मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
नागरिकता समस्या

लामो प्रतीक्षापछि नागरिकता पाउँदा दङ्ग

‘सीमावर्ती जिल्लामा नागरिकता वितरण अत्यन्तै संवेदनशील’
शनिबार, १६ असार २०८०, १८ : ०६
शनिबार, १६ असार २०८०

बारा । कलैया उपमहानगर वडा नम्बर १, राजदेवी टोलकी बिनिता कुमारी गुप्ता उमेरले २३ वर्ष भइन् । स्नातक तहको पढाई सकेकी गुप्ताको जागिर खाने, बैंकमा खाता खोल्ने सपना नागरिकता नभएकै कारण पूरा हुन सकेको थिएन ।

२०७६ सालमा नागरिकताका लागि सबै प्रक्रिया पुर्‍याए पनि उनले नागरिकता पाउन सकिनन् । तर बुधबार जिल्ला प्रशासन कार्यालय बाराबाट नागरिकता पाउँदा गुप्ता दङ्ग थिइन् ।

nagarikta (4)

नागरिकता पाएसँगै अब उनलाई सरकारी जागिर खान, बैंक खाता खोल्न, विदेश जान बाटो खुलेको छ ।

‘नागरिकता नहुँदासम्म देशमै अनागरिक भएर बस्नु परेको पीडा थियो,’ गुप्ताले भनिन्, ‘नागरिकता पाएर एकदमै खुसी छु ।’

nagarikta (13)

नागरिकता सम्बन्धी नयाँ विधेयक अनुसार जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण सुरु गरिएको दिन आइतबार नै टोकन लिएकी गुप्ताले बुधबारमात्रै नागरिकता प्रमाणपत्र हात पारिन् ।

उनले भनिन्, ‘सबै कागजपत्र पूरा भएर पनि हामीले ५ दिनसम्म धाउनुपर्‍यो, सर्जमिन मुचुल्काका लागि २ दिन वडामा धाउनुपर्‍यो, बल्लतल्ल बनायौँ ।’

nagarikta (9)

बुधबार गुप्तासँगै उनका भाइ रोशनकुमार गुप्ता र बहिनी नेहा कुमारी गुप्तासहित एकै परिवारका ३ जनाले नागरिकता पाएका छन् । ३ दिदीबहिनी र २ दाजुभाइ गरी ५ जनामध्ये  बाँकी २ जनाको नागरिकताका लागि शुक्रबार आवेदन दिने गुप्ताले जानकारी दिइन् ।

फेटा गाउँपालिका–७, कञ्चनपुरका रमेश साह कानु उमेरले ३२ वर्ष भए । नागरिकता नहुँदा बैंकमा खाता खोल्न, व्यवसाय चलाउन, छोराछोरीको जन्मदर्ता गराउन धेरै समस्या झेलेका साह कानु नागरिकता पाउँदा एकदमै खुसी लागेको बताउँछन् ।

nagarikta (8)

‘यत्रो वर्ष नागरिकताविहीन भएर बस्यौँ, नेपाल सरकारले बल्ल हामीलाई नागरिकता दिएको छ, एकदमै खुसी लागेको छ, नेपाल सरकारलाई मेरोतर्फबाट धन्यवाद,’ कानुले भने, ‘यदि कसैले झुटा विवरणका आधारमा नागरिकता लिन्छ भने सरकारले कारबाही गरोस् तर नेपाली नागरिकलाई समयमै नागरिकता दिनुपर्छ ।’

कानुले नागरिकताका लागि आमाबुबाको नागरिकता, जग्गाको लालपुर्जा, बिजुली, खानेपानीको शुल्क बुझाएको कागजपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र सबै पेस गरेका छन् ।

nagarikta (5)

‘बाजे भारतबाट आउनुभएको हो, बुबा नेपालमै जन्मेको हो, उहाँको निधन भइसकेको छ,’ उनले भने, ‘हामीले नागरिकता नपाएर धेरै दुःख पाएका थियौँ, बैंकमा खाता खोल्न पाइएको थिएन, बच्चाहरुको जन्मदर्ता छैन, कुनै व्यवसाय गर्न पाएको छैन, नागरिकता नहुँदा धेरै समस्या थियो ।’

रमेश साह कानुका बुबाआमा दुवैको नागरिकता २०६३ सालको टोलीमा बनेको हो ।

कलैया उपमहानगर–५ घुसुकपुर टोलका बादल कुमार चौधरी पनि बुधबार नागरिकता पाउँदा अत्यन्तै खुसी देखिन्थे । ‘साइन्स पढ्न मन थियो, नागरिकता नहुँदा अरु विषय पढ्नुपर्‍यो, नागरिकता नभएका कारण मोटरसाइकलको लाइसेन्स पनि थिएन, विदेश जान आवेदन पनि दिन सकेको थिइनँ,’ चौधरीले भने, ‘आज नागरिकता पाएँ, अब मोटरसाइकलको लाइसेन्स बनाउँछु, जागिर खान, बैंक खाता खोल्न पनि सजिलो हुन्छ, खुसी लागेको छ ।’

चौधरीको मामाघर भारतको रक्सौल हो । उनका बुबाआमाले पनि २०६३ सालको टोलीमा नागरिकता लिएका थिए ।

nagarikta (7)

कलैया–१ का रोशन कुमार गुप्ताले आइतबार नै सम्पूर्ण कागजपत्र जुटाएर वडा कार्यालयको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिएका थिए । ‘नागरिकताका लागि आएको आज पाँचौं दिन भयो, मेरो टोकन नं ११ थियो सबै काजग पनि पुगेको थियो तर कर्मचारीले केमा चित्त नबुझेर हो, सर्जमिन मुचुल्का काटे, वडाले मुचुल्का दिन २ दिन लाग्यो,’ उनले भने ।

गुप्ताले नागरिकता लिन कर्मचारीहरुले धेरै दुःख दिएको गुनासो गरे । ‘सबै कागजपत्र पुगेको छ भने किन दुःख दिनु ?’ उनले भने, ‘बुबाआमाको नागरिकता, बिहे दर्ता, जन्मदर्ता, नाता प्रमाणित, लालपुर्जा, बुबाको व्यवसायको सक्कल कागजपत्र बुझाउँदा थप मुचुल्का उठाएर ल्याउन पत्र काटेका छन् ।’

थप मुचुल्कामा वडाध्यक्षको हस्ताक्षरका लागि दुई दिन धाउनुपरेको उनले सुनाए ।

nagarikta (2)

गुप्ता, कानु र चौधरीजस्तै बुधबारसम्म जिल्ला प्रशासन कार्यालय बाराबाट ८० जनाले जन्मसिद्ध आधारमा नागरिकता लिएका छन् । बुधबारसम्म १ हजार ५ सयले टोकन लिए पनि जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव, मिटरव्याजीको उजुरीको चाप, बंशज र अंगीकृत आधारमा नागरिकता वितरण, राहदानी लगायत अन्य कामको चापको कारण छिटो छरितो गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

२०६३ सालको नागरिकता वितरण टोलीबाट जन्मसिद्धका आधारमा बारामा करिब १४ हजारले नागरिकता पाएका थिए । जसमध्ये केहीको बसोबास भारततर्फ रहेको र हाल पुनः छोराछोरीको नागरिकताका लागि नेपालतर्फ आएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

nagarikta (15)

‘केहीले २०६३ सालदेखि घरभाडामा बसेका छौँ भनेर घरभाडा सम्झौताको कागज लिएर आएका छन्,’ उनले भने, ‘त्यस्तोको हकमा नागरिकता दुरुपयोग हुनसक्छ कि भनेर हामीले छानबिन गरेरमात्रै नागरिकता दिएका छौँ ।’

सीमावर्ती जिल्लामा नागरिकता वितरण अत्यन्तै समवेदनशील देखिएको स्थानीय प्रशासनले जनाएको छ । ‘जन्मसिद्ध नागरिकका सन्तानहरुको हकमा एकै दिनमा नागरिकता दिनुभन्दा उहाँहरुले पेस गरेका कागजपत्र प्रमाणित गरेर मात्रै हामीले नागरिकता दिएका छौँ,’ प्रजिअ सापकोटाले भने ।

वडाबाट सिफारिस पठाउँदा वडाध्यक्षहरु पनि द्विविधामा परेको र विवरणहरु पनि स्पष्टसँग नपाठाएकाले केही ढिला भएको सापकोटाले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप