शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कविता

नारी

शनिबार, १६ असार २०८०, १४ : १६
शनिबार, १६ असार २०८०

प्रकृतिको सुन्दर गाथामा शोभाएमान म नारी
इशको कलमले कुदिएकी म अनुपम चैतन्य सुन्दरी
आकाश गँगा भन्दा फराक भई 
विश्व मण्डल नै रचना गर्न सक्ने म नारी,
सृष्टिको सुन्दर जिम्मेवारी बाट बिभुषित म नारी !

हजारौँ जिम्मेवारीले एकैपटक थिच्दा पनि 
हाँस्न सक्ने यो नारी,
सन्तानको सृष्टि अनि 
निरन्तर पहरेदारी गर्न सक्ने नारी,
मात्र अक्षरहरूको तरङ्गले जीवन बन्न नसक्ने रहेछ,
यहाँ नारी भएर जिउन धेरै ओटा शृंखला तर्नुपर्ने रहेछ !

नारीका गाथालाई
धेरै सुन्दर कागज अनि वक्तव्यहरूमा व्यक्त गरिए 
राजनीतिक प्रतिष्ठाका एजेन्डा बनाइए
राष्ट्रिय अनि अन्तर्राष्ट्रिय जगतभरि 
तर नारीको युद्ध त जन्मिनासाथै सुरु हुने रहेछ ।

नारीत्वलाई लिएर विभाजित छ समाज
एउटा सरल नारीको आँसुले उसको चितासम्म ढाक्दछ, 
अर्को अपवादमा रहेकाहरूले गर्ने कुकर्मको परीक्षा सरललाई नै लिइन्छ,
अनि फेरि समाजमा अर्को तरङ्गको वर्षात् हुन्छ 
जहाँ पुनः नारी अधिकारको चिरहरणका एजेन्डा प्रस्तुत गरिन्छ !

उसै त धनी र गरिबीचको भेदभावपूर्ण तरंगबाट विभूषित समाज,
त्यसमाथि नारी जातिलाई हेयभावबाट हेर्ने संकुचित परिवेश,
अत्याचारका वर्षात्लाई सहेर बसे सहनशिलाको उपमा,
आफ्नो रक्षार्थ बोल्न सुरु गरे कुसंस्कारी को लाञ्छना !

मातृ स्नेहबाट टाढा रहेर पनि हाँस्न र हँसाउन सक्ने कर्मशील नारी,
सयौँ आँसु, पीडा र दर्द सहेर पनि अरुका निम्ति बाँच्न सक्ने नारी,
शारीरिक पराकाष्ठाको पीडा सहेर पनि नयाँ जीवन दिन सक्ने नारी,
आफ्नो हृदय हजारौँपल्ट रेटिँदा पनि अरुको निम्ति मुस्कुराउन सक्ने नारी ।

त्यसैले किताबका पानाहरूमा मात्र सीमित नबनून नारी दिवसका नाराहरू,
नारीका निमित्त नारी नै नबनून जीवनका व्यथाहरू,
सुरुवात परिवारबाटै गरिनुपर्छ 
नबनून नारीका निमित्त नारी नै जुनसुकै रूपमा भोगाइका गाथाहरू 
सुरुवात होस् एक कर्मशील महिलाको सुखका लहरहरू,
जसको निश्चल मुस्कानभित्र अटाउन सकून अझै धेरै बाँच्ने रहरहरू,
जीवन जिउने सपनाहरू !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला शर्मा
सुशीला शर्मा
लेखकबाट थप