आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
शरद गौचन हत्या प्रकरण

२ करोड ५० लाख रकम नदिएपछि भएको थियो गौचनको हत्या

गौचन हत्यामा कसको के थियो भूमिका ?
शुक्रबार, २२ असार २०८०, १० : ३४
शुक्रबार, २२ असार २०८०

काठमाडौँ ।  अन्ततः निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै काठमाडौं जिल्ला अदालतले ८ जनालाई कैद सजाय सुनाएको छ भने ७ जनालाई सफाइ दिएको छ । हत्यामा संलग्न भनी प्रहरीले प्रतिवादी बनाएका मनोज पुन भन्ने मनोज बुढामगर र बसन्त थेवेको मृत्यु भइसकेको छ भने हालसम्म फरार रहेका ७ जनाको हकमा अदालतले मुल्तवीमा राखेर जुनसुकै समय जाग्न सक्ने बनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले असार १२ गते ८ जना प्रतिवादीको हकमा कसुर ठहर गरेका थिए । त्यसको एक सातापछि असार २० गते सजाय निर्धारण गर्दै न्यायाधीश घिमिरेले हत्याको मुख्य योजनाकार रहेका भनिएका समिरमान सिंह बस्न्यात र काले भन्ने अम्बर बहादुर रानालाई जन्मकैदको फैसला सुनाएका छन् भने मुख्य सहयोगी रहेका लोप्साङ भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ ।

त्यसैगरी गौचनलाई मार्न पेस्तोल उपलब्ध गराउने समिरमानसिंह बस्न्यातकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

४ जनालाई जनही ५ वर्ष कैद सजाय

घटनामा संलग्नमध्ये ४ जनालाई ५ वर्षका दरले कैद सजाय गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले घटनामा संलग्न रहेकाहरु श्याम गुम्बे भन्ने श्याम बहादुर गुम्बी, काले दारी भन्ने रोशन बुढाथोकी, राजिव तामाङ भन्ने राजिव स्याङतान र धनराज योङहाङलाई जनही ५ वर्षको कैद सजाय सुनाएको छ ।

त्यस्तै हत्या संलग्न भए पनि मृत्यु भइसकेका भन्दै मनोज पुन भन्ने मनोज बुढामगर र बसन्त थेवेको हकमा केही गर्नु नपर्ने भन्दै मुद्दा खारेज गरिदिएको छ ।

७ जनाको मुद्दा मुल्तवीमा

घटनामा संलग्न भनी मुद्दा दायर भए पनि हालसम्म फरार रहेका ७ जनाको हकमा अदालतले मुद्दा मुल्तवीमा राख्ने आदेश दिएको छ । घटनामा संलग्न भनी मुद्दा दायर गरिएका भद्रपुर ४ झापाका गंगा प्रकाश लिम्बु, चौतारा १० सिन्धुपाल्चोकका अजय थापा, केराबारी ५ मोरङकी समिकला राई, लहान ७ सिराहाका प्रवेश नायब, मिक्लाजुङ–८ पाँचथरकी सुजा थक्सु वाजी, बिरगंज–९ पर्साका प्रदिप कुमार झा र लहान–७ सिरहाका सुधिर कुमार साहको हकमा उनीहरुको मुद्दा मुल्तवीमा राखिएको छ । उनीहरु पक्राउ परी नआएको र हालसम्म फरारकै सूचीमा रहेको कारण उनीहरुको हकमा थप प्रमाण बुझ्नुपर्ने र बयान लिनुपर्ने भएको कारण पक्राउ परेका बखत जाग्ने गरी उनीहरुको मुद्दा मुल्तवीमा राखिएको हो ।

७ जनाले पाए सफाइ

शरदकुमार गौचन हत्या प्रकरणमा प्रतिवादी बनाएकामध्ये ७ जनाले भने काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले समिरमानको भतिजा नागार्जुन ४ लामथुम्कीका प्रकाश बुढाथोकी, ठोरी ५, पर्साका सन्तोष गुरुङ, कालिकामाई १, पर्साका शिबजी महतो कमकर, मिक्लाजुङ ८ पाँचथरका सुर्य बहादुर वाजी, लहान ७, सिरहाका राज कुमार साह, लहान ७ सिरहाकै श्याम गुप्ता र भारत बिहारका मुकेश कुमार पाण्डेले भने अभियोग दाबीबाट सफाइ पाएका छन् । हत्या प्रकरणमा उनीहरुको भूमिका नपाइएको भन्दै सफाइ दिइएको हो ।

गौचन हत्या प्रकरणमा कसको के भूमिका ?

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगर नजिकैको प्रयागमार्गमा गोली हानी हत्या भएको थियो । अपरान्ह २ः५० बजे भएको हत्याको केही समयमै हत्यामा आफू संलग्न रहेको र गौचनले शेयरबापतको रकम नदिएको कारण उनको हत्या गरेको भन्दै लोप्साङ भन्ने सोम तामाङले जिम्मा लिएका थिए ।

काठमाडौं जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार कसुर ठहर भएकाहरुको हकमा यस्तो थियो उनीहरुको भूमिका :

१. समिरमान सिंह बस्न्यात : प्रमुख योजनाकार

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणको मुख्य योजनाकार आफैँ रहेको समिरमान सिंह बस्न्यातले दिएको बयानमा उल्लेख छ । आफू र आफ्ना मितसमेत रहेका कुमार घैंटेले गौचनको कन्स्ट्रक्सन कम्पनीमा अदृश्यरुपमा लगानी गरेको तर लगानी गरेको रकम फिर्ता नगरेका कारण आफैँले हत्या गर्न लगाएको उनले बयानमा स्वीकार गरेका छन् ।

बस्न्यातले दिएको बयानमा आफूले आफ्नो सहयोगी लोप्साङ लामा भन्ने सोम तामाङमार्फत् गौचनको हत्या गर्न लगाएको बताएका छन् ।

अधिकारप्राप्त अधिकारीसमक्ष बस्न्यातले गरेको बयानको केही अंश यस्तो छ 

‘.... निज शरदकुमार गौचनलाई मैले कुमार घैंटे भन्ने कुमार श्रेष्ठ मार्फत बिगत १०–११ वर्ष अगाडिदेखि चिनेको हुँ । काठमाडौंमा बस्ने क्रममा मेरो साथीभाइको हिसाबले गुण्डागर्दीको काम गर्दाको समयमा निज कुमार घैंटेसँग मेरो चिनजान भएको हो । निज शरदकुमार गौचनसँग मैले र कुमार घैंटेले ठेक्कापट्टाको कामको सिलसिलामा चिनजान भएको हो ।’

‘... मैले र हाल मृतक कुमार घैंटेसमेत भई काठमाडौं तथा काठमाडौं बाहिर जिल्लाका सडक निर्माण गर्नेदेखि लिएर अन्य ठेक्कापट्टा सम्बन्धीको काम हेर्दे आएका थियौँ । कुमार घैंटेमार्फत नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनसँग चिनजान भइसकेपछि निज शरदकुमार गौचनले सञ्चालन गर्र्दे आएको का.जि. शान्तिनगरस्थित डाँफे कन्स्ट्रक्सन कम्पनी प्रा.लि.मा हामीले अ ५–६ वर्ष अगाडि २५ प्रतिशत शेयर लगानी गरेका थियौँ । शेयर लगानी बापतको रकम मेरो रु १ करोड रुपैयाँ र कुमार घैंटेको रु १ करोड ५० लाख रुपैयाँ गरी रु २ करोड ५० लाख रुपैयाँ हामीले शरदकुमार गौचनबाट लिनुपर्ने थियो । कुमार घैंटे मारिएपछि म पनि डराएर नेपाल छाडी भारततर्फ गई सुरुमा हप्ता दिन नयाँदिल्ली, १ वर्ष जति भारतको गोवामा, ९–१० महिना भारतको हिमाञ्चल प्रदेशको मनाली भन्ने ठाउँमा लुकी बस्दै आएको थिएँ । समय समयमा मैले शरदकुमार गौचनलाई फोन गरी उक्त रकमको साँवाब्याज समेत माग गर्दै आएकोमा रकम नदिने जस्तो व्यवहार शरदकुमार गौचनले गरिसकेपछि मैले मेरो विश्वास पात्र लोप्साङ लामालाई शरदकुमार गौचनसँग मैले रु १ करोड रुपैयाँ र कुमार घैंटेको रु १ करोड ५० लाख रुपैयाँ गरी रु २ करोड ५० लाख रुपैयाँ लिनुपर्ने रकम छ, रकम दिन मानेको छैन, रकम उठाउन प¥यो, त्यसको लागि जे जो गर्नु पर्ने हो सबै थोक गर्नु भनि मैले २०७४ सालको श्रावण महिनातिर आदेश र बचन दिएको हुँ । सो पश्चात निज लोप्साङ लामाले शरदकुमार गौचनलाई गोली हानी हत्या गरी ठीक पारी दिएँ भनि घटना लगत्तै मलाई फोन गरी कुरा गरेका थिए ।’

समिरमान सिंह मुख्य योजनाकार हुन् भन्ने कुरा पछि पक्राउ परेका लोप्साङ भन्ने सोम तामाङले दिएको बयान, श्याम गुम्बे भन्ने श्याम बहादुर गुम्बे, काले भन्ने अम्बर बहादुर राना, काले, दाह्री भन्ने रोशन बुढाथोकी, राजिव स्याङतान र धनराज योङहाङको बयानबाट पुष्टी भएपछि अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

  २. काले भन्ने अम्बर बहादुर राना : सहायक योजनाकार, गोली प्रहार गर्ने व्यक्ति

गौचनको हत्या प्रकरणमा बस्न्यातको मुख्य सहयोगी र सहायक योजनाकारसमेत रहेका व्यक्ति हुन् काले भन्ने अम्बर बहादुर राना । शान्तिनगर क्षेत्रमा रेकी गर्ने, त्यहाँ बस्नेहरुको व्यवस्था गर्ने र गोली हान्ने व्यक्तिसमेत उनै अम्बर बहादुर राना हुन् । काठमाडौं जिल्ला अदालतले उनलाई पनि जन्मकैदकै फैसला सुनाएको छ । गौचनलाई गोली हान्नेमध्येका एक राजीव स्याङ्तानले गरेको बयानमा अम्बरको भूमिकाबारे यसरी खुलाएका थिए ।

बयानमा राजीवले भनेका थिए,

‘.... गाडी आएको इशारा गर्दै बोकाको गेडा भन्ने गंगा लिङदेनको मोबाइल फोनमा फोन आउनासाथ हामीहरु आ–आफ्नो स्थानमा रहेको अवस्थामा केही समयमै बा १३ च ४९४८ नम्बरको गाडी तलतिर पार्किङस्थलमा शरदकुमार गौचनको घरतर्फबाट माथि प्रयागमार्ग चोक अलिकति उकालो भएको स्थानमा आउँदै गरेको बोकाको गेडा भन्ने गंगा लिङदेनले चोकमा गाडी आउनासाथ सो गाडीको ड्राइभर बस्ने सिट अगाडि सिसामा इँट्टाले एक पटक हान्नासाथ ड्राइभरले गाडी रोकी बाहिर निस्के, सो बेला सुरुमा नजिकैबाट काले भन्ने अम्मर बहादुर रानाले र मैले पेस्तोल कक गरी १–१ राउन्ड गोली नजिकैबाट शरदकुमार गौचनलाई सटाएर गोली हानी सकेपछि मोटरसाइकल श्याम गुम्बेले स्टार्ट अवस्थामा राखेका थिए, निजको मोटर साइकल चढी सिनामंगल हुँदै म र श्याम गुम्बे भाग्यौँ । अर्का काले भन्ने अम्मर बहादुर राना र रोशन बुढाथोकी पनि त्यसैगरी मोटरसाइकल चढी हामी भागेको स्थान हुँदै आएका थिए ।’

३. लोप्साङ लामा भन्ने सोम तामाङ : सहायक योजनाकार, हत्याको जिम्मा लिने व्यक्ति

शरदकुमार गौचनको हत्या भएको समयमा गोली प्रहार गर्ने कार्यमा प्रत्यक्ष नजोडिए पनि योजना बनाउने, व्यक्ति परिचालन गर्ने र पछि हत्याको जिम्मा लिने व्यक्ति हुन् लोप्साङ लामा भन्ने सोम तामाङ । हत्याको एक घण्टापछि तत्कालीन महानगरीय अपराध महाशाखाका एसएसपी रविन्द्र बहादुर धानुकलाई सम्पर्क गरी हत्याको जिम्मा लिएका थिए ।

लोप्साङले त्यसअघि रुपन्देहीका युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्याको समेत जिम्मा लिएका थिए । उनकै समूहले तिवारीको हत्या गरेको र योजनावद्ध हत्या भएको प्रहरीको निष्कर्ष छ । लोप्साङलाई काठमाडौं जिल्ला अदालतले १५ वर्षको कैद सजाय सुनाएको छ ।

४. माया शेरचन : सहायक योजनाकार, हतियार उपलब्ध गराउने व्यक्ति

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा अदालतले १० वर्षको कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना तोकिएकी व्यक्ति हुन् माया शेरचन । मुख्य योजनाकार रहेका समिरमान सिंह बस्न्यातकी श्रीमतीसमेत रहेकी मायाले उक्त हत्याकाण्डको योजना बनाएको र गौचनलाई मार्नका लागि अम्बर बहादुर रानालाई पेस्तोल उपलब्ध गराएकी थिइन् । मायाले बयानका क्रममा इन्कारी बयान दिए पनि पक्राउ परेका अम्बर बहादुर लामा, गुम्बे लगायतको बयानको आधारमा मायाले पेस्तोल उपलब्ध गराएको पाइएपछि प्रहरीले पूरक अभियोगमार्फत् मायाविरुद्ध मुद्दा चलाएको थियो ।

५. राजिव स्याङतान : गोली हान्ने व्यक्ति

शरद गौचन हत्या प्रकरणमा गोली हान्ने व्यक्तिमध्ये एकजना नुवाकोटका राजीव स्याङतान पनि हुन् । उनी आफैँले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा आफू र अम्बर बहादुर रानाले गोली हानी हत्या गरेको बयान दिएका छन् । स्याङतानले लामो समय रेकी गरी हत्या गर्ने उद्देश्यले नै योजना बनाई गोली हानी हत्या गरेको तर हत्याको कारणबारे थाहा नभएको बताएका छन् । उनलाई राम्रो रकम दिने भनेर हत्या गरिएको राजीवकै बयानमा उल्लेख छ ।

६. श्याम बहादुर गुम्बी : मतियार

शरद गौचन हत्या प्रकरणमा संलग्नमध्ये श्याम गुम्बे भन्ने श्याम बहादुर गुम्बी हत्याको समयमा रेकी गर्ने, हत्या प्रकरणमा प्रत्यक्ष संलग्न हुने, अन्य प्रतिवादीहरुलाई खबर गर्ने र पछि पेस्तोल लुकाउने लगायतको काम गर्ने व्यक्ति हुन् । प्रतिवादीमध्येका राजीव स्याङतानले गोली हानी हत्या गरेपछि राजीवलाई मोटरसाइकलमा लिएर भाग्नमा गुम्बेले सहयोग गरेका थिए । उनलाई अदालतले ५ वर्षको कैद सजाय सुनाएको छ ।

७. रोशन बुढाथोकी : मतियार

शरदकुमार गौचनको हत्या प्रकरणमा ५ वर्षको कैद सजाय सुनाइएका प्रतिवादी रोशन बुढाथोकी पनि हत्या प्रकरणमा प्रत्यक्ष जोडिएका व्यक्ति हुन् । गौचनको हत्या गर्न रेकी गर्ने, व्यक्तिहरु जुटाउने, योजना बनाउने र हत्यापश्चात् सुटर काले भन्ने अम्बर बहादुर रानालाई मोटरसाइकलमा राखी सुरक्षित स्थानमा लैजाने व्यक्ति हुन् काले, दाह्री भन्ने रोशन बुढाथोकी । अम्बरले गौचनलाई गोली हानेपछि आफ्नो मोटरसाइकलमा राखी भगाउने काममा रोशनको संलग्नता रहेको राजीवको बयानमा उल्लेख छ ।

राजीवले बयानमा भनेका छन्;

‘... गंगा लिङदेनले चोकमा गाडी आउनासाथ सो गाडीको ड्राइभर बस्ने सिट अगाडि सिसामा इँट्टाले एक पटक हान्नासाथ ड्राइभरले गाडी रोकी बाहिर निस्के, सो बेला सुरुमा नजिकैबाट काले भन्ने अम्मर बहादुर रानाले र मैले पेस्तोल कक गरी मैले १–१ राउन्ड गोली नजिकैबाट शरदकुमार गौचनलाई सटाएर गोली हानी सकेपछि मोटरसाइकल श्याम गुम्बेले स्टार्ट अवस्थामा राखेका थिए, निजको मोटरसाइकल चढी सिनामंगल हुँदै म र श्याम गुम्बे भाग्यौँ । अर्का काले भन्ने अम्मर बहादुर राना र रोशन बुढाथोकी पनि त्यसैगरी मोटरसाइकल चढी हामी भागेको स्थान हुँदै आएका थिए ।’

८. धनराज योङहाङ : मतियार

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या प्रकरणमा जोडिएका धनराज योङहाङ पनि मतियार हुन् । हत्याको योजनामा सामेल हुँदै रेकी गर्ने र सुटरहरुलाई खबर गर्ने काम धनराजले गरेका थिए । सुरुमा धनराजलाई अपराधमा सामेल गराउँदा काले भन्ने अम्बर गुरुङ र गंगा लिङ्देनले गौचनले पैसा नदिएको कारण तर्साउन मात्रै खोजेको भनी योनामा सामेल गराएको धनराजको दाबी छ । तर पछि लिङ्देनले नै अब उडाउने हो भनी गोली हानी हत्या गर्ने योजना बनाएको र त्यस योजनाबारे हत्यापूर्व नै आफूलाई थाहा भएको धनराजले आफ्नो बयानमा स्वीकार गरेका छन् ।

धनराजले आफ्नो बयानमा भनेका छन्;

‘... करिब पौने ३ बजेतिर उक्त गाडी पार्किङ गरेको स्थानबाट डाइभरले उक्त बा १३ च ४९४८ नम्बरको शरदकुमार गौचन सवार गर्ने गाडी ब्याक गरी शरदकुमार गौचन आफ्नो घरबाट हिँडी आउने सडक किनारामा ल्याई ड्राइभरले राखे पश्चात गाडीमा शरदकुमार गौचन चढी माथि प्रयागमार्ग चोकतर्फ जान लागेको अवस्थामा मलाई गंगा लिङदेनले दिएको ९८२४...... नम्बरको मोबाइल फोनबाट मलाई फोन गर्नु भनेको गंगा लिङ्देनले बोकेको साथमा रहेको ९८२६...... नम्बरको मोबाइल फोनमा फोन गरी सकेपछि फोन उठाई काटेपश्चात मैले यतातिर नआउनु होला, उतैतिर बाट जानु होला मैले गंगा लिङदेनलाई फोन गरीसकेँ भनि बसन्त थेवेले मलाई गंगा लिङदेनले दिएको मोबाइल फोन नम्बरमा फोन गरी जानकारी गराएको केही समयमै गोली हानेको आवाज आयो । म सो स्थानबाट आफनो मोटरसाइकल चढी का.जि.सिनामंगल धराने गेस्ट हाउस हुँदै चाबहिल चोकतर्फ निस्कने बागमती पुल नजिक पुगेपछि मलाई गंगा लिङ्देनले काम भई सकेपछि मोबाइल फोन चाहीँ खोलामा फाल्नु भनि अगाडि भनेको हुँदा गंगा लिङदेनले मलाई दिएको ९८२४...... नम्बरको सिमकार्ड सहितको मोबाइल फोन मैले बागमती खोलामा फाली आफ्नो डेराकोठातिर लागेँ ।’

अपराध महाशाखा र सीआइबीले गरेको थियो अपरेशन

शरदकुमार गौचनको हत्यापछि प्रहरीका सबै निकाय अग्रसर भएर समिरमान सिंह बस्न्यातको समूहलाई पक्राउ गर्न परिचालित भएको थियो । तत्कालीन समयमा सीआइबीमा रहेका डीएसपी अङ्गुर जिसीको टोलीले राजीव स्याङतानलाई नुवाकोटबाट पक्राउ गरेपछि खुलेको पोलका आधारमा हत्यामा संलग्नहरुको खोजी गर्न प्रहरीको टोली भारतको गोवासम्म पुगेको थियो ।

तत्कालीन समयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा रहेका इन्सपेक्टर रुगम बहादुर कुँवर र गोविन्द थापा (हाल दुवैजना डीएसपी) समिरमान सिंह बस्नेतको खोजीमा मुम्बई गोवा लगायतको क्षेत्रमा पुगेको थियो । तर गोवा पुगेर पक्राउ हुनै लाग्दा नेपालबाट केही प्रहरीकै कर्मचारीले सूचना चुहाइदिएपछि समिरमानको समूहमा रहेका लोप्साङ लगायतका व्यक्तिहरु त्यहाँबाट भागेर मुम्बई आएका थिए । त्यहाँसम्म पछ्याएको प्रहरीलाई नै चक्मा दिएर उनीहरु त्यहाँबाट फेरि भागेर अन्यत्र पुगेका थिए । करिब एक महिना भारतको विभिन्न स्थानमा खोजी तथा अनुसन्धान गरी प्रहरीको टोली नेपाल फर्किएको थियो । तर पिछा गरिरहेको प्रहरीको टोलीले बस्न्यातलाई पुनः भारत गएर दिल्लीबाट पक्राउ गरेको थियो । त्यहीँबाट प्रहरीले बस्न्यातलाई नेपाल ल्याएको थियो ।

त्यसको केही समयमा मनोज पुन भन्ने मनोज बुढामगर र सोम आलेलाई रुपन्देहीमा प्रहरीले इन्काउण्टर गरेको थियो । प्रहरीकै खोजी सूचीमा रहेका श्याम गुम्बे भन्ने श्याम बहादुर गुम्बीलाई डीएसपी अंगुर जिसीको टोलीले चितवनको गीतानगरबाट पक्राउ गरेको थियो ।

यता सहायक योजनाकार लोप्साङ भन्ने सोम तामाङ, काले भन्ने अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई अपराध महाशाखाका डीएसपी अनिल घिमिरेको टोलीले भारतको दार्जिलिङबाट पक्राउ गरी ल्याएको थियो ।

यसरी निर्माण व्यवसायी हत्या प्रकरणमा काठमाडौं जिल्ला अदालतमा चलेको २४ जना प्रतिवादी भएको करिब ६ वर्ष पुरानो मुद्दामा असार २० गते बुधबार ८ जना प्रतिवादीहरुलाई सजाय निर्धारण भएको हो । दुई जनाको मृत्यु भइसकेको हकमा उनीहरुको मुद्दा खारेज गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप