आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दार्चुलापारि धार्चुलामा महाकाली नदीले घर बगायो, कटान तिव्र

मङ्गलबार, २६ असार २०८०, १४ : ०६
मङ्गलबार, २६ असार २०८०

दार्चुला । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । आज (मंगलबार) बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको सतह बढेपछि पारि (भारततीर) धार्चुलामा केही क्षति भएको छ । एक दुईओटा घर भत्किएको बताइएको छ । तर नेपाल तर्फ भने कुनै क्षति नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी प्रदिपसिंह धामीले बताए ।

बाँधको ढोका खोलेपछि विगतको तुलानामा महाकाली नदीमा पानीको सतह बढी आएको उनले बताए । बाँधका ढोका राति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले समेत महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाकाली नदीमा बाढीको सम्भावना भएकाले नदी छेउछाउमा नजान तटीय क्षेत्रका नागरिकलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । राति ८ बजेसम्म बाँधको ढोका खुला रहने र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र बाढीले सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनहरुले आग्रह गरेका हुन् । भारतले सिल्ट सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्ने यसअघि नै जानकारी गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप