शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

मङ्गलबार, १९ असार २०८०, ०९ : ५८
मङ्गलबार, १९ असार २०८०

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । बैठक अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयको कार्यालय हेटौँडाले जनाएको छ । बैठकमा सरकारले पेस गरेको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

उनका अनुसार बैठकमा विषयगत ५ वटा मन्त्रालयको विनियोजित बजेट कार्यक्रम माथि छलफल हुनेछ भने बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको बजेट कार्यक्रममा माथि खर्च कटौतीको प्रस्ताव राख्ने छन् । 

सांसदहरूले बजेट माथि विरोध गर्दै कार्यक्रम पुस्तिकामा उल्लेख भएका योजनाको रकम शून्य वा १०० कायम गर्न प्रस्ताव गर्ने उनले बताए । उक्त प्रस्तावलाई सदनमा छलफल गराए पश्चात् विषयगत मन्त्रालयका मन्त्रीहरूले सांसदले उठाएका प्रश्नको जवाफ दिने बैठकको कार्यसूची रहेको उनले बताए । 

प्रतिपक्ष दलहरूको निरन्तरको अवरोध पछि गत १२ गतेबाट अवरुद्ध रहेको प्रदेशसभा बैठक हिजो सोमबारबाट चलेको थियो ।बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपा र नेमकिपाका सांसदहरूले असन्तुष्टि जनाउँदै पटक–पटक अवरुद्ध गर्दै आएको थियो । सरकार पक्ष र प्रतिपक्ष दलबीच विनियोजित बजेटमाथि विभिन्न मागहरू संशोधन गर्ने सहमति भएपछि सोमबार बैठक सञ्चालन भएको थियो । उक्त बैठकमा बजेटमाथि छलफल प्रारम्भ भएको थियो । 

सो बैठकमा दलीय हिसाबमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेमकिपाकी सांसद सृजना सैजूले छलफलमा भाग लिएका थिए । उनीहरूले बजेटमाथि उठाएका प्रश्नको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले जवाफ दिएका थिए । 

प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्षको लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप