मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

निजगढ नगरपालिकाद्वारा बस्ती जोगाउने नाममा बकैया खोला च्यानलाइज

बुधबार, ३१ जेठ २०८०, १८ : ४०
बुधबार, ३१ जेठ २०८०

बारा । निजगढ नगरपालिकाले बस्ती जोगाउन बकैया खोलालाई च्यानलाइज गरेको छ । विपत् व्यवस्थापन समितिबाट निर्णय गराएर नगरपालिकाले बकैया खोला आसपासका बस्ती जोगाउन खोला च्यानालाइज गरेको हो ।

चुरे क्षेत्रसँग जोडिएको बागदेव, मोहरी भएर बग्ने बकैया खोलाको माथिल्लो तटीय क्षेत्रको भूभाग साँगुरो हुँदा हरेक वर्ष बाढीले सो क्षेत्रमा कटान गर्दै आएको छ । 

माथिल्लो क्षेत्रमा हुने कटानका कारण तल्लो क्षेत्रका वन जंगल र बस्तीमा बाढी पस्ने समस्या समाधानका लागि नगरपालिकाले विपत् व्यवस्थापन समितिको सहयोगमा खोला च्यानलाइज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । 

उनले वर्षा याममा खोलाले धार परिवर्तन गरी बस्तीतर्फ बाढी पस्ने जोखिम  देखिएकाले  प्राविधिक अध्ययन प्रतिवेदनका आधारमा २ स्थानबाट च्यानलाइज गर्न अनुमति दिइएको बताए ।

यता निजगढ नगरपालिकाले खोला च्यानालाइज गर्दा तटबन्ध गरेर बाँकी रहेको नदीजन्य पदार्थ काठमाडौँ/तराई मधेस द्रुतमार्ग आयोजनालाई बिक्री गरेको छ । नगरपालिकाले प्रतिघनफिट भ्याटबाहेक ४ रुपैयाँ ५० पैसामा  आयोजनालाई बिक्री गरेको हो । 

वर्षेनी १४ देखि १६ करोडमा खोलाजन्य पदार्थको बन्दोबस्ती ठेक्का लगाउँदै आएको निजगढले यस वर्ष खोलाको ठेक्का लाग्न नसकेपछि  जेठ दोस्रो सातादेखि च्यानलाइज सुरु गरेको हो ।

विपत् व्यवस्थापन समितिको निर्णयमार्फत् जोखिममा परेका वस्तीहरु जोगाउन खोला च्यानालाइज गरेको नगरपालिकाले जनाएको छ । 

निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीका अनुसार नदीजन्य पदार्थ उत्खनन नगर्दा बस्ती र वन दुवैतिर क्षति हुने अवस्था देखिएको ठाउँहरुमा जिल्ला अनुगमन समिति र विपत् व्यवस्थापन समितिको अनुगमनपछि स्थानीय विपत् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरेर च्यानलाइज सुरु गरिएको हो । 

वैधानिक रुपमा खोलाको ठेक्का लाग्न नसकेपछि समस्या भएका केही ठाउँहरुबाट नदीजन्य पदार्थ निकालिएको नगरप्रमुख पुरीले स्वीकारे ।

नगरपालिकाले वैशाख १९ गते ४ ठाउँबाट नदीजन्य पदार्थ निकाल्ने निर्णय गरे पनि जिल्ला विपत् व्यवस्थापन समितिले वैशाख २८ गते बैठक बसेर तत्कालका लागि २ ठाउँमा मात्रै अनुमति दिएको थियो ।

यसै क्रममा निजगढको कछडिया वस्तीको उत्तर पश्चिम र निजगढ १० को लाल जाने झोलुङे पुलको दक्षिण तर्फको भागबाट नदीजन्य पदार्थ निकाल्ने निर्णय थियो ।

समितिको निर्णयपछि च्यानलाइज गरेर बाँकी रहेको नदीजन्य पदार्थ राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्गलाई बिक्री गर्ने निर्णय गरेको नगरप्रमुख पुरीले भने ।

बकैया खोला च्यानलाइजको काममा द्रुतमार्ग आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेना र चिनियाँ ठेक्का कम्पनीको ४ वटा एक्साभेटर र १० वटा टिपर बिहानदेखि साँझसम्म प्रयोग गरिएको छ ।

नगरप्रमुख पुरीले भने, ‘हामीले नदीजन्य पदार्थ निकालेर बेच्ने उद्देश्य भन्दा पनि विपत्बाट जोगिने उद्देश्यले च्यानालाइज  गरेका हौं । खोलाको धार परिवर्तन गर्ने मात्रै हाम्रो उद्देश्य होइन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप