बनाउने योजना

ठुलो धनराशि खर्चिएर धमाधम प्रभावशाली खेलाडी भित्र्याउँदै साउदी लिग

शुक्रबार, २६ जेठ २०८०, ११ : ५०
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । स्थापनाको हिसाबले नेपालको व्यवसायियक लिगभन्दा पनि निकै कान्छो हो, साउदी अरेबियाको व्यवसायी फुटबल लिग । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग सन् १९५४ बाट सुरु भएको हो । स्थापनको ६९ वर्ष पुगिसक्दा नेपाली व्यवसायी लिगले हालसम्म गतिलो प्रायोजक पाउनसमेत ठुलै सङ्घर्ष गर्नुपर्ने अवस्था छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जारी सिजनको ‘ए’ डिभिजन लिगका लागि पनि ‘टाइटल स्पोन्सर’ पाउन सकेन ।

अर्कोतिर, साउदी प्रिमियर लिग (एसपीएल) सुरु भएको भर्खर ४७ वर्ष पुग्दै छ । साउदी अरेबियामा सन् १९७६ बाट व्यवसायी लिग सुरु भएको हो । तर, स्थापनाको छोटो अवधिमै साउदीको व्यवसायिक लिगले विश्व फुटबलमा निकै ठुलो फड्को मार्दैछ ।

पछिल्लो समय विश्वका चर्चित खेलाडीहरूको ध्यान साउदीको व्यवसायिक लिगतर्फ तानिएको छ । विश्व फुटबलका हस्ती खेलाडीहरु एसपीएलमा आबद्ध हुन लालयित देखिन्छन् । स्थापित क्लबहरूबाट युरोपियन लिग खेलिरहेका खेलाडीसमेत एसपीएललाई आफ्नो गन्तव्य बनाउन आतुर देखिन्छन् ।

स्पेनिस क्लब रियल म्याड्रिड र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिसकेका चर्चित पोर्चुगिज स्ट्राइकर क्रिश्चियानो रोनाल्डो पनि पछिल्लो समय एसपीएलमै सक्रिय छन् । उनी अल नासर क्लबबाट साउदीको व्यवसायी लिग खेल्छन् । रोनाल्डो उक्त क्लबका कप्तान पनि हुन् ।

पछिल्लो समय फिफा बालेन डी’ओर विजेता फ्रान्सेली खेलाडी करिम बेन्जेमा पनि साउदी व्यवसायी लिगमा आबद्ध भएका छन् । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड छाडेसँगै प्रभावशाली खेलाडी बेन्जेमाले एसपीएल क्लब अल—इत्तिहादसँग सम्झौता गरेका छन् ।

अल—इत्तिहाद साउदी लिग च्याम्पियन क्लब हो । १४ वर्ष म्याड्रिडमा बिताएका फ्रान्सेली स्ट्राइकर बेन्जेमाले अल—इत्तिहादसँग तीन वर्षको लागि सम्झौता गरेका हुन् । उनी सन् २०२६ सम्म अल—इत्तिहादमा रहने बताइएको छ । उनलाई क्लबले वर्षिक १० करोड अमेरिकी डलर पारिश्रमिक उपलब्ध गराएको बताइएको छ ।

01gk46ej9n8xb7a2gq2c

यसका अतिरिक्त साउदी व्यवसायिक लिग क्लबले स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीमाथि पनि आँखा लगाएको थियो । मेस्सीका प्रतिनिधि र साउदी क्लबका प्रतिनिधिबीच विभिन्न चरणमा वार्ता पनि भएको थियो । तर, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर मेस्सी अप्रत्याशित रूपमा अमेरिकी क्लब इन्टर मियामीसँग जोडिन पुगेका छन् ।

साउदी क्लब अल हिलालसँगै स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले पनि मेस्सीलाई भित्राउन ठुलै कसरत गरेको थियो । तर, ‘फिनान्सियल फेयर प्ले’ का कारण न मेस्सीको अल हिलाल यात्रा सम्भव भयो न त बार्सिलोना यात्राले नै मूर्तरूप लिन सक्यो । साउदीको व्यवसायी फुटबल लिगमा हाल १८ वटा क्लब आबद्ध छन् । प्रत्येक क्लबले आठ/आठजना विदेशी खेलाडी दर्ता गर्न पाउने नियम छ ।

खासमा, साउदीको सरकार नै विश्वका प्रभावशाली खेलाडीहरूलाई आबद्ध गरेर एसपीएललाई विश्वकै चर्चित लिग बनाउन चाहन्छ । साउदी सरकारले यसका लागि योजना पनि अगाडि बढाइसकेको छ । साउदी सरकारकै सक्रियतामा एसपीएलमा भित्र्याउने चर्चित खेलाडीहरूको सूची नै तयार पारिएको समाचार पनि बाहिर आएको छ ।

त्यसका लागि आवश्यक पर्ने आर्थिक स्रोतको व्यवस्थापन पनि साउदी सरकारले गरिसकेको छ । साउदी सरकारले खासगरी सरकारी लगानी रहेको संस्था पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ)मार्फत प्रक्रिया अगाडि बढाउने गरेको छ । यसअघि साउदी सरकारले पीआईएफमार्फत नै गल्फ खेलमा ठुलो धनराशि लगानी गरेको थियो ।

गल्फपछि साउदी सरकारको ध्यान घरेलु व्यवसायी लिग फुटबलले तानेको हो । साउदी सरकारले फुटबलमा पनि पीआईएफमार्फत नै ठुलो धनराशि लगानी गर्ने योजना बनाएको हो । हालै सार्वजनिक एक समाचार अनुसार, पीआईएफले साउदीका चार वटा ठुला क्लबको स्वामित्व लिने भएको छ । ती चार क्लब हुन्, अल नासर, अल हिलाल, अल अहली र अल इत्तिहाद ।

उसो त, साउदी अरेबियाका सबै क्लब पहिलेदेखि नै खेलकुद मन्त्रालयको अधीनमा रहँदै आएका छन् । त्यसमध्ये पनि पीआईएफले चार क्लबलाई प्राथमिकतामा राखेको हो । पीआईएफले यी चार क्लबको ७५ प्रतिशत सेयर खरिद गर्न लागेको समाचारमा जनाइएको छ ।

पीआईएफले इङ्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको पनि ८० प्रतिशत सेयर खरिद गरेको छ । पीआईएफ चार प्रमुख क्लबको स्वामित्व लिएपछि साउदीका केही प्रतिष्ठित कम्पनीहरूले पनि अन्य क्लबको स्वामित्व लिने तयारी गरिरहेका छन् । साउदीको घरेलु लिगलाई विश्वकै उत्कृष्ट व्यवसायी लिग बनाउने उद्देश्यले साउदी सरकारकै पहलमा यस्ता योजना अगाडि सारिएका हुन् ।

यही योजनाअन्तर्गत विश्व फुटबलका हस्ती खेलाडीलाई साउदी लिगमा भित्र्याउन इतिहासमै सबैभन्दा बढी पारिश्रमिकको प्रलोभन पनि दिइन्छ । तत्कालका लागि विश्वका २० जना प्रभावशाली खेलाडीलाई भित्राउन एक अर्ब अमेरिकी डलर पारिश्रमिक आवश्यक पर्ने पीआईएफको अनुमान छ ।

यसबीचमा, साउदी सरकारको योजनालाई मूर्तरूप दिने विषयमा दुई वटा विषय प्रमुख कारण बने । पहिलो साउदी लिगमा  रोनाल्डोको आगमन । साउदी सरकारको योजनाअन्तर्गत नै रोनाल्डो गत नोभेम्बरमा अल नासरमा आबद्ध भएका थिए । यद्यपि, यो सिजनको साउदी लिगको उपाधि रोनाल्डोको क्लब अल नासरले जित्न सकेन । साउदी लिगको उपाधि अल इत्तिहादले चुम्यो ।

साउदी सरकारको योजनालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अर्को पक्ष हो, हालै सम्पन्न फिफा विश्वकप । सन् २०२२ को विश्वकप कतारमा आयोजना भएपछि त्यसको सकारात्मक प्रभाव साउदीमा पनि परेको छ । कतार विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो तर, विश्वकपमा साउदीले अर्जेन्टिनालाई पहिलो खेलमै २—१ गोलले हराएको थियो । यो नतिजाले पनि साउदी फुटबललाई उत्साही बनाएको थियो ।

अर्कोतिर, साउदी अरेबियाले फुटबलको भौतिक पूर्वाधार निर्माणमा पनि निकै ठुलो रकम खर्च गरिरहेको छ । पीआईएफमार्फत नै साउदी सरकारले दुई ठुला सहर रियाद र जेद्दामा खेलकुदका अत्याधुनिक पूर्वाधार तयार पार्दै छ । यसदेखि बाहेक अन्य स्थानमा पनि पीआईएफले फुटबलका पूर्वाधार निर्माण गरिरहेको छ ।

साउदी लिगमा आबद्ध महँगा खेलाडी

क्रिस्टियानो रोनाल्डो

cristiano-ronaldo-al-nassr-presentation

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट साउदी व्यवसायी लिग क्लब अल नासरमा आबद्ध भएका हुन् । ३८ वर्षीय रोनाल्डोलाई भित्राउन अल नासरले ठुलो धनराशि खर्च गरेको छ । साउदी व्यवसायी लिगको इतिहासमै सबैभन्दा धेरै रकम पाउने खेलाडी हुन्, रोनाल्डो । उनले प्रत्येक साता ४४ लाख अमेरिकी डलर पारिश्रमिक पाउने छन् । यस आधारमा उनले वार्षिक २० करोड अमेरिकी डलर प्राप्त गर्नेछन् । यसका अतिरिक्त उनले क्लबबाट अन्य सुविधा पनि पाउँछन् ।

एभर बानेगा

Ever-Banega---Al-Shabab

अर्जेन्टिनी मिडफिल्डर एभर बानेगा सन् २०२० मा साउदी व्यवसायी लिगमा आबद्ध भएका हुन् । उनी साउदी क्लब अल साबबबाट व्यवसायी लिग खेल्छन् । उनी स्पेनिस क्लब सेभिया छाडेर अल साबबमा आबद्ध भएका हुन् । ३४ वर्षीय बानेगाले क्लबबाट प्रत्येक साता दुई लाख अमेरिकी डलर प्राप्त गर्छन् । उनको वार्षिक पारिश्रमिक एक करोड ६ लाख अमेरिकी डलर रहेको छ । उनी साउदी लिगमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको सूचिमा दोस्रो नम्बरमा पर्छन् ।

म्याथ्युज पेरेइरा

hilal

ब्राजिलियन मिडफिल्डर हुन्, म्याथ्युज पेरेइरा । २७ वर्षीय म्याथ्युज सन् २०२१ मा साउदी लिगमा आबद्ध भएका थिए । सुरुमा अल हिलालमा आबद्ध भएका उनी हाल लोनमा अल वाहदाबाट व्यवसायी फुटबल खेल्छन् । उनले क्लबबाट प्रत्येक साता एक लाख ३१ हजार अमेरिकी डलर पाउँछन् । उनको वार्षिक पारिश्रमिक ६७ लाख अमेरिकी डलरको हाराहारी रहेको छ ।

टालिस्का

taliska

ब्राजिलियन आक्रामक मिडफिल्डर हुन्, टालिस्का । उनी चिनिया लिग खेलेर सन् २०२१ मा साउदी लिगमा आबद्ध भएका हुन् । उनी अल नासरबाट साउदी लिग खेल्छन् । २९ वर्षीय टालिस्काले क्लबबाट प्रत्येक साता एक लाख २६ हजार अमेरिकी डलर पाउँछन् । उनको वार्षिक पारिश्रमिक ६५ लाख अमेरिकी डलर हो ।

अहमद हेगाजी

Ahmed Hegazi

इजिप्टका खेलाडी अहमद हेगाजी सन् २०२० मा साउदी लिगमा आबद्ध भएका हुन् । ३२ वर्षीय हेगाजी अल इत्तिहादबाट व्यवसायी फुटबल खेल्छन् । उनले क्लबबाट प्रत्येक साता एक लाख २२ हजार अमेरिकी डलर पाउँछन् । उनको वार्षिक पारिश्रमिक ६३ लाख अमेरिकी डलर हो । उनी अझै लामो समय सोही क्लबमा रहने छन् । उनी इजिप्टको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् ।

मोउसा मारेगा

mausa

फ्रान्समा जन्मिएका मोउसा मारेगा सन् २०२१ मा साउदी व्यवसायी लिगमा आबद्ध भएका हुन् । ३२ वर्षीय स्ट्राइकर मारेगाले अल हिलालबाट व्यवसायी फुटबल खेल्छन् । उनी मालीको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । उनले क्लबबाट प्रत्येक साता ९९ हजार अमेरिकी डलर प्राप्त गर्छन् । उनको वार्षिक पारिश्रमिक ४८ लाख अमेरिकी डलर हो । 

-एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप