शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको विकास समृद्धिमा सघाउने चीनको प्रतिबद्धता

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीनबाट सिधा उडानमार्फत पोखरा जाने
बिहीबार, ३२ जेठ २०८०, १६ : ३७
बिहीबार, ३२ जेठ २०८०

चीन । चिनियाँ राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनियाँ उच्चस्तरीय नेताहरुसँग दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल गरी कार्यान्वयन तहसम्म पुर्‍याउने काममा जुटेका छन् ।

सन् २०१९ को अप्रिल २४ देखि मे २ तारिखसम्म नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणपछि नेपालबाट उच्च सरकारीस्तरीय भ्रमण भएको थिएन । त्यही वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबर महिनाको १२ र १३ तारिखमा नेपाल भ्रमण गरेका थिए । त्यसपछि कोभिड महामारीका कारण नेपाल र चीन दुवै देशबाट उच्चस्तरीय भ्रमण हुन सकेको थिएन ।

तीन वर्षपछि महामारीले सामान्य लयमा फर्किएपछि नेपालबाट तिमिल्सिनाको नेतृत्वमा आएको भ्रमण नै उच्चस्तरीय भएको हो ।

यसअघि, गत वर्ष अगष्ट महिनाको १० देखि १२ तारिख चीनको सान्तोङ्ग प्रान्तको छिङताओ सहरमा नेपालका तत्कालीन पराराष्ट्रमन्त्री नारायण खड्का र तत्कालीन चिनियाँ विदेशमन्त्री वाङ यीबीच दुई देशबीचको कूटनीतिक विषयमा छलफल भएको थियो । गत मार्च महिनामा नेपाल र चीनका परराष्ट्र सचिवस्तरीय छलफल भएको थियो ।

अध्यक्ष तिमिल्सिना नै त्यस यता नेपालका वरिष्ठ अधिकारीका हैसियतमा दुई देशीय सम्बन्धबारे चिनियाँ उच्चस्तरीय नेताहरुसँग कार्यान्वयन तहमा वार्ता गर्दैछन् ।

तिब्बतमा आयोजना हुने दुई दिने पाँचौं ‘चाइना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पो’मा जुन १६ र १७ मा सहभागी हुन नौ सदस्य प्रतिनिधि लिएर चीन आएका तिमिल्सिना तिब्बतको कार्यक्रमभन्दा अगाडि काठमाडौँबाट जेठ २८ गते राति सिधै क्वान्चाऔं हुँदै २९ जेठमा बेइजिङ्ग पुगेका थिए ।

चीनको राजधानी ओर्लिए लगत्तै चिनियाँहरुको आतिथ्य ग्रहणमा व्यस्त उनले बेइजिङमा रहँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रिय जन कंग्रेसका स्थायी समितिका अध्यक्ष चाओ लिजीसँग भेटवार्ता गरेका थिए । चीनमा राष्ट्रपति सी, प्रधानमन्त्री लि छ्याङ पछि वरिष्ठतामा तेसो तहका नेता हुन् चाओ ।

भेटका क्रममा चाओले नेपाल–चीन सम्बन्धमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको बारेमा स्मरण गराउँदै नेपालको लागि चीनले के कस्ता सहयोग गर्न सक्छ भन्ने बारेमा चर्चा गरेका थिए । 

अध्यक्ष चाओ र तिमिल्सिनाबीचको भेटमा राजनीतिक विषयभन्दा बढी दुई देशको सम्बन्ध, विकास र व्यापारका बारेमा कुराकानी भएको बताइन्छ । चीन–नेपाल असल छिमेकी र विकासका साझेदार भएको भन्दै दुई देशबीचको साझा संस्कृति आदान प्रदानमा कुराकानी केन्द्रित भएको सहभागीहरुको भनाइ छ ।

नेपालको भौतिक पूर्वाधार, चिनियाँ लगानी र चीनबाट हुनसक्ने प्राविधिक र आर्थिक सहयोग, महामारीपछि चिनियाँ नागरिकलाई नेपाल भ्रमण गराउने विषयले नै प्राथमिकता पाएको अध्यक्ष तिमिल्सिनाले रातोपाटीसँगको कुराकानीमा बताए ।

‘चिनियाँ नेताहरु राजनीतिक भन्दा बढी विकासका कुरामा चासो राख्दछन्,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘चीनमा सबैको चासो पूर्वाधार विकास र समृद्धिमा छ । चिनियाँ, पारवहन, रेल र नेपाल–चीन सीमा, व्यापार, लगानी आदिका विषयमा परामर्श गरेका छन् ।’ चिनियाँ रेल नेपालसँग जोड्ने सपना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा विस्तृत छलफल गरिएको उनको भनाइ छ । 

बेइजिङमा रहँदा अध्यक्ष तिमिल्सिनाले चिनियाँ नेतृत्वमा वरिष्ठतामा चौथो तहका नेता जन राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग पनि भेट गरेका थिए । उनीसँगको भेटमा पनि जनकंग्रेसका अध्यक्ष चाओसँगको भेटमा भएका कुराकारीकै समीक्षाजस्तै भएको थियो ।

तिमिल्सिनाले नेपाल–चीन सीमा नाका खुलाउनु पर्ने, हवाई मार्गहरु चीनका धेरै सहरबाट सञ्चालन गर्नुपर्ने, व्यापार, पर्यटन र पूर्वाधार विकासका काम कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।

चिनियाँ नेताहरुले चीनको विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजना आगामी दिनमा के कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा भेटवार्ता केन्द्रित भएको जनाइएको छ । सन् २०१७ मा नेपालले बीरआई परियोजनामा हस्ताक्षर गरिसकेको छ । योजना छनोट काम भइसके पनि हाल परियोजना सञ्चालन हुन सकेको छैन ।

बेइजिङबाट चीनको औद्योगिक सहर संघाई पुगेका अध्यक्ष तिमिल्सिनाको टोलीलाई संघाईमा पनि राष्ट्रिय जनकंग्रेस स्थायी समिति संघाईका अध्यक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टीका संघाई सचिव डोङ युनहुलगायतका प्रान्तीय उच्चस्तरीय नेताहरुसँग भेट गरे । अध्यक्ष तिमिल्सिनाले पहिले माग राखे– अब संघाईदेखि नेपालको काठमाडौं र पोखराको हवाई उडान सुरु गर्न पहल गरिदिनुहोस् ।

संघाई सहर र पोखरा सहरबीच भगिनी सम्बन्ध विस्तार र व्यापार व्यवसायमा के गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित रहेको बताइएको छ ।

चिनियाँको प्रमुख चासो के ?     

चिनियाँहरुको मुख्य चासो भनेको तीन वटा विषयमा बढी केन्द्रित छ । पहिलो, नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहोस् र नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने छ । दोस्रो, नेपालमा चिनियाँ लगानीको लागि राम्रो वातावरण होस, बीआरआई परियोजनाका काम सुरु होस् । तेस्रो, पश्चिमा र दक्षिण एसियाली राजनीतिको प्रभावको छायाँ नेपालमा पनि देखिएको भन्दै नेपालको भू–राजनीतिक विषयमा पनि चिनियाँहरुले अलि बढी चासो राख्न थालेका छन् ।

त्यस्तै, चिनियाँ उद्योगी–व्यापारीहरुको समूहले पछिल्लो समयमा नेपालमा चिनियाँ लगानी मैत्री वातावरण बिग्रिँदै गएको र लगानी गर्दा राजनीतिक संरक्षण चाहिने विषयलाई चिनियाँ उच्च तहका नेताहरुको सचिवालयसम्म पुर्‍याउने काम गरेका छन् । साथै, नेपाल–चीन सीमा विवाद नहोस् भनेर चीनका अधिकारीहरुले नेपालको परराष्ट्र मन्त्रालय र चीनसँग सीमा जोडिएका नेपालका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग पटक–पटक छलफल केन्द्रित गरिरहेका छन् । 

विदेशबाट सिधै पोखरा पुग्ने पहिलो यात्री हुनेछन् तिमिल्सिना

संयोग यस्तो जुरेको छ कि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट यात्रा गरेर पोखरा पुग्ने पहिलो यात्री राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना हुने भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए पनि अहिलेसम्म अन्तर्राष्ट्रिय उडान भएको छैन । तिमिल्सिनाले चिनियाँ उच्चस्तरीय नेताहरुसँगको भेटमा हालै निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा हवाई यात्रा जोड्नुपर्ने प्रमुख माग राखेका थिए । 

चिनियाँ नेतृत्वले अध्यक्ष तिमिल्सिनाको माग सम्बोधन गर्न जुन २१ गते सुछवान प्रान्तको राजधानी छेन्दुदेखि पोखरासम्म पहिलोपटक हवाई यात्रा सुरु गर्ने तयारी गरिरहेको छ । यस क्रममा अध्यक्ष तिमिल्सिनालाई लिएर छेन्दुबाट काठमाडौं नगई सिधै पोखरा जाने व्यवस्था मिलाइएको छ ।  

‘हामी २१ जुनमा छेन्दुबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा जानेछौं, अहिलेसम्मको कुराकानी यस्तै भएको छ,’ बिहीबार संघाईबाट तिब्बत जान लागेका अध्यक्ष तिमिल्सिनाले रातोपाटीसँग भने, ‘तिब्बत र मानसरोबरको यात्रा सकेपछि छेन्दुबाट हामी पोखरा उड्ने छौँ ।’ 

२१ तारिखका छेन्दुबाट पोखरासम्मको उडान व्यवस्थापनका लागि हिजोमात्र छेन्दुबाट सात जना हवाई प्राधिकरणका प्राविधिकहरु पोखरा पुगिसकेका छन् । २१ तारिखमा हुने यात्रा चार्टर्ड विमानबाट हुनेछ । त्यसपछि छेन्दुबाट सातामा एक वा दुई गर्दै दैनिक उडानका लागि पहल गरिने भएको छ । 

नेपालबाट अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा आएको टोलीमा प्रतिनिधिसभाका सदस्यहरु जीवन परियार, धवल शमशेर राणा, प्रदिप यादव तथा राष्ट्रियसभा सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी छन् । अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि भ्रमणमा सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप