बाँकेमा खडेरीले धानको बीउ राख्न समस्या
बाँके । बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् ।
आकाशे पानीको भरपर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नै समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताए । सिँचाइको व्यवस्था नभएकाले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो ।
“धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उनको गुनासो छ ।
बाँकेमा सिँचाइ सुविधा नपुगेका क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीका राखिएको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ । नेपालगन्ज, खजुरा, जानकी, वैजनाथलगायत क्षेत्रमा किसानले मोटरबाट तानेर वा खोनपानी नै प्रयोग गरेर बीउ राखेका छन् । जसोतसो बीउ राखे पनि वर्षात् नभएका कारण बीउ जोगाउन मुस्किल परेको जानकी गाउँपालिका–५ बेलहरीका किसान रामसुरत यादवको भनाइ थियो ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।
धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमितरुपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी विशाल यादवले जानकारी दिए ।
कृषि ज्ञानकेन्द्रका प्रमुख शकील अहमदले यो वर्ष वर्षा नभएका कारण जिल्लामा धानको बीउ राख्नै किसानलाई कठिनाइ भएको बताए । जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण