आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
म्याच प्रिभ्यू

च्याम्पियन्स लिग फाइनल : ट्रेबलको आशमा सिटी, इन्टर पनि छैन त्यति कमजोर

शनिबार, २७ जेठ २०८०, ११ : ३८
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । शनिबार राति इन्टर मिलानविरुद्ध फाइनल खेलमा उत्रिँदा म्यानचेस्टर सिटी इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्दै यो सिजन ट्रेबल पूरा गर्ने सोचमा हुनेछ । फाइनल खेल इस्तानबुलको एटाटुर्क ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार आइतबार बिहान १२ः४५ सुरु हुनेछ ।

पेप ग्वार्डिओलाको टोलीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि उचालिसकेको छ । पछिल्ला तीन वर्षमा सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो दोस्रो पटक हो । यसअघि, सन् २०२०–२१ सिजनको फाइनलमा चेल्सीसँग पराजित भएको थियो । ‘हामीले पहिलोपटक यो उपाधि जित्न बाटो पहिल्याउनै पर्छ,’ सिटीका प्लेमेकर केभिन डी ब्रुयना भन्छन्, ‘यदि हामीले यो गर्न सक्यौँ भने खेलाडी, क्लब र फ्यानहरुका लागि ठुलो उपलब्धि हुनेछ ।’

ट्रेबल जित्ने म्यानचेस्टर युनाइटेड मात्र एक्लो इंग्लिस क्लब हो । युनाइटेडले १९९८–९९ सिजनमा प्रिमियर लिगसँगै एफए कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

_130043842_whatsubject

शनिबारको फाइनल खेलमा सिटी उत्कृष्ट लयमा मैदानमा उत्रिनेछ । टोली सबै प्रतियोगिताका पछिल्ला २६ खेलमा अपराजित रहेको छ भने युरोपमा यो सिजन १२ मध्ये सात खेल जित्दै अपराजित रहेको छ ।

ग्वार्डिओला पनि सन् २०११ मा बार्सिलोनासँग उपाधि जितेपछि पहिलोपटक युरोपियन उपाधि जित्ने आशमा छन् । बार्सिलोनसँग त्योभन्दा दुई वर्षअघि उनले ट्रेबल जितेका थिए ।

कागजमा, उनको अहिलेको सिटीको टोली सन् २००८–०९ सिजनको बार्सिलोनाभन्दा सशक्त देखिएको छ । बार्सिलोना फाइनलसम्म पुग्दा एक खेलमा हार बेहोर्दै ३२ गोल गर्दै १३ गोल खाएको थियो । यता सिटीले एक खेल बाँकी छँदा ३१ गोल गरेर मात्र ५ गोल खाएको छ ।

835323b0-d54f-11ed-98ea-a3f6c988a701

ग्वार्डिओला भन्छन्, ‘मसँग पहिले लियोनेल मेस्सी थिए, अहिले मेरो साथमा अर्लिङ हालान्ड छन् । मेरो सफलता यही नै हो । मैले ठट्टा गरेको छैन । यही नै सत्य हो ।’

जोसे मोरिन्होको नेतृत्वमा रहेको इन्टरले सन् २०१० को सेमिफाइनलमा ग्वार्डिओलाको बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेको थियो । टोलीले सो सिजन आफैँ ट्रेबल जितेको थियो । तर इटालियन टोलीले प्रतियोगितामा पहिलो पटक सिटीको सामना गर्दैछ ।

‘च्याम्पियन्स लिग अद्भूत प्रतियोगिता हो,’ ग्वार्डिओला थप्छन्, ‘यो एउटा सपना हो, पक्कै पनि । यसलाई जित्नका लागि तपाईंसँग सही लगाव र इच्छाशक्ति आवश्यक छ ।’

_130042996_intermilan

चौथो युरोपियन उपाधि जित्ने दाउमा इन्टर

तीन पटकको युरोपियन च्याम्पियन यो सिजन इटालियन सिरी ए मा तेस्रो स्थानमा सीमित भएको थियो । उसले यो सिजन लगातार दोस्रो सिजन कोप्पा इटालियाको उपाधि भने जितेको छ ।

इन्टरविरुद्धको खेलमा सिटीले जित्ने धेरैले अनुमान गरे पनि इन्टर त्यति कमजोर भने छैन । प्रतियोगिताका १२ खेलमा इन्टरले सबैभन्दा बढी ८ वटा क्लिन सिट राखेको छ । गोलकिपर आन्द्रे ओनाना उत्कृष्ट लयमा देखिएका छन् ।

सिमोनी इन्झागीको टोलीको आक्रमण पनि सशक्त देखिन्छ । लाउटारो मार्टिनेजले यो सिजन ५८ खेलमा २८ गोल गर्नुका साथै ११ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् । इटालियन टोलीसँग एडिन जेको र रोमेलु लुकाकुजस्ता अनुभवी खेलाडी पनि छन् ।

20230517_Simone_Inzaghi

‘मेरो लागि यो सबैभन्दा महत्त्वपूर्ण खेल हो । मेरा खेलाडीका लागि पनि यो त्यतिकै महत्त्वपूर्ण छ,’ इन्झागी भन्छन्, ‘हामीले वर्षभरि गरेको मिहिनेतको प्रतिफल हो यो ।’

अर्जेन्टिनी फरवार्ड मार्टिनेज भन्छन्, ‘मलाई आशा छ, हामी उत्कृष्ट प्रदर्शन गर्नेछौँ र नतिजा हाम्रो पक्षमा पार्दै ट्रफीलाई मिलान ल्याउनेछौँ । हाम्रो लागि यो ठुलो सपना हो । यो कठिन छ तर हामीमात्र एक कदम टाढा छौँ ।’

सबैको नजर हालान्डमाथि

म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले प्रिमियर लिगमा पहिलो सिजन उत्कृष्ट लयमा बिताइरहेका छन् । उनी यो सिजनमात्र बोरुसिया डर्टमण्डबाट सिटी आइपुगेका हुन् ।

उनले एकै सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान भंग गरिसकेका छन् । लिगमा उनले ३६ गोल गरेका छन् सबै प्रतियोगितामा प्रत्यो ७८ मिनेटमा एक गोलको औसतले ५२ गोल गरेका छन् ।

i

नर्वेजियन खेलाडी फुटबल राइटर्स एसोसिएसन (एफडब्लूए) द्वारा वर्षको उत्कृष्ट पुरुष खेलाडी खेलाडी घोषित गरेका छन् । उनी प्रिमियर लिगको उत्कृष्ट खेलाडीको साथै उत्कृष्ट युवा खेलाडीको उपाधि एकै पटक जित्ने पहिलो खेलाडी पनि हुन् ।

हालान्ड पनि आफ्नो ट्रफी क्याबिनेटमा च्याम्पियन्स लिगको उपाधि थप्न आतुर छन् । प्रतियोगितामा उनको गोलको औसत प्रत्येक ६३ मिनेटमा एक गोल छ ।

उनले सेमिफाइनलमा गोल गर्न असफल भए पनि प्रतियोगितामा उनले गरेको १२ गोल कुनै पनि खेलाडीले इंग्लिस क्लबका लागि गरेको सर्वाधिक गोल हो । यसअघि सन् २००२–०३ सिनजमा रुड भान निस्टलरोयले सन् २००२–०३ सिजनमा यो उपलब्धि हासिल गरेका थिए । उनी सन् १९९९ मा ओली गनर सोल्क्सायरपछि च्यापियन्स लिगको फाइनल गोल गर्ने पहिलो नर्वेजियन खेलाडी पनि बन्ने ताकमा रहेका छन् ।

सिटी र इन्टरको फाइनल यात्रा

म्यानचेस्टर सिटी समूह जीको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो । दोस्रो स्थानमा रहेको डर्टमण्डभन्दा सिटी ५ अंकले अघि रहन सफल भएको थियो ।

अन्तिम १६ मा सिटीले आरबी लेइपजिगलाई समग्रमा ८–१ ले हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो । इतिहादमा ७–१ को जित हासिल गर्दा हालान्डले एक्लै पाँच गोल गरेका थिए ।

क्वार्टरफाइनलमा सिटीले बायर्न म्युनिखलाई पहिलो लेगमा ३–० ले हराउँदै दोस्रो लेग भने १–१ को बराबरी टुंगियो । सेमिफाइनलमा १४ पटकको युरोपियन विजेता रियल मड्रिडलाई समग्रमा ५–१ ले पाखा लगायो ।

उता, इन्टर भने समूह सीमा बायर्नभन्दा पछि रहँदै नकआउट चरणमा प्रवेश गरेको थियो । नकआउट चरणमा पोर्टो र त्यसपछि बेनफिकालाई हराउँदै सेमिफाइनलमा एसी मिलानको सामना गरेको थियो । सेमिफाइनलमा इन्टर समग्रमा ३–० ले विजयी बन्दै फाइनलसम्म पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप