शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशी प्रदेश : जसपा फकाउँदै एमाले, गठबन्धन पर्खँदै उपेन्द्र

सोमबार, १८ असार २०८०, १३ : ३८
सोमबार, १८ असार २०८०

काठमाडौँ । कोशी प्रदेश सरकार निर्माणका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सत्तारुढ गठबन्धनको निर्णयको पर्खाइमा रहेको छ । मधेस प्रदेशमा नेकपा एमालेले जसपालाई सघाएको कारण कोशी प्रदेशमा जसपाबाट एमालेले सहयोगको अपेक्षा गरेको छ । तर कोशी प्रदेशको हकमा कसैलाई सहयोगको वचन नदिई जसपा तटस्थ बसेको छ । 

आइतबार मात्र एमालेका सचिव एवं कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई भेटेका थिए । भेटमा उनले अध्यक्ष यादवसँग कोशी प्रदेश सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा अध्यक्ष यादवले आफ्नो दल समाजवादी मोर्चा र सत्ता गठबन्धनमा रहेकाले त्यसको निर्णयको आधारमा अगाडि बढ्ने प्रतिक्रिया दिएका थिए । ‘अहिले हामी न एमालेलाई सहयोग गर्ने भनेका छौँ, न काँग्रेस–माओवादीलाई नै । हामी तटस्थ छौँ । अब गठबन्धनले के निर्णय गर्छ त्यसको आधार जसपाले थप निर्णय गरेर अगाडि बढ्छौँ,’ यादवको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले एक नेताले रातोपाटीलाई जानकारी दिए । 

यता जसपाका केन्द्रीय सदस्य शैलेन्द्र साहले पनि गठबन्धनले गर्ने निर्णयकै आधारमा आफ्नो पार्टी अगाडि बढ्ने बताए । ‘प्रदेश १ को नामकरणको विषय लिएर आन्दोलन चलिरहेको छ । जसपाले त्यसको नेतृत्व पनि गरेको छ,’ यी सबै विषयलाई पनि मध्यनजर गर्दै जसपाले निर्णय लिने उनले बताए । 

जसपाका केन्द्रीय सदस्य जयराम यादवले प्रदेश १ को नामकरणको विषय लिएर आफूहरू सरकार छाडेको बताउँदै नयाँ सरकार गठन गर्दा यसबारेमा पनि विचार गरिने बताए । ‘हाम्रो मुद्दा कोशी प्रदेशको नामकरण रहेको छ । त्यसका लागि हाम्रो दलले आन्दोलन गरिरहेको छ । नाममा पुनर्विचार नगरे आन्दोलन जारी रहनेछ,’ उनले भने ।   

आज चार बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । सो बैठकमा कोशी प्रदेशमा सरकार गठनको बारेमा छलफल हुने बुझिएको छ । कोशी प्रदेश सरकार गठनका लागि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि २१ गतेको समय सीमा दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप