बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पब्जी खेल्दा खेल्दै प्रेम : नेपाल हुँदै प्रेमीसँग विवाह गर्न भारत पुगिन् पाकिस्तानी महिला

आइतबार, २४ असार २०८०, २१ : ५३
आइतबार, २४ असार २०८०

काठमाडौँ । पाकिस्तानबाट नेपाल हुँदै भागेकी पाकिस्तानी नागरिक सीमा हैदरलाई भेट्न पाकिस्तानले कन्सुलर पहुँच मागेको छ । सीमा गुलाम हैदर आफ्ना प्रेमी सचिन मीनालाई भेट्न नेपाल हुँदै चार सन्तानसहित अवैध रूपमा भारत पुगेकी थिइन् । 

भारतमा प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको थियो । सीमा र उनको पति सचिन मीणाले शुक्रबार जमानत पाएका छन् । उता दुबईमा बस्ने सीमाका पाकिस्तानी श्रीमान् गुलाम हैदरले आफ्नी श्रीमती र छोराछोरीलाई फिर्ता ल्याउन पाकिस्तान सरकारसँग अपिल गरेका छन् । यसैबीच भारतमा मिडियासँग कुरा गर्दै सीमाले आफू सचिनसँग मात्रै बस्न चाहेको बताएकी छन् । 

सन् २०१९ मा अनलाइन पब्जी गेम खेल्दै गर्दा सीमा ग्रेटर नोएडाको रबुपुरा निवासी सचिन मीणासँग प्रेममा परेकी थिइन् । तर प्रेमको बीचमा परिवार मात्र होइन दुई देशको सीमाना पनि कोरिएको थियो । 

सीमा पाकिस्तानको त्यो क्षेत्रबाट आएकी हुन् जहाँ केटीहरूले प्रायः आफ्नो प्रेम व्यक्त गर्दैनन्। खुलेर प्रेम व्यक्त गरेको आरोपमा त्यहाँ हरेक वर्ष दर्जनौं युवतीको हत्या हुने गरेको छ । तर सीमाले आफ्नो प्रेम मात्र व्यक्त गरिनन्, उनले आफ्नो पति गुलाम हैदरलाई छोडेर भारतमा आफ्नो प्रेमीसँग बस्ने निर्णय गरिन् र एक बिहान कठिनाइले भरिएको यात्रामा निस्किइन् ।

भारतको भिसा नपाएकाले नेपालको भिसा लिएको प्रहरीलाई सीमा हैदरले बताएकी छन् । उनी शारजाह हुँदै मार्च १० तारिख नेपाल आएकी थिइन् । त्यहाँ सचिन पनि उनलाई भेट्न आएका थिए । दुवैले काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा रहेको न्यू विनायक होटलमा कोठा लिएर सात दिन बसे । यसपछि सीमा गुलाम हैदर पाकिस्तान फर्किइन् । 

त्यसको दुई महिनापछि उनी फेरि पर्यटक भिसा लिएर नेपाल आइन् । यसपटक सीमासँग उनका चार सन्तान पनि थिए । तर सचिन भारतमा मात्रै थिए । एफआइआरमा उल्लेख भएअनुसार सीमाले भनेकी छन्, ‘म काठमाडौंबाट मेरा चार छोराछोरी लिएर माइक्रोमा पोखरा आएकी थिएँ । रात परेकोले त्यहाँ (पोखरामा नै) बसेँ र भोलिपल्ट पोखराबाट दिल्लीको लागि बस चढेँ ।’

पोखराबाट दिल्ली आउन सीमाले सृष्टि एसी डिलक्समा तीनवटा टिकट (सिट नम्बर ९, १०,११) बुक गरिन् । उनले बस चालकलाई प्रति टिकट पाँच हजारका दरले पन्ध्र हजार रुपैयाँ दिए । पोखराबाट दिल्ली पुग्न करिब २८ घण्टा लाग्छ  । पोखराबाट उनी उत्तर प्रदेशको सुनौली सीमाना  हुँदै बस आगरा, नोएडा र त्यसपछि दिल्ली पुगिन् ।

यात्राको क्रममा सीमा लगातार सचिनसँग सम्पर्कमा थिइन् । एफआईआरका अनुसार १३ जुलाईको रात आफ्ना चार छोराछोरीसहित सीमा हैदर यमुना एक्सप्रेसवेमा फलिदा कट नजिकै ओर्लिन्, जहाँ सचिन उनीहरूलाई पर्खिरहेका थिए।

त्यहाँबाट सचिनले सीमा र बच्चाहरूलाई ग्रेटर नोएडाको रबुपुराको अम्बेडकर मोहल्लामा लगे। त्यहाँ सचिनले गिर्जेश नामका व्यक्तिबाट कोठा भाडामा लिएका थिए ।

सीमा र उनका छोराछोरी सचिनसँग त्यहीँ बस्न थाले। सचिन विगत तीन वर्षदेखि घरनजिकैको किराना पसलमा काम गर्दै आएका थिए ।

सीमाका छिमेकीहरू भन्छन् कि उनी धेरैजसो घरभित्रै बस्ने गर्दथिन् । उनको धर्म र नागरिकतामा कसैले शंका गरेनन् ।

यता सीमा जतिसक्दो चाँडो सचिनसँग विवाह गर्न चाहन्थिन्, यसका लागि दुवैले वकिलसँग कुरा पनि गरेका थिए । एफआईआरका अनुसार सीमाले जुन ३० मा सचिनका बुवा नेत्रपालसँग अदालती विवाहको लागि आग्रह गरेकी थिइन् ।

त्यसपछि उनीहरु कागजपत्र लिएर बुलन्दशहरको अदालतमा पुगे । तर सीमा र बच्चाको राहदानी हेरेर वकिलले ‘तिमी पाकिस्तानको हो । सचिनसँग बिहे गर्न मिल्दैन’ भने पछि उनीहरु रबुपुरा फर्किएका थिए । यहीँबाट उनीहरुबारे प्रहरीले चाल पाएको थियो । 

फर्किएपछि सीमा र सचिन पक्राउ पर्ने भनेर डराएका थिए । त्यसपछि सीमा आफ्ना छोराछोरीलाई साथमा लिएर सामान बोकेर रबुपुरा छोडिन् । भोलिपल्ट बिहान अर्थात जुलाई १ मा सचिन बिहान काम गर्न पसल गए तर केही समयपछि बिदा लिए ।

एफआइआरका अनुसार जुलाई ३ को राति करिब आठ बजे विशेष सूचनामा हरियाणाको बल्लभगढबाट प्रहरीले सचिनसहित सीमा र चार बालबालिकालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सचिन, उनका बुबा नेत्रपाल र सीमाविरुद्ध विदेशी ऐन १९४६ को धारा १४ र भारतीय दण्ड संहिताको धारा १२०बी अन्तर्गत मुद्दा दर्ता गरेको छ। जुलाई ७ मा उत्तर प्रदेशको जेवर सिभिल अदालतले बुवासहित दुवैलाई जमानत दिएको थियो ।-बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप