सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
रोपाइँ

असार सकिन लाग्दा पनि धान रोपाइँ ५३ प्रतिशत मात्र

मनसुनमा ढिलाइ र लम्पी स्किनले गर्दा रोपाइँ प्रभावित
शनिबार, ३० असार २०८०, १४ : ३२
शनिबार, ३० असार २०८०

काठमाडौँ । असार  महिना सकिन लाग्दा पनि देशभर ५३ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गते उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभर कम रोपाइँ भएको पाइएको हो । गत वर्ष यति बेलासम्म ६५ प्रतिशत रोपाइँ भइसकेको थियो । 

मन्त्रालयका अनुसार  १३ लाख ५७ हजार हेक्टरमध्ये सात लाख १८ हजार हेक्टरमा मात्र धान रोपाइँ भएको छ । हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिममा ८५ प्रतिशत भएको छ भने सबभन्दा कम मधेस प्रदेशमा २८ प्रतिशत रोपाइँ भएको छ । कर्णाली प्रदेशमा ७० प्रतिशत र लुम्बिनी प्रदेशमा ६४ प्रतिशत रोपाइँ भएको छ भने गण्डकी प्रदेशमा ४७ प्रतिशत, बागमती प्रदेशमा ४५ प्रतिशत र कोशी प्रदेशमा ५६ प्रतिशत रोपाइँ मात्र भएको छ ।

ढिलो गरी मनसुन सक्रिय भए पनि सबैतिर एक नाशले पानी नपरेको कारण धान रोपाइँमा ढिलो भई रहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलका अनुसार मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण रोपाइँ ढिलो सुरु भएको छ ।

आकाशे भरमा खेती भएको कारण यसपालि सबैतिर एक नाशले पानी नपरेको कारण खेत रोपाइँमा ढिलो भइरहेको मन्त्रालयको दाबी छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्किन रोगका कारण गोरुको अभाव भई रोपाइ थोरै प्रभावित भएको जानकारी उनले गराएका छन् ।

बिस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्किन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको उनले बताए । 

dhan

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप