मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
विवाद अनि चर्चा

प्रधानमन्त्रीको अभिव्यक्तिपछि चर्चामा रहेका प्रितम सिंहले काठमाडौंमा ट्रक भित्र्याएको कथा

तीनवटा डुंगामाथि राखेर ट्रकलाई गङ्गा तारियो
बुधबार, २० असार २०८०, २० : ४५
बुधबार, २० असार २०८०

यतिखेर लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ चर्चा छ । कारण, यस पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई लिएर आज (२० असार) विपक्षी दलले संसद्मै हङ्गामा गरे । 

दुई वर्षअघि रातोपाटीका लागि अन्वेषण अधिकारीले सरदार प्रितम सिंहसँग संवाद गरेका थिए, त्यतिबेला सिंहले काठमाडौंमा ट्रक भित्र्याएको कथा सुनाएका थिए । 

पहिलोपटक काठमाडौंमा

सरदार प्रितम सिंह बिहे भोजमा सहभागी हुन कास्मिरबाट उत्तर प्रदेशको तुल्सीपुर आएका थिए । भोजपछि बेहुलीका पिताले उनलाई भने, ‘यहाँबाट काठमाडौँ नजिकै छ, यातायात व्यवसायमा सक्रिय तपाईंहरूका लागि त्यो ठाउँ सम्भावनायुक्त हुन सक्छ । त्यहाँको सडक, घुम्ती र मोड पनि कास्मिरकै जस्तो छ ।’

त्यही मेसोमा घुम्नकै लागि प्रितम काठमाडौं आए, जति बेला उनी २३ वर्षका थिए । उनलाई काठमाडौँ कुनै आधुनिक सहरजस्तो लागेन, न त बेहुलीका बाले भनेजस्तो तुल्सीपुरबाट नजिकै थियो । 

यो २०१५ सालतिरको कुरा हो, त्यतिबेला त्रिभुवन राजपथको निर्माण कार्य चलिरहेको थियो । बाटो राम्रो नभएकाले उनलाई काठमाडौं आउन सहज भएन । यात्रा सकसपूर्ण भएकाले उनी काठमाडौं आएको भोलिपल्टै कास्मिर फर्के । फर्कंदा पटनासम्म डाकोटा अर्थात् सानो प्लेनमा गएका थिए । घर फर्केर उनले बाबुलाई आफ्नो यात्राबारे सुनाए । ‘किन राति पुगेर बिहानै फर्किएको ? नयाँ ठाउँ, केही दिन बसेर बुझेको भए राम्रो हुन्थ्यो,’ बाबुले भने ।

प्रितमका बुबा कास्मिरमा गाडी भित्र्याउने व्यक्ति हुन् । कास्मिरका तत्कालीन महाराजा हरि सिंहसँग उनको निटकको सम्बन्ध थियो । उनी जम्मुमा बसेर यातायात व्यवसाय गर्थे, बाँकी परिवार कास्मिरको पुन्चमा बस्थ्यो । ‘त्यतिबेला राजधानी सहर ६ महिना जम्मु र ६ महिना कास्मिरको श्रीनगरमा हुन्थ्यो,’ प्रितम भन्छन्, ‘राजालाई आवश्यक पर्दा मेरा बाबुले गाडी उपलब्ध गराउँथे ।’

भारत–पाकिस्तान विभाजनपछि पठानहरूले कास्मिरमा विद्रोह थाले । धार्मिक सद्भाव खलबलियो । कास्मिरलाई स्वतन्त्र देश बनाउने राजा हरि सिंहको चाहनामा यो विद्रोह बाधक बनिदियो । अन्ततः कास्मिर भारतमा विलय भयो । 

त्यसपछि भारतीय सेना आफ्नो उपस्थिति देखाउन कास्मिर छिर्‍यो । ‘उनीहरू प्लेनमार्फत प्यारासुटबाट झर्दै थिए, तर पठानहरूले जमिनबाट हवाई फायर गरे, झन्डै २५ प्रतिशत सेनाको ज्यान गयो,’ घटनालाई प्रत्यक्ष नियालेका प्रितम सिंह भन्छन्, ‘जो जमिनमा उत्रिए, उनीहरू खरो देखिए । उनीहरूले पठानहरूलाई परास्त गर्न थाले ।’

युद्धको चपेटामा परेपछि विशेषगरी हिन्दू र शिखहरूको ठूलो जनसङ्ख्याले कास्मिर छाड्यो । उरी, बरामुल्लाह हुँदै मानिसहरूको लस्कर जम्मुतर्फ झरिरहेको थियो । राष्ट्रसङ्घको मध्यस्थतामा सहमति बनेकाले युद्धविराम भयो । त्यसपछि कास्मिरको केही भू–भाग पाकिस्तान र केही भारतको नियन्त्रणमा रह्यो ।

प्रितमको परिवार पनि जम्मुमा सर्‍यो । उनी जन्मिएको पुन्च जिल्लास्थित गाउँ अहिले पाकिस्तानमा पर्छ । 

डुङ्गामाथि ट्रक राखेर गङ्गा तार्दा...

प्रितम दोस्रोपटक आफ्ना पिताका साथ काठमाडौँ आए । न्युरोडको एक होटलमा बस्दा उनले आफूले चिनेका एक सरदारलाई भेटे, जो राजा महेन्द्रका पाइलट थिए । 

‘दुलत सिंह नाम गरेका ती पाइलट र म लखनउमा एक साथ पाइलट ट्रेनिङ गथ्र्यौं । उनीसँगै अर्का एक सरदार पनि थिए, ती पनि राजाकै पाइलट रहेछन्,’ प्रितम सम्झन्छन् ।

दुलत सिंहले प्रितमका बाबुछोरालाई बहादुर भवनस्थित आफ्नो कोठामा राखे । उनले राजा महेन्द्रसँग पनि बाबु–छोराको भेट गराइदिए र नेपालमा मालवाहक ट्रक भित्र्याउन हौस्याए । प्रितम भन्छन्, ‘काठमाडौँमा जिपसम्म चल्ने भए पनि ठूला ट्रक नचल्ने भएकाले रोप–वेकै सहारामा सबै काम हुँदो रहेछ । ट्रक भित्र्याउँदा राम्रो फाइदा हुने सुझाव उनले दिए ।’

पहिलोपटक काठमाडौँ आउँदा अत्यास मानेका प्रितम यसपटकको भ्रमणबाट भने उत्साहित बने । बाटो–बाटोमा ओर्लंदै सडकको अवस्था नियाल्दै बाबु–छोरा कास्मिर फर्किए ।

तीनवटा गाडी, तीनजना चालक र तीनजना सह–चालकसहित भारतबाट प्रितम तेस्रोपटक काठमाडौँ हान्निए । पटनासम्म आउन केही गाह्रो थिएन, त्यहाँदेखि यता निकै मुस्किल भयो । केही ठाउँमा प्रितमलाई ज्यानै जान्छ जस्तो लागिसकेको थियो । विशेषगरी गङ्गा किनारबाट गाडी पास गराउन कठिन भएको थियो ।

‘अहिलेजस्तो गंगामा पुल थिएन । ठूला जहाजमा हालेर गाडी ल्याउनुपर्ने थियो,’ प्रितमले सम्झिए, ‘मलाई २० दिन कुर्न भनियो । त्यसपछि पनि पूरै गाडी हाल्न नसकिने भएकाले आधा–आधा बनाएर हाल्नुपर्ने तर्क जहाजका अधिकारीले गरे ।’

२३ वर्षको त्यो उमेर । प्रितमसँग कुर्ने धैर्यता थिएन । उनले आसपास केही ठूला डुङ्गाहरू देखे । ‘मैले डुङ्गा जोडेर त्यसमाथि गाडी राखेर तार्न सकिएला भनी सोधेँ माझीहरू तयार भए । उनीहरूले तीनवटा डुंगालाई जोडेर त्यसमाथि ट्रक राखे । नदीको वारिपारि बलियो गरी डोरी बाँधेका थिए । 

‘हामीले तीनवटा ट्रक पालैपालो तार्‍यौँ,’ प्रितमले जवानीको जोस सम्झिए, ‘मानिसहरू यो को पागल हो भन्दै थिए ।’

सकस यतिमै सकिनेवाला थिएन । बयलगाडा चल्ने साँघुरा बाटामा सडकमा ट्रक गुडाउनु निकै चुनौतीपूर्ण थियो । मिर्जारपुरबाट अगाडि बढेपछि स–साना पोखरीहरू थिए । त्यहाँबाट ट्रक अघि बढाउन सक्ने अवस्था रहेन । प्रितमको युवा जोसले फेरि अर्को बुद्धि फुरायो, रेलको लिक हुँदै गाडी लैजाने ।

‘त्यतिबेला बिहान एउटा र बेलुकी अर्को रेल रक्सौलका लागि छुट्थ्यो, मैले बिहानको रेल हिँडिसकेपछि ट्र्याकमा लगेर गाडीलाई चढाएँ,’ उनी भन्छन्, ‘ट्र्याकको दायाँतर्फ एउटा पाङ्ग्रा र बायाँतर्फ अर्को पाङ्ग्रा अड्याएर हामी अघि बढ्यौँ । यसरी मिर्जापुरबाट रक्सौल आउन तीन दिन र त्यहाँबाट अमलेखगन्ज आउन थप तीन दिन लाग्यो ।’

हेटौँडाको त्यो सुरुङ

मकवानपुरको चुरियामाई मन्दिर आइपुगेपछि सुरुङबाट गाडी छिराउनुपर्ने थियो । यो सानो सुरुङमा गाडी छिर्दैन भन्ने हेक्का भएरै उनका बाबुले त्यहीअनुसारको टायर बनाए पठाइदिएका थिए ।

‘बुबा यातायातमा विज्ञ नै हुनुहुन्थ्यो । मसँग आउँदा उहाँले त्यो सुरुङ नाप्नुभएको थियो र ट्रक सहजै घुस्दैन भन्ने जानेर उहाँले भारतबाटै गाडीको रिमलाई काटेर पछाडिपट्टीका दायाँतर्फका दुई र बायाँतर्फका दुई टायरलाई जोडेर पठाइदिनुभएको थियो । यसरी रिम काट्दा दायाँतर्फ झन्डै ६ र बायाँतर्फ ६ इन्च स्पेस कम भएको थियो,’ प्रितमले सम्झिए, ‘छिर्न कुनै समस्या भएन, तर सुरुङको बीचमा पुगेपछि गाडी रोकियो ।’

प्रितम र ड्राइभर दुवैजना एकाएक आत्तिए । ड्राइभरसँग टायर खोल्न प्रयोग गरिने रड थियो, त्यसैले अगाडिको सिसा फुटाएर उनीहरू बल्लतल्ल बाहिर निस्किए । ट्रकको पछाडिपट्टि बसेका सहचालक पनि गाडीमुनिबाट छिरेर उनीहरूलाई भेट्न अगाडि आएका रहेछन् । ब्याट्रीको तार लुज भएकाले गाडी रोकिएको रहेछ । तार कसेपछि फेरि गाडी स्टार्ट भयो ।

गाडी हिँड्ने बाटो कतै भिरालो त कतै खाल्डाखुल्डी थियो । उनीहरूलाई काठमाडौँ आइपुग्न थप दुई दिन लाग्योे । ‘मोड धेरै छोटा थिए । हरेक मोड कटाउन गाडीको चक्कामा ढुंगा राखे आड दिनुपथ्र्यो । 

जसोतसो काठमाडौं ल्याएपछि ट्रकलाई उनले सीधै न्युरोडको मध्य भागमा ल्याएर राखे । स्थानीयहरू मालवाहक ट्रक आइपुगेको देखेर छक्क थिए । ‘तर रात परेपछि केही हुल्याहाहरू आएर गाडी तोडफोड गर्न पनि खोजे । पञ्जाबीले किन गाडी ल्याएको ? यसको के काम ? उनीहरू सायद यस्तै भन्दै थिए,’ प्रितम सम्झन्छन्, ‘उनीहरूले पिएका थिए । उनीहरूले गाडी बिगार्न खोजेपछि हाम्रा चालक र सहचालकहरू पनि बचाउनका लागि अघि सरे ।’

काठमाडौँमा मालवाहक ट्रक भित्रिएको यो पहिलो घटना थियो । साना जिपहरूको प्रयोग भने राणाकालमै हुन्थ्यो । इतिहासकारहरूका अनुसार काठमाडौँमा पहिलोपटक वीर शमशेरको कार्यकालमा (वि.सं. १९४२–१९५७) गेहेन्द्र शमशेरले फोर्ड कम्पनीको गाडी भित्र्याएका थिए ।

त्यही गाडी ल्याउनका लागि वीरगन्जदेखि भीमफेदीसम्म सडक खनिएको थियो । त्यसपछि मानिसहरूले नै काँधमा बोकेर चित्लाङको बाटो हुँदै यो गाडीलाई काठमाडौँ ल्याएका थिए । वि.सं. २०१३ सालमा त्रिभुवन राजपथ बन्नुअघिसम्म जति पनि गाडी भित्रिए, ती सबै यसरी नै बोकेर ल्याइएका थिए ।प्रितमका अनुसार, उनी आउनुभन्दा पहिले पनि दुईजना सरदारहरूले काठमाडौँमा ट्रक भित्र्याउने कोसिस गरेका थिए, तर सफल भएनन् । ‘अमलेखगन्जसम्म अन्य सरदारहरू पनि आएका थिए । उनीहरू पन्जाबी थिए । त्यसैले यहाँको कच्ची बाटो र पहाड देखेपछि तर्सिए, तर कास्मिरी भएकाले हामीलाई पहाडको माटोसँग अपनत्व थियो ।’

काठमाडौँमै बसोबास

२०१७ साल असारमा जापान, अमेरिका र क्यानडाको भ्रमण गरिसकेपछि राजा महेन्द्र परिवारसहित अमरनाथ भ्रमणमा गएका थिए । त्यतिबेला संयोगवश, प्रितम सिंह पनि कास्मिरमै थिए । जम्मु–कास्मिरका तत्कालीन प्रधानमन्त्री बक्सी गुलाब मोहम्मदले प्रितमलाई बोलाएर राजा महेन्द्रसँग भेट गराइदिए ।

‘यी हाम्रो परिवारका सदस्य हुन् र नेपालमा व्यवसाय गर्छन् भनेर चिनाजान गराइदिए,’ प्रितम सम्झन्छन्, ‘उहाँले नेपालमा व्यवसाय गर्न केही समस्या भयो भने उनलाई भन्नु भनेर शाही पाश्र्ववर्ती मेजर जनरल शेरबहादुर मल्ललाई चिनाइदिनुभयो ।’

२०१८ साल (सन् १९६१) मा दिल्लीकी अर्चरण कौरसँग प्रितमले विवाह गरे । त्यसपछि घर बनाएर श्रीमतीसहित उनी काठमाडौँमा बस्न थाले ।

काठमाडौं बसेको केही महिना भएको थियो, एक दिन उनी बबरमहलस्थित आफ्नो घरबाट बाहिर निस्कँदै थिए, एकाएक उनको गाडीलाई सुरक्षाकर्मीले रोके । ‘तपाईंलाई दरबार ल्याउनुपर्ने आदेश भएको छ,’ ती सुरक्षाकर्मीले भने । उनी प्रितमको गाडीमा पुगे । अर्को चोकमा फेरि अर्का सुरक्षाकर्मीले रोके । उनी पनि गाडीमा चढे । यसरी चारजना सुरक्षाकर्मी एक–एक गर्दै उनको गाडीमा चढे । उनलाई सोझै दरबारमा लगियो । त्यहाँ तत्कालीन प्रमुख अञ्चलाधीश तथा राजाका निकट सहयोगी विष्णुमणि आचार्य उनलाई कुरेर बसेका रहेछन् ।

‘खासमा विष्णुमणि बाजेले मेरो गाडी नम्बर टिपाइदिएर सुरक्षाकर्मीहरूलाई लिन पठाएका रहेछन् । मैले ल्याएको भनेर देखाउनका लागि सबै सुरक्षाकर्मीहरू तँछाडमछाड गर्दै मेरो गाडीमा चढेका रहेछन् । त्यतिबेलाको आदेश यस्तो हुन्थ्यो, कामको जस लिने होड त्यस्तो हुन्थ्यो,’ हाँस्दै प्रितमले भने ।

देशका पहाडी इलाकामा अनिकाल लागेकाले विष्णुमणि आचार्यले उनलाई बोलाएका रहेछन् । ‘भारतले १० हजार टन चामल सहयोग दिएको थियो, तर रक्सौलबाट काठमाडौँसम्म नेपालले आफैँ ढुवानी गर्नुपर्ने सर्त रहेछ,’ प्रितमले भने, ‘यसबाहेक नेपालकै तराईबाट पनि चामल ल्याउनुपर्ने थियो । गाडीको व्यवस्थाका लागि मलाई बोलावट गरिएको रहेछ, तर मसँग १२ वटा मात्रै गाडी थिए ।’

विष्णुमणिले सोधे : कसरी ल्याउन सकिन्छ ?

प्रितमको जवाफ थियो : मलाई १ सयवटा गाडी चाहिन्छ । ती गाडी ल्याउनका लागि सरकारले कर छुट दिनुपर्छ । ड्राइभरहरू मैले भारतबाटै ल्याउनुपर्छ । भारतीयलाई लाइन्सेन्स दिने व्यवस्था पनि तपाईंहरूले नै मिलाउनुपर्छ ।

विष्णुमणिले अर्का एक अञ्चलाधीशलाई भेटाइदिए, जसले कर छुट गर्ने कागजी प्रक्रिया मिलाए । नेपाल भित्रिने सयवटा गाडीमा नम्बर टाँस्ने जिम्मा प्रितमले पाएका थिए । बा. ५०० देखि बा. ६०० सम्मका नम्बर प्रयोग गर्ने अधिकार प्रितमलाई दिइएको थियो । यसमध्येबाट उनले १ सयवटा गाडीमा आफूले चाहेको नम्बर टाँसिदिन पाउँथे ।

प्रितमको हस्ताक्षर भएको एउटा कागज पनि तयार गरियो, जो त्यतिबेलाको लाइसेन्स थियो । ‘मेरो हस्ताक्षर भएका ती कागज देखाउनेलाई गाडी ल्याउन कुनै रोकतोक हुँदैनथ्यो,’ प्रितमले सम्झिए ।

हिउँदको समय भएकाले कास्मिरका सडकहरूमा हिउँ जमेको थियो । त्यहाँ काम नपाएर बसेका चालकलाई प्रितमले नेपाल बोलाए । सुरुमा एक सय गाडी ल्याउने भनिए पनि पछि यही प्रक्रियाबाट डेढ सय गाडी भित्र्याए ।

छोटो समयमै काठमाडौँमा चामल ढुवानी गरियो । अनिकाल टरेपछि राजा महेन्द्र निकै खुसी भए । उनले बक्सिस स्वरूप एक हजार रुपैयाँ र एउटा प्रमाणपत्र प्रितमलाई पठाए । यसपछि नेपालको राजदरबारसँग पनि उनको सम्बन्ध मजबुत बन्यो ।

‘पाँच सय भन्दा बढी ट्रक भित्र्याएँ’

एक दिन दरबार गएका बेला राजाले सोधे,  ‘मैले के गर्नुपर्छ ?’ प्रितमले यस्तो प्रश्नको अपेक्षा गरेका थिएनन् । राजाको प्रश्नमा उनलाई के भन्ने, के भन्ने भयो । उनको मुखबाट अनायसै निस्कियो — मेरो छोराको नागरिकता बनाइपाम् ।’

यतिबेला उनका छोरा मेहेन्दर पालसिंह केवल चार वर्षका थिए । राजाले ‘मुन्टो हल्लाए,’ छोराको नागरिकता बन्यो ।

‘राजाले नै हुकुम गरेपछि उमेर र प्रक्रियाको के कुरा ?’ प्रितमले सम्झिए ।

यसको केही वर्षपछि राजाकै आग्रहमा उनले अधिराजकुमारी शान्ति राज्यलक्ष्मी र उनका श्रीमान् बझाङ्गी राजा दीपक जङ्गबहादुर सिंहलाई अमरनाथसहित कास्मिरका विभिन्न ठाउँ घुमाए । ‘हामीबीच पारिवारिक सम्बन्ध बन्यो । अधिराजकुमारी शान्ति, उनकी बहिनी मेरो घरमा आउँथे, राजाले सिकार खेल्न जाँदा पनि मलाई लैजान थाले ।’

पहिलोपटक अत्यास मानेको काठमाडौँ प्रितमलाई मज्जाले फाप्यो । त्यसयता उनी यहीँ बसिरहेका छन् । यस बीचमा आफ्नो कम्पनी ‘नेपाल पब्लिक मोटर सर्भिस’मार्फत उनले काठमाडौँमा धेरै सरदारहरूलाई भित्र्याए ।

यसबीच धेरै चालक र सहचालक आफैँ मालिक बने । ‘कुनै समय ट्रक भन्नासाथ मानिसको दिमागमा सरदारको चित्र आउँथ्यो,’ उनले भने, ‘एक समय मेरा मात्र पाँच सयभन्दा धेरै गाडी थिए । मैले नै काठमाडौँ भित्र्याएका अन्य सरदारका गाडी समेत जोड्दा एक हजारभन्दा बढी थिए । सबै रुटमा हाम्रा गाडी थिए ।’

यस अवधिमा उनी आफैँले धेरै चालक र सहचालकलाई किस्ताबन्दीमा गाडी उपलब्ध गराइदिए । ‘त्यतिबेला ट्रकको मूल्य ३१ हजार २ सय भारु थियो । मैले आफ्ना चालकसँग २ सय लिएर बाँकी सबै पैसा किस्ताबन्दीमा तिर्नेगरी गाडी झिकाइदिएको थिएँ,’ उनले सम्झिए, ‘त्यतिबेला गाडी चलाउनेमध्ये ८० प्रतिशतभन्दा धेरै आफैँ मालिक बने । कतिपय त अहिले करोडपति छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप