शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
१० औँ राष्ट्रिय खेलकुद

केन्द्रको उपेक्षाबीच कर्णाली रंगशालाको भौतिक प्रगति ६० प्रतिशत

आइतबार, २४ असार २०८०, १२ : ५७
आइतबार, २४ असार २०८०

सुर्खेत । ०८१ मंसिरमा कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिएपनि केन्द्र सरकारले कर्णालीलाई उपेक्षामा पारेको छ । प्रतियोगिताको मिति तोकिइसक्दा समेत केन्द्र सरकारले कर्णालीको खेलकुदलाई समेटेन भने अन्य पूर्वाधारको लागि बजेटको समेत व्यवस्था गरेको छैन । अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्ले समेत कुनै चासो नदिएको प्रदेश खेलकुद विकास परिषद्को गुनासो छ । यद्यपि प्रदेश सरकारले भने आफ्नो प्रयास जारी राखेको छ । 

प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाको अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । चालु आर्थिक वर्षमा भएको गतिविधि सार्वजनिक गर्दै परिषद्ले वित्तीय प्रगति ४६ प्रतिशत गरेको जानकारी दिएको छ भने हालसम्म रंगशालामा दर्शक प्याराफिटमा ४ हजार कुर्सीको जडान कार्य सम्पन्न भएको छ । यस्तै भीआईपीतर्फको प्याराफिटमा निर्माण कार्यको अन्तिम चरणमा रहेको परिषद्को भनाई छ भने  फिनिसिङ र छाना निर्माण कार्य भने बाँकी रहेको छ । 

यस्तै, रंगशालमा पौडीपोखरी, व्यावसायिक सटर गेट निर्माण कार्यको सिभिल स्ट्रक्चर कार्यको अन्तिम चरण तथा फुटबल मैदानमा दुबो लगाई स्तरवृद्धिको काम भइरहेको छ ।  यसैगरी एथलेटिक्स ट्रयाकको सब बेस र नाली निर्माण सम्पन्न भई रुख रोप्ने र हरियाली गर्ने कार्य जारी छ । 

निर्माणाधीन रंगशालाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै अगाडी बढेको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । अहिलेसम्म रंगशालामा ६५ करोड ८५ लाख रकम खर्च भएको परिषद्ले जनाएको छ । तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले २० मंसिर ०७८ मा रंगशालाको शिलान्याश गरेका थिए । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत रहेको रंगशाला निर्माणको जिम्मा पाएको एमएसी–जिएसएल कम्पनीले पनि तोकिएको समयमै रंगशालान सम्पन्न गर्ने दाबी गरेको  छ । ०८१ जेठ ११ गते भित्र रंगशाला निर्माण सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ । अत्याधुनिक प्रविधिको प्रयोगमा निर्माण भइरहेको रंगशालामा १० हजार दर्शक अट्ने क्षमताको बनाइँदैछ । 

परिषद्का सदस्य सचिव सञ्ज्यालले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइरहेको बताए । 

karnali stadium (1)

केन्द्रबाट उपेक्षामा, आवाश्यक बजेट अभाव

सञ्ज्यालले प्रदेश सरकारले छुट्याएको बजेट, पूर्वाधार निर्माण र १० औँ राष्ट्रिय खेलकुदका लागि खेलाडी तयार गर्नका लागि बजेट अभाव रहेको बताए ।

परिषद्को १३ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले २ अंकको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीको लागि कर्णालीका खेलहरूलाई (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।  (क) श्रेणीमा एथलेटिक्स, उसु, आइटिफ, कराँते र तेक्वान्दो गरी ५ वटा रहेका छन् भने (ख) श्रेणीमा ७ वटा वक्सीङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डबल र बास्केटवल रहेका छन् । यस्तै (ग) श्रेणीमा १० वटा (कबडी,  क्रिकेट, खोखो, व्याडमिन्टन, भलिबल, भारोतलोन, फुटबल, सुटिङ। सेपाताको र पौडी खेल रहेका छन् । यद्यपि सबै तयारीका लागि बजेट पुग्दो छैन ।

karnali stadium (2)

प्रदेश सरकारले आगामी वर्ष प्रदेश खेलकूद अन्तर्गत चालुतर्फ ८ करोड ३२ लाख ७६ हजार र पुँजीगत तर्फ ९१ करोड ८० लाख गरी जम्मा १ अर्ब १९ लाख ७६ हजार विनियोजन गरेको छ । जसमा निर्माणाधीन प्रदेश रंगशालाको निर्माणका लागि ८५ करोड छ । हुम्ला हक्की खेल मैदान निर्माणका लागि ५० लाख, कालीकोटमा कबर्ड हल निर्माणका लागि ३० लाख, दशौँ राष्ट्रिय खेलकुद लक्षित विभिन्न खेल मैदान मर्मत सुधारका लागि २ करोड, चिसापानि खेल मैदान निर्माण सुर्खेतका लागि २४ लाख बजेट विनियोजन गरिएको छ ।

सुर्खेतमा रहेको मैनतडा खेल पूर्वाधार निर्माणका लागि १८ लाख, चौरहजारी क्रिकेट मैदान निर्माण रुकुम पश्चिममा ६० लाख, कालिन्चोक खेल मैदान निमार्ण सुर्खेतमा २५ लाख, जिल्ला स्तरीय खेलकुद मैदान निर्माणमा २ करोड, कुदु रंगशाला निर्माण जाजरकोटमा १५ लाख, दशाँै राष्ट्रिय खेलकुद तयारीका लागि ७० लाख, प्रदेश स्तरिय तयारी तथा प्रशिक्षणको लागि ४ करोड ७० लाख र मुख्यमन्त्री कप जिल्ला र प्रदेश स्तरमाका लागि १ करोड १० लाख बजेट विनियोजन गरिएको छ । यद्यपि यो बजेट न्यून रहेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । ‘यति ठुलो संरचना बन्दै छ, प्रतियोगिता आयोजना गर्ने भनिएको छ तर, केन्द्रबाट अहिलेसम्म कुनै सहयोग भएको छैन,’ उनी भन्छन्,‘ प्रदेश सरकारले सक्दो प्रयास गरेपनि बजेट अभाव नै छ ।’ 

karnali stadium (3)

चालु आवमा कर्णालीको उपलब्धि 

चालु आवमा कर्णालीले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शनी गरेको छ । ०७९, २८ असोज–कार्तिक ३ गतेसम्म पोखरलामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद २०७९ असोज २८ देखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनौटको लागी जम्मा एक हजार दुई सय ३६ जना खेलाडी सहभागि भएका थिए । कर्णाली प्रदेशबाट ३० वटा खेलमा ५ सय ४ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा कर्णाली प्रदेशले २ वटा स्वर्ण पदक, ४ रजत र १२ कास्य गरी जम्मा १८ वटा पदक प्राप्त गर्ने र प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागिता अन्तर्गत दुई करोड ५० लाख खर्च भएको छ ।

वैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौंमा सञ्चालन भएको केन्द्रीय १३ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले मधेस प्रदेश र गण्डकी प्रदेशलाई पछाडि पार्दै ४ स्वर्ण पदक, ३ रजत पदक र १० कास्यसहित जम्मा १७ वटा पदक प्राप्त गरी ५ औँ स्थान हासिल गरेको थियो । 

प्रतियोगिताको सञ्चालन, प्रशिक्षण र सहभागितामा ७० लाख खर्च भएको खेलकुद परिषद्ले जनाएको छ । यस्तै खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तराष्ट्रिय स्तरका पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार स्वरुप २७ लाख ५५ हजार खर्च भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप