आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायलय

हालसम्मकै छोटो अवधिका लागि प्रधानन्यायाधीश बन्दै कार्की, इजलासमा १७ दिन मात्रै

हालसम्मका कुन–कुन प्रधानन्यायाधीशले कति दिन जिम्मेवारी सम्हाले ?
बिहीबार, ३२ जेठ २०८०, ११ : ३४
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । अन्य कुरा यथावत रहेमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की २०८० असार १ गतेबाट नेपालको ३० औँ प्रधानन्यायाधीश बन्दैछन् । प्रधानन्यायाधीशका रूपमा सिफारिस भएका कार्कीको बिहीबार संसदीय सुनुवाइ भएपछि शुक्रबार सिफारिस अनुमोदन गर्ने तयारी गरिएको छ । त्यसो भएमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको ४० औँ दिनमा कार्की प्रधानन्यायाधीश बन्ने छन् । 

कार्कीले प्रधानन्यायाधीशका रूपमा गर्न पाउने सेवा अवधि भने अहिलेसम्मकै छोटो हुनेछ । कार्कीले प्रधानन्यायाधीशका रूपमा जम्मा ५० दिन सेवा गर्न पाउने देखिएको छ । शैक्षिक प्रमाणपत्रमा कार्कीको जन्म मिति २०१५ साउन २० गते उल्लेख रहेको कारण उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन् । असारको १ गते प्रधानन्यायाधीशका रूपमा सिफारिस भई शपथ लिएमा उनले ५० दिन प्रधानन्यायाधीशका रूपमा काम गर्न पाउनेछन् । 

प्रधानन्यायाधीशका रूपमा ५० दिन पदमा रहने भए पनि कार्कीले प्रधानन्यायाधीशका रूपमा इजलासमा भने मात्रै २० दिन बिताउन पाउनेछन् । २० दिनमा पनि ३ दिन शनिबारको बिदा परेको कारण इजलासमा बस्न भने उनीसँग मात्रै १७ दिनको समय रहनेछ । अवकाशमा जाने समयभन्दा कम्तीमा एक महिना पहिलेदेखि न्यायाधीश वा प्रधानन्यायाधीशले मुद्दा नहेर्ने चलन रहेको कारण कार्कीले पनि असारको २० गतेपछि इजलासमा बसेर मुद्दाको पुर्पक्ष गर्ने छैनन् ।

प्रधानन्यायाधीशका रूपमा कार्की मात्रै ५० दिन पदमा रहने भए पनि कार्कीले गत वर्षको असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि उनको स्थानमा तत्कालीन वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए । तर कार्की पनि ६५ वर्षे उमेर हदका कारण गत वर्षको असोज १५ गतेबाट अनिवार्य अवकाशमा गएपछि न्यायपालिकाको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हाल्दै आएका थिए । कार्कीले साढे ६ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि पूर्ण प्रधानन्यायाधीश बन्न लागेका हुन् । 

संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिस अनुमोदन गरेमा कार्की हालसम्म बनेका प्रधानन्यायाधीशमध्ये सबैभन्दा छोटो अवधिका लागि प्रधानन्यायाधीश बन्दै छन् । 

हालसम्म प्रधानन्यायाधीश बनेका व्यक्तिहरूमा सबैभन्दा बढी समय नयनबहादुर खत्री प्रधानन्यायाधीश बनेका थिए । खत्री ९ वर्ष ४ महिना १ दिन प्रधानन्यायाधीश बनेका थिए । २०३३ साल साउन २४ गतेदेखि प्रधानन्यायाधीश बनेका खत्री २०४२ मङ्सिर २५ गतेसम्म प्रधानन्यायाधीश बनेका हुन् । उनी मुलुकको छैटौँ प्रधानन्यायाधीशका रूपमा आएका थिए । 

खत्रीपछि बढी समय प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेमा भगवतीप्रसाद सिंह छन् । उनले लगातार ६ वर्ष २ महिना २७ दिन प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । खत्री चौथो प्रधानन्यायाधीशका रूपमा २०२० साल चैत २७ गतेदेखि २०२७ असार २६ गतेसम्म प्रधानन्यायाधीश बनेका थिए । 

तर दुई पटक प्रधानन्यायाधीश बनेका हरिप्रसाद प्रधानको सेवा अवधि जोड्ने हो भनेचाहिँ भगवतीप्रसाद सिंहको भन्दा पनि बढी हुन्छ । प्रधान २००८ साल साउन ७ गतेदेखि २०१३ जेठ ७ गतेसम्म ४ वर्ष १० महिना र २०१८ मङ्सिर २९ गतेदेखि २०२० मङ्सिर २० गतेसम्म २ वर्ष गरी कुल ६ वर्ष १० महिना प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । दिनमा गणना गर्ने हो भने प्रधानले २ हजार ४ सय ९८ दिन प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । 

हालसम्म बनेका प्रधानन्यायाधीशमध्ये सबैभन्दा छोटो समय भने अनुपराज शर्मा प्रधानन्यायाधीश बनेका छन् । शर्मा २०६६ मङ्सिर २८ गतेदेखि २०६६ चैत १३ गतेसम्म ३ महिना १५ दिन प्रधानन्यायाधीश बनेका थिए । दिनमा गणना गर्दा शर्माले १०७ दिन प्रधानन्यायाधीशको रूपमा सेवा गरेका थिए । 

त्यसैगरी अर्का न्यायाधीश ओम प्रकाश मिश्रले पनि ३ महिना २३ दिन मात्रै प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । शर्माले २०७५ भदौ २५ गतेदेखि २०७५ पुष १७ गतेसम्म मात्रै ११५ दिनका लागि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । 

हेर्नुहोस्, हालसम्मका कुन कुन प्रधानन्यायाधीशले कति दिन जिम्मेवारी सम्हाले ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप