आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

पोखरा र भैरहवा विमानस्थलमा चीनबाट सोझो उडानबारे कुरा गरेको छु : अध्यक्ष तिमिल्सिना

मङ्गलबार, ०५ असार २०८०, २० : ११
मङ्गलबार, ०५ असार २०८०

चीन । चिनियाँ राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीन भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको टोली ११ दिने चीन भ्रमणपछि बुधबार सिचुवान प्रान्तको राजधानी छेन्दुबाट पोखरातर्फ प्रस्थान गर्दैछ । चीनद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको विमान अवतरण हुँदैछ । चीनबाट आउने सो विमानमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहितको टोली पोखरा आउने भएको हो ।

चीनको राजधानी बेइजिङमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय जनकंग्रेसका अध्यक्ष, चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्षसँग भेट गरेका थिए । बेइजिङबाट सांघाई पुगेको नेपाली प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टीका सांघाई प्रमुखलाई भेट गर्दै चीनको स्वशासित क्षेत्र तिब्बत पुगेको थियो ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना तिब्बतमा आयोजित दुई दिने पर्यटन तथा सांस्कृतिक एक्सपोका प्रमुख अतिथि थिए । तिब्बतको कार्यक्रम सकेर हिन्दुहरुको तीर्थस्थल कैलाश मानसरोबर यात्रा गरी सिचवान प्रान्तको राजधानी छेन्दु फर्कन लाग्दा रातोपाटीका चीन संवाददाता भरत शर्माले तिमिल्सिनासँग संक्षिप्त कुराकानी गरेका थिए । प्रस्तुत छ, अध्यक्ष तिमिल्सिनासँग गरिएको संवादको सम्पादित अंश–

तपाईंसहित नेपाली प्रतिनिधिमण्डलको चीन यात्रामा के कस्ता उपलब्धि भए ?

हाम्रो चीन भ्रमण पूर्ण सफल भएको छ । यस पटक तिब्बतमा भएको पर्यटन तथा सांस्कृतिक एक्स्पोको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलाई आमन्त्रण गरिएको थियो । त्योसँगै चीनमा आइसकेपछि अरु पनि केही महत्त्वपूर्ण कार्यक्रम गर्नुपर्छ भनेर चिनियाँ पक्षबाट कुरा आएको थियो । त्यही क्रममा बेइजिङ र सांघाईको भ्रमण गर्ने र उच्चस्तरीय भेटघाट हुनसक्छ भने मिलाउनुहोस् भनेर चिनियाँ पक्षलाई भन्यौँ । त्यसै आधारमा हाम्रो भेटघाट भयो ।

एक्स्पो उद्घाटन गर्ने र त्यसमा सहभागिता जनाउने नै प्रमुख कार्यक्रम थियो । त्यो पनि सफल भयो । त्यस कार्यक्रमबाट नेपाल र चीनबीच पर्यटन क्षेत्रमा सहकार्य गर्नेबारे छलफल भयो । दोस्रो भनेको हामीले बेइजिङ पुगेर जनकंग्रेसका अध्यक्ष र चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्षसँग भेटवार्ता ग¥यौँ । यो अर्को महत्त्वपूर्ण पक्ष हो । त्यहाँबाट हामी सांघाई पुगेका थियौं । सांघाई नगरका पार्टी सचिवसँग छलफल भयो । त्यस हिसाबले चीनमा भएका भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप जीवन्त बनाउने काम भयो ।

खासमा जुन उद्देश्यले हामीलाई चिनियाँ पक्षले निमन्त्रणा गर्नुभयो । समग्रमा मेरो नेतृत्वमा भएको चीन भ्रमण उपलब्धिमूलक भएको ठानेको छु । त्यसो त हामी अहिले चीनमा कुनै सन्धि र सम्झौता गर्न आएका थिएनौं । यस पटकको भ्रमण केवल सद्भावना भ्रमण र तिब्बतमा हुने एक्स्पोमा सम्बोधन गर्ने कुरा थियो । त्यस अर्थमा हाम्रो भ्रमण कोभिड महामारीपछिको पहिलो उच्चस्तरीय र सार्थक भ्रमण भएको छ ।

बेइजिङमा रहँदा जनकंग्रेसका अध्यक्ष र चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्षसँगको भेटमा खास के कुरा भयो ?

बेइजिङमा रहँदा भेट भएको दुवै संस्थाका प्रमुख र संस्था जनप्रतिनिधिमूलक हो, नेपालको संसद भनेजस्तै । त्यस कारण चीन र नेपालको संघीय संसदहरुबीच संसदीय अम्यासका बीचमा सिक्ने, सम्बन्ध बलियो बनाउने कुरामा छलफल केन्द्रित भयो । संसदको कर्मचारीहरुको क्षमता अभिवृद्धि, उच्चशिक्षा जस्ता विषयमा चीनबाट सहयोग गर्ने कुरा भयो । यद्यपि निर्णय भने केही भएको छैन ।

आगामी दिनमा त्यसलाई अगाडि बढाउने कुरा भयो । कोभिड महामारीका कारण उच्चस्तरीय भ्रमण र दुई देशबीच भ्रमण आदानप्रदान कार्यक्रम रोकिएको थियो । अब भविष्यमा नेपाल र चीनबीच संघीय सांसद, कर्मचारी तहको भ्रमण आदानप्रदान हुने, दुई देशबीचको सम्बन्धलाई गहिरो बनाउने, संसदमा नयाँ प्रविधि सञ्चालन गर्ने भन्नेबारे छलफल भयो ।

भविष्यमा तालिम, पढाई र सिकाई आदानप्रदान गर्ने कुरा भयो । दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्नेछौं । कोभिड महामारीका कारण दुई देशका बीचमा बन्द भएको सीमा नाका खुलाउने कुरा भयो । नेपाल र तिब्बतसँग जोडिएका सबै नाका क्रमशः खुलाउँदै जाने कुरा भए । सीमा नाकामा हुने मेला पर्व सञ्चालन गर्ने, व्यापार प्रवर्द्धन गर्ने, दुवै देशका उच्च नेतृत्वबीच भएका सम्झौता कार्यान्ययन अगाडि बढाउने छौं ।

नेपालमा पनि चीनबाट दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । ती विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान सञ्चालन गर्नेबारे चिनियाँ पक्ष सहमत छन् । पोखरा र भैरहवा विमानस्थलमा सिधा उडान सञ्चालन गर्ने बारेमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएका छन् ।

मेरो भ्रमणले कामको वातावरण बनाउने कार्यको सुरुवात भएको छ । अब यी काममा दुवै पक्षले ढिला गर्नहुँदैन भन्ने कुरामा सहमत छौं । म पनि नेपालमा पुगेर पहल गर्छु ।       

बेइजिङबाट फर्कदा चीनको औद्योगिक शहर सांघाईमा चिनियाँ कम्युनिष्ट पार्टीका सांघाई सचिव, संघाई सहरका मेयरहरुसँग भएको वार्ताको निष्कर्ष के हो ?

बेइजिङमा दुई अध्यक्षसँग भएका कुराहरु नै त्यहाँ पनि भए । तर मैले सांघाईमा पनि व्यापार र नेपालका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सांघाईबाट सिधा उडान सञ्चालन गर्नुपर्ने माग राखे । मेरो मागलाई सांघाईका अधिकारीहरुले कार्यान्वयन तहमा अगाडि बढाउने आशा राखेको छु । यो औद्योगिक सहर हो । त्यहाँबाट नेपालमा व्यापार व्यवसायका कुरामा छलफल केन्द्रित भयो ।  

बेइजिङ, संघाई हुँदै तिब्बतमा आयोजना भएको संस्कृति एवं पर्यटन एक्स्पोमा तपाईंले ‘नेपालमा चीन विरोधी गतिविधि हुन दिने छैनौं’ भन्नुभएको थियो, नेपालमा चिनियाँहरुको खास चासो के रहेछ ?

मैले यहाँ जति पनि भ्रमण गरेँ, यस क्रममा जति पनि भेटवार्ता भए, नेताहरुसँग औपचारिक र अनौपचारिक छलफलमा उहाँहरु सबैको चासो भनेको चीन–नेपाल लामो सीमाना जोडिएको असल छिमेकी राष्ट्र हुँदै हो, नेपाललाई आधार मानेर कुनै पनि चीन विरोधी गतिविधि नहोस् भन्ने कुरामा पहिलो चासो छ ।

त्यो भन्नुको मतलब उहाँहरुले दुई वटा कुरामा संकेत गर्नुभयो । पहिलो, नेपालमा शरणार्थीका रुपमा बसेका तिब्बतीबाट चीन विरोधी गतिविधि हुनसक्छ । त्यसलाई सतर्कता अपनाइयोस् भन्ने कुरा । अर्काे कुरा, उहाँहरुले सिधै के भन्नुभयो भने भारत र अमेरिकाले पनि नेपालको भूमि प्रयोग गरेर कुनै हिसावले चीन विरोधी गतिविधि गर्न सक्छन् । त्यसमा चनाखो भइदिनुपर्ला भन्नेमा उहाँहरुको बढी चासो मैले पाएँ ।

त्यसकारण हाम्रो प्रष्ट धारणा छ । नेपाल असंलग्न आन्दोलनमा एउटा संस्थापक राष्ट्र हो । पञ्चशीलको सिद्धान्तमा आधारित संयुक्त राष्ट्रसंघको बडापत्रमा हामीले हस्ताक्षर गरेका छौं । त्यसकारण नेपाल आफ्ना असल मित्रराष्ट्र, छिमेकी राष्ट्र एक अर्काविरुद्ध नेपाली भूमि प्रयोग गर्ने, त्यहाँबाट कुनै गतिविधि गराउन चाहँदैन । त्यसकारण हिजो, आज र भोलि पनि नेपाल एक चीन नीतिप्रति दृढ छ । त्यो कायम रहन्छ । नेपालबाट चीन विरोधी हुने कुनै पनि गतिविधि हामी हुन दिदैनौँ । नेपाल सरकार, नेपाली जनता एकीकृत चीनको समृद्धिका पक्षमा छन् भनेर मैले उहाँहरुलाई त्यो विश्वास दिलाउने काम गरेको छु । भोलिका दिनमा पनि नेपालको नीति प्रस्ट छ भनेर चिनियाँ पक्षलाई भनेको छु ।    

तिब्बतको कैलास मानसरोवर र तिब्बतका केही गाउँको भ्रमण गर्नुभयो । तिब्बतका नागरिकको जीवनस्तर र तिब्बतको विकासबारे के महसुस गर्नुभयो ?

म २३ वर्षपछि ल्हासा आएँ । २३ वर्ष अघि र आजको अवस्था हेर्दा डाँडाहरु केही तलमाथि भएका छैनन् । अरु त आमूल परिवर्तन भएका छन् । पहिले देखेको घर, सडक, विमानस्थल सबै फरक पाएँ ।

हिजो एउटा राजनीतिक परिवर्तनका लागि हामीले लडेका थियौं । राजनीतिक परिवर्तनको उद्देश्य भनेको देशको समृद्धि, विकास, सुशासन, न्याय र समानता हो । तर, ती कुरा हामीले नागरिकले पाउने गरी बनाउन सकेनौं । धेरै दुःख लाग्छ । विकास र प्रगतिको हिसाबले यहाँ त अहिले ल्हासा हाम्रो हिमाली जिल्लासँग जोडिएको भन्ने बुझ्ने भन्दा पनि युरोपियन मुलुकको कुनै सहरमा भन्दा कम छैन । त्यही ढंगले विकास भएको छ । यस्तो सुक्खा ठाउँमा बिरुवा रोपेर हरियाली बनाउने, कृषि उत्पादन गर्ने, त्यो पनि हामीले देख्यौ । त्यो त चामत्कारिक विकास छ । हामीले हाम्रो देशमा केही गर्न सकेनौं भन्ने कुरामा दुःख लाग्छ । जनताको जीवनस्तर पनि सुधार भएको छ ।

चीनका महामहिम राष्ट्रपति सी जिनपिङ र सरकारको जोड के रहेछ भने तिब्बतमा पनि धेरै जातजाति र भाषाभाषी छन् । त्यसकारण, जातीय र सांस्कृतिक सद्भाव, एकदम एकता हुनुपर्छ । यहाँका भित्तामा लेखिएका नारा, हामीले तिब्बतमा भएको प्रदर्शनीमा भएका सबै ठाउँमा लेखिएको देख्यौं– जातीय एकता, सानो ठूलो कसैलाई होइन, बराबारी गर्नुपर्छ भन्ने जोड छ ।

नेपालमा चाहिँ नारा र भाषणमा बढी हुन्छ । यहाँ त उहाँहरुले साँच्चै नै व्यवहारमा उतार्नु भएको छ । उहाँहरु जातीय र धार्मिक र भाषिक कुरामा बेमेल नहोस् भनेर निकै सतर्क भएको पाएँ ।

तिब्बत भनेको चिनियाँ भूमिमध्ये उच्च रहेको, ‘संसारको छानो’ भनेर चिनिने गरिन्छ । तिब्बत मरुभूमि र पठारजस्तो छ । कृषि उत्पादन छैन, हरियाली छैन, चिसो ठाउँ छ । तर, पनि त्यहाँ चीनका अरु प्रान्त भन्दा अविकसित नहोस् भनेर अन्य प्रान्तहरुले सहयोग गर्ने, संघीय र केन्द्र सरकारले पनि धेरै सहयोग गरेको देखियो । यहाँको समृद्धि र विकास हुनुपर्छ, जनताको जीवनस्तर माथि उठाउनु पर्छ भनेर लगानी गरेको पाइयो ।

हामीले तिब्बतको विकासबाट नेपालका लागि विकासको मोडल सिक्न सक्छौं । अब हामीले आयो, डुल्यो, गयो, बिर्स्यो गर्ने होइन । यहाँबाट सिकेर केही गर्न सक्नुपर्छ । म मेरो ठाउँमा, मेरो अधिकार क्षेत्रमा प्रयास गर्छु । हाम्रो देशको प्रणालीमा म एक जनाले गर्ने के कति हुनसक्छ ? हाम्रो आफ्नै खालका बाध्यता छन् । तर इमानदार भएर नेपालको राजनीतिज्ञहरुले विकासको काममा प्रयत्न गर्नुप¥यो । मुखले भन्ने व्यवहारमा नगर्ने नेपालको सबैभन्दा दुर्गुण छ । बोल्दाखेरी कुनै कुरा बाँकी राख्दैनौं हामी नेपाली नेताहरु । तर काम केही गरेका छैनौं, दुर्भाग्य यो हो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप