आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
विश्वकपमा जर्मनी

नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी

आइतबार, ३१ जेठ २०८३, २२ : १७
आइतबार, ३१ जेठ २०८३

सारांश

  • चार पटकको विश्व च्याम्पियन जर्मनी नवप्रवेशी टोलीहरूविरुद्ध हाबी हुने गरेको छ, तर सन् २०१८ र २०२२ मा भने समूह चरणबाटै बाहिरिएको छ ।
  • जर्मनीले सन् १९५४ मा दक्षिण कोरियालाई ७-२ र सन् २००२ मा साउदी अरेबियालाई ८-० ले हराएको छ, जुन विश्वकप इतिहासकै सबैभन्दा ठुलो जित हो ।
  • पछिल्ला १० खेलमा ९ जित निकाले पनि जर्मनीको प्रदर्शन २०१४ को विश्वकप विजेता टोली जस्तो छैन र शीर्ष टोलीहरूसँगको वास्तविक स्तर अझै परीक्षण हुन बाँकी छ ।

काठमाडौँ । फिफा विश्वकपको इतिहासमा चार पटकको विश्व च्याम्पियन जर्मनीको रोचक पक्ष छ– नवप्रवेशी वा विश्वकपको अनुभव कम भएका टोलीहरूविरुद्ध हाबी हुने । त्यसो त नवप्रवेशी वा कमजोर राष्ट्रमाथि प्रायः बलिया देशहरू हाबी हुने नै गर्छन् । तर जर्मनीको हकमा भने अलि बेग्लै छ, उसले विश्वकपको समूह चरणमा प्रायः नयाँ टोली भेटिरहन्छ ।

चारपटकको विश्व विजेता जर्मनीले विश्वकपमा पहिलो वा दोस्रो पटक सहभागी भइरहेका राष्ट्रहरूलाई प्रायः आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरका रूपमा पाउँछ । 

सन् १९५४ को विश्वकपबाट यसको उदाहरण भेटिन्छ, जहाँ पहिलोपटक विश्वकप खेलिरहेको दक्षिण कोरिया जर्मनीसँग ७–२ ले पराजित भयो । त्यही प्रतियोगितामा अर्को नवप्रवेशी टर्कीले पनि जर्मनीसँग दुई पटक भेट्दा ४–१ र ७–२ को हार बेहोर्‍यो । 

विश्वकपको उच्च स्तर जर्मनीको संगठित खेलशैली र अनुभवको कमीका कारण नयाँ टोलीहरू जर्मनीविरुद्ध टिक्न संघर्ष गर्ने गरेका इतिहास छन् । 

saudi-vs-germany

सबैभन्दा चर्चित उदाहरण त सन् २००२ को विश्वकपमा देखियो, जब दोस्रोपटक विश्वकप खेलिरहेको साउदी अरेबिया जर्मनीसँग ८–० ले पराजित भयो । यो नतिजा आजसम्म जर्मनीको विश्वकप इतिहासकै सबैभन्दा ठुलो जितका रूपमा दर्ज छ । त्यतिबेला जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजले ह्याट्रिक गरेका थिए र साउदी टोली जर्मनीको आक्रमणसामु पूर्णतः निरीह देखिएको थियो । क्लोज नै फिफा विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता (१६ गोल) का रूपमा दर्ज भएका छन् । 

त्यसअघि पहिलोपटक विश्वकप खेलिरहेको अस्ट्रेलिया पनि सन् १९७४ मा पश्चिम जर्मनीसँग ३–० ले पराजित भएको थियो । सन् २००६ मा दोस्रो विश्वकप खेलिरहेको कोस्टारिकाले केही प्रतिरोध गरे पनि आयोजक जर्मनीसँग ४–२ ले हार बेहोर्नुपरेको थियो । 

जर्मनीको यस्तो दबदबा संयोग मात्र होइन, विश्वकपमा लामो अनुभव, बलियो घरेलु फुटबल संरचना, उत्कृष्ट खेलाडी उत्पादन प्रणाली र ठुला प्रतियोगितामा दबाब व्यवस्थापन गर्ने क्षमताले उसलाई नयाँ टोलीहरूविरुद्ध झन् खतरनाक बनाउने गरेको छ । 

नवप्रवेशी टोलीहरू प्रायः विश्वकपको वातावरण, दर्शकको दबाब र उच्चस्तरीय प्रतिस्पर्धामा अभ्यस्त नहुने भएकाले जर्मनीजस्ता अनुभवी टोलीविरुद्ध गल्ती गर्ने सम्भावना बढी हुन्छ । त्यसैले विश्वकप इतिहासमा धेरै नवप्रवेशी राष्ट्रहरूले आफ्नो सबैभन्दा ठुलो हार जर्मनीविरुद्ध बेहोरेका छन् ।

यद्यपि फुटबलमा अपवाद पनि छन् । सन् १९८२ मा पहिलोपटक विश्वकप खेलिरहेको अल्जेरियाले पश्चिम जर्मनीलाई २–१ ले हराएर इतिहासकै ठुलो उलटफेरमध्ये एक रचेको थियो । त्यसैगरी सन् १९७४ मा पहिलो र एकमात्र विश्वकप खेलेको पूर्वी जर्मनीले पश्चिम जर्मनीलाई १–० ले पराजित गरेको थियो । 

तर यस्ता अपवाद नगण्य छन् । समग्र इतिहास हेर्दा जर्मनी कमजोर र नवप्रवेशी टोलीहरूमाथि सधैँ हाबी हुँदै आएको शक्ति केन्द्रका रूपमा स्थापित छ, र त्यसैले २०२६ मा पहिलोपटक विश्वकप खेलिरहेको कुरासाओविरुद्ध पनि धेरैको नजर जर्मनीले कति ठुलो अन्तरको जित निकाल्छ भन्नेमा केन्द्रित छ ।

तर जर्मनीको यात्रा सन् २०१४ विश्वकप जितेयता ओरालो लागिरहेको छ । त्यो सयमा जर्मनी फुटबलको शिखरमा थियो । उनै क्लोज फिलिम लाहाम, बस्टिन स्वेन्सटेइगर, थोमस मुलर, म्यानुअर नुएर र टोनी क्रुसजस्ता प्रतिभाशाली खेलाडीहरू जर्मनीसँग थिए । अहिले पनि जर्मनीको टोलीमा विश्व फुटबलमा चर्चित लिगबाट खेलाडीहरू छन् । तर यिनीहरूको प्रदर्शन तुलनात्मक रूपमा सन् २०१४ को जस्तो देखिएको छैन । 

नवप्रवेशी वा कमजोर राष्ट्रहरूमाथि ऐतिहासिक रूपमा जर्मनी हाबी भए पनि आजको जर्मनी पहिलेको जस्तो डरलाग्दो जर्मनी छैन । अहिलेको जर्मनीबाट त्यस्तो एकतर्फी नतिजा नस्किने धेरैले कम अपेक्षा गरेका छन् । त्यसैले २०२६ मा कुरासाओ, केप भर्डे वा उज्बेकिस्तानजस्ता नयाँ टोलीहरूका लागि जर्मनी अझै पनि कठिन प्रतिद्वन्द्वी त हो, तर पहिलेजस्तो ुनिश्चित हारु भन्ने अवस्था भने अब छैन । 

कस्तो छ त जर्मनीको पछिल्लो १० खेल ? 

जर्मनीको पछिल्ला १० खेल हेर्दा नतिजाको हिसाबले टोली फेरि लयमा फर्किएको देखिन्छ, तर प्रदर्शनले अझै पनि पुरानो जर्मनीको पूर्ण झल्को  भने दिँदैन । सन् २०२५ को सेप्टेम्बरमा स्लोभाकियासँग २–० ले हार बेहोरेर विश्वकप छनोट अभियान सुरु गरेको जर्मनीले त्यसपछि लगातार उत्तरी आयरल्यान्डलाई ३–१ र १–० ले, लक्जेम्बर्गलाई ४–० र २–० ले तथा स्लोभाकियालाई ६–० ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गर्‍यो । विशेषगरी स्लोभाकियाविरुद्ध ६–० को जित महत्त्वपूर्ण बन्यो । त्यो खेलमा उसको आक्रमण र डिफेन्स क्षमता पूर्ण रूपमा जाँच भएको विश्व फुटबलका जानकारहरू बताउने गर्छन् । 

विश्वकप छनोटपछि खेलेका मैत्रीपूर्ण खेलहरूमा पनि जर्मनीले सकारात्मक नतिजा निकालेको छ । स्विट्जरल्यान्डलाई ४–३, घानालाई २–१ र फिनल्यान्डलाई ४–० ले हरायो । अमेरिकालाई उसकै मैदानमा २–१ ले पराजित गर्‍यो

अर्थात् पछिल्ला १० खेलमध्ये जर्मनीले ९ मा जित निकाल्न सक्यो । अनि ती १० खेलमा २८ गोल पनि गर्‍यो । ८ गोल मात्र बेहोर्‍यो । यद्यपि यी अधिकांश जितहरू तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वीविरुद्ध आएका भन्दै धेरैले जर्मनीको वास्तविक परीक्षण नभएको बताइरहेका छन् । 

germaney-vs-mexico

उत्तरी आयरल्यान्ड, लक्जेम्बर्ग र स्लोभाकियाविरुद्ध सफलताले जर्मनीको आत्मविश्वास बढाए पनि विश्व फुटबलका शीर्ष टोलीहरूसँगको उसको वास्तविक स्तर अझै परीक्षण हुन बाँकी छ । हाल प्रशिक्षकका रूपमा युलियन नागेस्लामको नेतृत्वमा जर्मन टोली पुनर्निर्माण भइरहेको छ । युवा प्रतिभा र अनुभवी खेलाडीबिच उनी सन्तुलन बनाउन खोजिरहेका छन् । 

यसैले पछिल्ला १० खेलको नतिजा हेर्दा जर्मनी पुनः उकालो लाग्दै गरेको देखिन्छ । तर २०१४ को विश्वविजेता जर्मनीजस्तो विश्व फुटबललाई तर्साउने टोलीमा फर्किएको निष्कर्ष अहिल्यै निकाल्न भने सकिँदैन । सन् २०१८ र २०२२ का विश्वकपमा समूह चरणबाटै बाहिरिएको टिठलाग्दो इतिहास बनाएको जर्मनी आज राति पौने ११ बजे पहिलो पटक सहभागिता जनाएको कुराकाओविरुद्ध अर्को फराकिलो जितको खोजीमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप