बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डेंगुविरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

बिहीबार, २८ असार २०८०, २१ : १९
बिहीबार, २८ असार २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण बढ्न थालेपछि डेंगुविरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेंगुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेंगुविरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए । 

उनका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गरी लामखुट्टेको वासस्थान पत्ता लगाई नष्ट गर्न आग्रह गरिएको छ । 

यस्तै आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायले आआफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाई डेंगविरुद्धको अभियान सफल पार्न आग्रह गरिएको छ । 

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । गएको पुसयता एक हजार तीन सय ३७ जनामा सङ्क्रमण छ भने एक जनाको निधन भइसकेको छ । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

सम्भव भएसम्म लामखुट्ट नै भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयले आग्रह गरेको छ । यसैगरी उपत्यकाका स्थानीय तहले साउनदेखि ‘लामुखट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेपछि स्थानीय तह र सर्वसाधारणलाई पनि सरसफाइ गर्न आग्रह गरिएको जानकारी दिए । उनले पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थाल्ने भएकोले सरसफाइ अभियान सञ्चालन गर्न भनिएको बताए । 

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप