आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आदिपुरुष : विवादित लेखकको विवादित चलचित्र

आइतबार, ०३ असार २०८०, १२ : १७
आइतबार, ०३ असार २०८०

मुम्बई । चलचित्र ‘आदिपुरुष’ शुक्रबार रिलिज भएसँगै निर्माताहरुले पहिलो दिन कीर्तिमानी कमाई गरेको दाबी गरेका छन् । तर, रिलिज भएदेखि नै यो चलचित्र सामाजिक सञ्जालमा सर्वसाधारणको निशानामा परेको छ ।

कयौँले चलचित्रको संवादलाई लिएर आपत्ति र आक्रोश व्यक्त गरिरहेका छन् । यसमा छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल र आम आदमी पार्टीका सञ्जय सिंह समेत कयौँ राजनेता सामेल छन् । 

मानिसले सबैभन्दा बढी आपत्ति लङ्का दहनअघि हनुमानको चरित्रको संवादप्रति जनाएका छन् । जसमा उनी भन्छन्, ‘कपडा तेरे बापका, तेल तेरे बापका, आग भी तेरे बाप की ओर जलेगी भी तेरे बाप की ।’ (कपडा पनि तेरो बाउकाे, तेल पनि तेराे बाउकाे, आगो पनि तेरो बाउको र जल्नेछ तेरो बाउ कै)

फिल्मका अन्य केही संवाद पनि चर्चामा छन् । एक दृश्यमा रावणका राक्षस हनुमानसँग भन्छन्, ‘तेरी बुआका बगीचा है कि हवा खाने चला आया...’

उता जब रावणलाई अङ्गदले ललर्कादै भन्छन्, ‘रघुपति राघव राम बोल ओर अपनी आज जान बचा ले वरना आज खडा है, कल लेटा हुआ मिलेगा...’

चलचित्रमा प्रयोग गरिएका यस्तो भाषालाई ‘अभद्र’ र ‘अपमानजनक’ बताउँदै दर्शकले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । एक प्रयोगकर्ताले चलचित्रलाई ‘आरआरआर’ सँग तुलना गर्दै लेखेका छन्, ‘आरआरआरको मात्र केही मिनेटको सिन पुरै आदिपुरुष चलचित्रभन्दा राम्रो छ ।’

एक प्रयोगकर्ताले भनेका छन्, ‘मैले आदिपुरुषको टिकट नै क्यान्सल गरेँ किनभने म मेरो छोरीलाई गलत रामायण पढाउन चाहँदिनँ ।’

रक्षिता नागर लेख्छिन्, ‘बलिउड, अब त अति भयो ।’

14bd8280-0cfc-11ee-9e94-25f17ea6acca

के भन्छन् मनोज मुन्तशिर ?

मानिसहरूले लेखक मनोज मुन्तशिरले लेखेको संवादप्रति प्रश्न उठाइरहँदा उनी भने अलग–अलग मिडिया च्यानलमा पुगेर आफ्नो कुरा राखिरहेका छन् । ‘केही मानिसहरू छन्, जो पहिलो दिनदेखि नै चलचित्रमाथि निशाना बनाइरहेका छन् । हामीले कहिले पनि फिल्ममा शुद्धताको आधारमा बिक्री गरेनौँ । हामीले आजसम्म प्रमाणित रूपमा वाल्मीकिले लेखेको त्यही भाषाको प्रयोग गरेर चलचित्र बनाइरहेछौँ भनेर भनेका छैनौँ । यदि म शुद्धतामा जानुपर्छ भन्नुहुन्छ भने म आफ्नो गल्ती मान्छु किनभने त्यतिबेला मैले संस्कृतमा लेख्नुपर्थ्यो । त्यतिबेला म लेख्दै लेख्दिन थेँ किनभने मलाई संस्कृत लेख्नै आउँदैन ।’

चलचित्रले पहिलो दिन १४० करोड रुपैयाँ भारु कमाई गरेपछि मुन्तशिरले एक ट्वीटमा लेखेका छन्, ‘आभार मेरो देश ! जय श्री राम !’ समाचार एजेन्सी पीटीआईका अनुसार निर्माता कम्पनी टी–सिरिजले आदिपुरुष हिन्दी भाषामा बनेको कुनै पनि चलचित्रको तुलनामा पहिलो दिनमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनेको छ ।

पहिलो हैन विवाद

सन् २०२१ मा मुन्तशिरले आफ्नो सामाजिक सञ्जालमा ‘तपाईं कसको वंशज हो ?’ नामक एक भिडियो साझा गरेका थिए । त्यसमा उनले देश ‘ब्रेनवासको शिकार’ भएको बताउँदै सडकहरुको नाम अकबर, हुमायूँ र जहाँगीरको नाममा राखिएकोमा प्रश्न उठाएका थिए । उक्त भिडियोमाथि तिखो प्रतिक्रिया आएको थियो । ऋचा चड्ढाजस्ता कलाकारहरूले उनीमाथि ‘घृणाको बीउ रोपेको’ आरोप लगाएका थिए ।

उनीमाथि साहित्यिक चोरीको आरोप पनि लागेको थियो । अक्षय कुमारको चलचित्र केसरीको गीत ‘तेरी मिट्टी’ लोक गायिका गीता रबरीको गीतबाट चोरी गरेको आरोप थियो । सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भएको थियो ।

मनोजले एउटा किताब लेखे । त्यसमा पनि साहित्यिक चोरीको आरोप लाग्यो । साहित्यिक चोरीको आरोप खण्डन गर्दै मनोजले एक भिडियो जारी गर्दै उनको हरेक सिर्जना शत प्रतिशत ‘ओरिजिनल’ नहुने बताएका थिए । 

उनको तर्क थियो, आफू राष्ट्रवादी भएका कारण निरन्तर आक्रमण भइरहेको छ । ‘तेरी मिट्टी’ का लागि अवार्ड नपाउँदा उनले निराशा समेत जताएका थिए ।

को हुन् मनोज मुन्तशिर ?

मनोज मुन्तशिर शुक्लाको जन्म उत्तर प्रदेशको गौरीगञ्ज, अमेठीमा सन् १९७६ फेब्रुअरी २७ मा भएको थियो । उनको पिता एक किसान र आमा शिक्षिका थिइन् । उनकी पत्नी निलम मुन्तशिर पनि लेखिका हुन् । उनको एक छोरा छन् ।

उनको असली नाम मनोज शुक्ला हो, मुन्तशिर उनको लेखनको नाम हो । सानो उमेरमा नै कविताहरू लेख्न सुरु गरेका थिए । सन् १९९७ मा इलाहाबाद (अहिले प्रयागराज) मा अल इन्डिया रेडियोमा १३५ रुपैयाँ तलबमा काम गर्थे । सन् १९९९ मा इलाहाबाद विश्वविद्यालयमा स्नातक पुरा गरेर उनी मुम्बई आएका थिए । 

मुम्बई आएपछि अनुप जलोटाका लागि भजन लेखे जसका लागि उनले ३ हजार रुपैयाँ पाए । उनको काम देखेर सन् २००५ मा स्टार च्यानलले उनलाई कौन बनेका करोडपतिको गीत लेख्न भने । यसरी उनको टिभीमा प्रवेश भए ।

सन् २००५ मा उनले एक चलचित्रका लागि चार गीत लेखेका थिए । सन् २०१४ मा श्रेया घोषालको गजल एल्बम हमनशीनका लागि गीत लेखेपछि उनी चर्चामा आए ।

सन् २०१४ मा फिल्म एक भिलेनको गीत ‘गलियाँ’ ले उनलाई सफलता दिलायो । उनले सो गीतका लागि थुप्रै अवार्ड पनि जिते ।

त्यसपछि उनले बाहुबली (हिन्दी), पीके, बेबी, कपूर एन्ड सन्स, रुस्तम, एमएस धोनी – द अन्टोल्ड स्टोरी, काबिल, हाफ गर्लफ्रेन्ड, अय्यारी, कबीर सिंह, राम सेतु, मिसन मजनू र विक्रम वेदाजस्ता चलचित्रमा गीत लेख्ने अवसर पाए ।

लेखकको रूपमा उनले आफ्नो करियरको सुरुवात बाहुबली पार्ट १ को हिन्दी पटकथा र संवाद लिएर सुरु गरेका थिए । २०१९ मा उनको पुस्तक ‘मेरी फितरत है मस्ताना’ प्रकाशित भएको थियो । सन् २०२२ मा उनले साइना चलचित्रको गीतका लागि राष्ट्रिय पुरस्कार प्राप्त भएको थियो ।

सुप्रिया सोगले/बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप