शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अनशन

अनशन बसेका उपप्राध्यापकको दुखेसो– यो देश मेरो रहेनछ, त्रिवि मेरो रहेनछ, अदालत मेरो रहेनछ

सोमबार, ०४ असार २०८०, २१ : ३५
सोमबार, ०४ असार २०८०

काठमाडौँ । २० असोज २०७७ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेका लागि कालोदिन थियो । त्रिवि प्राङ्गणभित्रै उनीमाथि सांघातिक हमला भयो ।

अकस्मात् आएको एक समूहले उनीमाथि अन्धाधुन्ध प्रहार गर्न थाल्यो । उनीमाथि आक्रमण हुँदा हजारौं विद्यार्थी, सयौँ प्राध्यापक तथा शिक्षक कर्मचारी त्यहीँ वरिपरि थिए ।

मरणासन्न अवस्थामा पुगेका उनलाई तत्काल अस्पताल लगियो । नजिकै रहेको प्रहरी घटनास्थल पुगेर अनुसन्धान थाल्यो ।

नेविसंघ त्रिवि अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल सहितका सात जनाको समूहले उनीमाथि सांघातिक आक्रमण गरेको थियो ।

‘मेरो ज्यान लिने भनेर सुपारी लिएर आएका पेसेवरहरुले ममाथि अन्धाधुन्ध प्रहार गर्न थाले । मैले कसैलाई पनि चिनिनँ । त्यसरी ममाथि आक्रमण गर्नेहरु त्रिविमा पढ्नेहरु थिएनन्,’ चलाउनेले भने ।

त्यो बेलाको क्षण सम्झेर अहिले पनि उनी मानसिक र शारीरिक रुपमा विक्षिप्त हुन्छन् । तीन वर्षदेखि आफूमाथि सांघातिक हमला गर्नेलाई कारबाहीको माग गर्दै न्यायालयको ढोका ढकढक्याउँदै आएका उनी मुद्दा प्रक्रिया बिस्तारै अघि बढिरहेको समयमा सरकारबाटै मुद्दा फिर्ता लिइएपछि स्तब्ध भए ।

न्यायालयले दुई वर्षसम्म पेसी सार्दै आएको थियो । असार ५ गते मंगलबार अन्तिम पेसी तोकिने दिन थियो । तर, जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने निर्णय गरेको हो । जसले उनको पीडामाथि नुनचुक छर्किने काम गरेको छ ।

‘एकदिन अवश्य पनि न्याय पाइन्छ होला भन्ने लागेर न्यायालयको ढोका ढकढक्याउँदै आएको थिएँ । अहिले आएर अपराधीहरुलाई बचाउन सरकार नै लाग्यो र मुद्दा फिर्ता लिने अवस्थामा आयो,’ उनले भने ।

सरकारको उक्त कदमको विरोध गर्दै उनले आजदेखि अनशन थालेका छन् । त्रिवि उपकुलपति कार्यालयको ढोका अगाडि उनले आमरण अनशन थालेका हुन् ।

जिल्ला अदालत अगाडि अनशन बस्ने गरी दिउँसो गएका उनलाई प्रहरीले नियन्त्रणमा लियो । उनी साँझ रिहा भए । त्यसपछि उनी उपकुलपतिको कार्यालय अगाडि गएर अनशन बसे ।

अनशनमा बस्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो देश मेरो रहेनछ । त्रिवि मेरो रहेनछ । अदालत मेरो रहेनछ । अब मलाई मेरो ज्यानको परवाह छैन । मेरो प्राण रहँदासम्म मेरो लडाइँ रोकिँदैन ।’

IMG20230619172934

त्रिवि उपकुलपति कार्यालय अगाडि उपप्राध्यापक चलाउनेले आफ्नो पीडा व्यक्त गर्दै गर्दा त्रिविकै अधिकारीहरु टुलुटुलु हेरेर बसेका थिए । उनीहरुलाई आफ्नै सहकर्मीमाथि घटेको घटनाले पोलेको थिएन । किनकि उनीहरुमाथि यस्तो घटना घटेको थिएन ।

‘ममाथि यत्रो घटना हुँदा समेत मैले १५ वर्ष सेवा गरेको मेरै सहकर्मीहरु बिरानो भए । मेरै विद्यार्थीले मलाई चिनेनन् । के साँच्चै म अपराधी हो र ? मैले के अपराध गरेँ ?’ उनले भने ।

अदालत पनि राजनीतिको छायाँमा परेको उपप्राध्यापक चलाउने बताउँछन् । ‘सरकारले अदालतलाई अचानो बनायो । मुद्दा फिर्ता लिनुपर्ने नै कारण के थियो र ? अदालतबाट आउने आदेश म स्वीकार गर्न तयार थिएँ । २÷३ दिनपछि फैसला हुने नै थियो, त्यो अघि नै राज्यलाई किन यति हतार ?’ उनले प्रश्न गरे ।

त्यसरी सिङ्गो राज्य नै लागिपरेर अपराधीहरुलाई बचाउनुपर्ने कारण आफूले बुझ्न नसकेको चलाउनेले बताए । लोकतन्त्रमा चोर बाटोबाट मुद्दा फिर्ता लिएर पीडितलाई नै सजाय दिने काम भएको उनको भनाइ छ ।

तीन वर्षसम्म आफ्ना आँखा अदालततिरै रहेको तर, अन्तिममा आएर चोर बाटोबाट अपराधी बचाउने काम गरिएको उनले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप