सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रोग, अन्धविश्वास वा अरू केही... जब ४०० व्यक्तिको नाच्दा नाच्दै मृत्यु भयो

शुक्रबार, २२ असार २०८०, १३ : १९
शुक्रबार, २२ असार २०८०

आजभन्दा ५०५ वर्ष अघि अर्थात् १५१८ मा फ्रान्सको स्टार्सबर्ग सहरमा एउटा यस्तो अचम्मको घटना घटित भयो जसले धेरैलाई चिन्तामा पारेको थियो । एक अज्ञात रोगका कारण शहरका केही मानिस आफ्नो घरबाट बाहिर निस्किएर नाच्न सुरु गरे । उनीहरू त्यति बेलासम्म नाचिरहे जबसम्म उनीहरूको शरीरले काम गर्न बन्द गरिदियो अथवा उनीहरूको मृत्यु भएन ।

यसरी मानिसहरू मर्ने सिलसिला केही दिनसम्म चलिरह्यो । तर यो रोग फैलनुको कारण आजसम्म पत्ता लाग्न सकेको छैन । त्यो घटना के थियो भन्नेबारे विस्तारपूर्वक जानकारी लिऔँ ।

मिति १४ जुलाई १५१८ । जब फ्रान्सको स्टार्सबर्गमा बस्ने फ्राउ ट्रफिया नामकी एक महिला अचानक आफ्नो घरबाट बाहिर निस्किएर नाच्न थालिन् । अचम्मको कुरा के थियो भने यी महिला नाचिरहेका बेला न त्यहाँ कुनै गीत बजिरहेको थियो न कसैले गाइरहेका थिए । महिला आफ्नै सुरमा नाचिरहेकी थिइन् ।

अर्को अचम्मको कुरा भनेको नाच्ने बेला फ्राउको अनुहारमा कुनै भाव थिएन । न त उनी हाँसिरहेकी थिइन् न रोइरहेकी । उनी बेहोस जस्तो भएर नाचिरहेकी थिइन् । त्यति बेला फ्राउलाई हेर्न धेरै मानिस घरबाट बाहिर निस्किए । उनीहरू चकित परेर उनी नाचिरहेको हेरिरहेका थिए । धेरै मानिसले फ्राउ नशामा होलिन् भन्ने सोचे, कतिले उनले मानसिक सन्तुलन त गुमाइनन् भनेर पनि सोच्न थाले ।

यद्यपि, कसैले पनि उनी नाच्नुको कारण भने बुझ्न सकेनन् । फ्राउका श्रीमानले उनलाई रोक्ने कोसिस गरे । तर उनले कसैको केही सुनिनन्, निरन्तर नाचिरहिन् । फ्राउ बिहानदेखि नाच्न सुरु गरेकी थिइन् । बेलुका भयो, तर उनी रोकिइनन् । उनको शरीरका धेरै अङ्ग सुन्निएका थिए तर पनि उनी नाचिरहेकी थिइन् । त्यसपछि अचानक उनी बेहास भएर ढलिन् । श्रीमानले उनलाई उठाएर घर भित्र लगे । 

तर त्यसको भोलिपल्ट बिहानै देखि उनले पुनः नाच्न सुरु गरिन् । केही खानपिन छैन । निरन्तर नाचिरहिन् । यसरी नाच्दा नाच्दै उनले तीन दिन बिताइन् । अब उनका श्रीमानलाई चिन्ता हुन थाल्यो । उपचारका लागि अस्पताल लगे । उता फ्राउ झैँ अन्य ३४ जना पनि अचानक नाच्न सुरु गरिरहेका थिए । त्यसपछि यो रोगलाई ‘डान्सिङ प्लेग’ नाम दिइयो । 

dancing plague1यो रोगका कारण धेरैको मृत्यु

बीबीसीको रिपोर्ट अनुसार अगस्ट महिनासम्म नाच्नेको सङ्ख्या सय पार भयो । यसलाई एक प्रकारको सङ्क्रमण बताइयो । यो अवस्थामा मानिस नाच्न थाल्छन् र त्यति बेलासम्म रोकिँदैनन् जबसम्म उनीहरूको मृत्यु हुँदैन । यसका बिरामी लगातार बढिरहेका थिए । यसले धेरैलाई गम्भीर बिरामी बनाइरहेको थियो कतिको त मृत्युसमेत भयो ।

यो समस्याका कारण १५ जनाको मृत्यु भएपछि प्रशासनले यसलाई गम्भीरताका साथ लिन सुरु गरे । पहिला त डाक्टरलाई यो कुनै प्राकृतिक रोग भन्ने लाग्यो । शरीरमा रगतको तापक्रम बढ्दा यस्तो भइरहेको थियो । डाक्टरले त आफ्नो सिद्धान्त बताइसकेको थियो तर नाच्नेहरूको सङ्ख्या यति बढ्दै गइरहेको थियो कि एक–एकलाई निको पार्न मुस्किल भइरहेको थियो ।

dancing plague2रोकिएन मृत्युको सिलसिला

यस्तोमा डाक्टरले मानिसलाई यसरी नै नाच्न दिइयोस् भनेर सुझाव दिए । उनीहरूको शरीरको तापक्रम कम हुँदा उनीहरू आफै नाच्न बन्द गर्ने बताइयो । यी बिरामीका लागि भिन्न व्यवस्था पनि मिलाइयो । एउटा खाली स्थानलाई नाच्ने ठाउँ बनाइयो । बिरामीसँग नाच्न केही डान्सर पनि राखियो । तर यसले कुनै फाइदा पुगेन किनभने मृत्यु हुनेको सङ्ख्या बढ्न थाल्यो ।

न्युयोर्क पोस्टका अनुसार केही मानिसले यो घटनालाई अन्धविश्वाससँग जोडेर हेर्न सुरु गरे । यस्तो सेन्ट भाइटसको श्रापका कारण भइरहेको थियो भनेर धेरैले भन्न थाले । खासमा थुप्रै दशकअघि सेन्ट भाइटस नामका एक सन्त थिए जसलाई फ्रान्सका मानिसले धेरै मान्ने गर्थे । सेन्ट भाइटसले नाचेर गाएर नै भित्री रोग निको पार्थे भन्ने मान्यता थियो । 

मानिसले यो रोग निको पार्ने अर्को एउटा तरिकाको खोजी गरे । उनीहरुले नाचिरहेका मानिसलाई सेन्ट भाइटसको प्रार्थना स्थलमा लैजान थाले । उनीहरूको हातमा क्रस दिएर नाच्न लगाइयो । साथै, उनीहरूमाथि होली वाटर (पवित्र जल) छर्किन पनि थालियो । यसलाई अन्धविश्वास भन्ने कि के, यसले धेरैलाई फरक पनि पार्‍यो । धेरै मानिस निको पनि भए । यद्यपि, कतिलाई भने यो प्रक्रिया नअपनाउँदा पनि ठिक भयो ।

dancing plague3वैज्ञानिकको सिद्धान्त बाहिरियो

यो रोग दुई महिनासम्म देखियो । चार सय जनाले यसका कारण ज्यान गुमाउनुपर्‍यो । तर त्यति बेलादेखि अहिलेसम्म धेरै वैज्ञानिकले यसमा आफ्नो सिद्धान्त प्रस्तुत गरिसकेका छन् । वैज्ञानिकको मान्यता अनुसार यो रोग Ergot Fungi Toxic  र  Carcinogenic Reaction का कारण भएको थियो । अर्थात्, यो रोग फुड पोइजनिङका कारण भएको थियो । वास्तवमा Ergot Fungi गहुँ र मकैजस्ता अन्नमा हुन्छ ।

यस्तो खालको फङ्गस मस्तिष्कमा गएर ड्रग्सले झैँ काम गर्छ जसका कारण मानिस भित्र हेलुसिनेसन (भ्रम) को स्थिति बन्ने गर्छ । उनीहरुले आफूलाई नियन्त्रण गर्न सक्दैनन् । यस्तोमा बिरामीको शरीरले पनि प्रतिक्रिया गर्छ । यद्यपि, यो सिद्धान्तलाई चर्चित लेखक जोन वालरले पूर्ण रूपमा गलत बताए । उनका अनुसार जुन इलाकामा यो घटना घटित भयो, त्यहाँका मानिस अत्यधिक अन्धविश्वास थिए ।

dancing plague4त्यस ताका त्यहाँका मानिस लामो समयदेखि भोकमरी र खडेरीसँग जुधिरहेका थिए त्यसैले उनीहरूलाई एक मानसिक विकारले घेरेको थियो । त्यसैले उनीहरुले यस्तो व्यवहार गर्थे जसबारे उनीहरू आफैँलाई पनि थाहा हुँदैनथ्यो । स्मरण रहोस्, जोनले यसबारे एउटा किताब पनि लेखेका छन् जसको नाम A Time To Dance A Time Time To Die  हो । यस्तै, यसमा उनले अर्को एउटा किताब पनि लेखेका छन् जसको नाम The Dancing Plague: The Strange, True Story of an Extraordinary Illness हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप