बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
विकास निर्माण

पूर्व पश्चिम राजमार्गको हेटौँडा खण्ड : साँघुरो र जीर्ण सडकले दुर्घटनाको जोखिम बढ्यो

एक वर्षमा १८ जनाको मृत्यु, २९० घाइते
आइतबार, ३१ असार २०८०, ०७ : २२
आइतबार, ३१ असार २०८०

हेटौँडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिका पर्दछन् । करिब ४० किलोमिटर लामो सो राजमार्गको सडक खण्ड मकवानपुरका यी दुई पालिकामा पर्दछ ।

मुख्यतः हेटौँडा मुख्य बजार भएर जाने यो सडकको अधिकांश भूभाग हेटौँडा उपमहानगरपालिका भित्र पर्दछ । सो सडक खण्डको करिब २५ किलोमिटर क्षेत्र हेटौँडामा पर्दछ भने १५ किलोमिटर मनहरि गाउँपालिकामा पर्दछ । दक्षिण तर्फबाट बाराको अम्लेखगंज हुँदै हेटौँडा–१५ चुरियामाईबाट सो सडक मकवानपुर प्रवेश गर्दछ भने पश्चिम तर्फबाट लोथर पुलसम्म पुगेर सीमा समाप्त हुन्छ । लोथर पुल काटेर पूर्व पश्चिम राजमार्ग सडक चितवन प्रवेश गर्दछ ।

सो राजमार्गको बारा र चितवन तर्फ सडक विस्तारको काम जारी रहेको छ भने मकवानपुर तर्फ भने सडक साँघुरो अवस्थामा रहेको छ । उक्त राजमार्ग अन्तर्गतको मकवानपुर खण्डको सडक हालसम्म विस्तर हुन सकेको छैन । दैनिक हजारौँ सवारी साधन र बढ्दो जनसङ्ख्याको चापका कारण हेटौँडा बजार अव्यवस्थित भनेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण दुर्घटनाको जोखिम बढ्दो छ ।

करिब ३ दशक अघि एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा बनेको उक्त सडकको पछिल्लो समय साँघुरोसँगै जोखिमपूर्ण अवस्थामा रहेको छ । पूर्व तर्फका भारतीय नाकाबाट आयात हुने सामग्रीहरू क्षमता भन्दा बढी लोड गरी सवारी साधनहरूमा ढुवानी गर्दा सडक जीर्ण बन्दै गएको छ ।

सो सडक भएर सञ्चालन हुने अधिकांश सवारी साधनहरूले उच्च भार बोक्ने गर्दछन् । जसले गर्दा सडकको एकतर्फी भाग दबिएको छ, भने रातोमाटे, एचआइडी, थानाभर्याङ, बस्तीपुर क्षेत्रमा अव्यवस्थित रूपमा ठुला सवारीहरू पार्कीङ्ग गर्ने गरिएको छ । जसले दुर्घटनाको जोखिम बढाएको छ ।

एक वर्षमा १८ जनाको मृत्यु

चालु आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मकवानपुर खण्डमा सवारी दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०७९-०८० को असार मसान्तसम्ममा उक्त राजमार्ग अन्तर्गतको मकवानपुर खण्डमा भएको ९० वटा सवारी दुर्घटनाका घटनामा परि १८ जनाको मृत्यु भएको छ भने २९० जना घाइते भएका छन् ।

चालु आर्थिक वर्षमा पूर्व पश्चिम राजमार्गको मकवानपुर खण्डको सडकमा भएका दुर्घटना मध्ये भाद्रमा ३, असोजमा २, कार्तिकमा एक, पुसमा ४, फागुनमा एक, चैत्रमा एक, जेठमा २, असारमा ४ गरी कुल १८ जनाको मृत्यु भएको छ । त्यस्तै सो दुर्घटनाहरूमा परेर भाद्रमा २१, असोजमा ५१, कार्तिकमा १७, मङ्सिरमा २४, पुसमा १७, माघमा २, फागुनमा ३७, चैत्रमा २६, वैशाखमा १७, जेठमा   १० र असारमा ६८ गरी जम्मा २९० जना घाइते भएका छन् ।

सो सडक खण्डमा अधिकांश दुर्घटनाहरू मुख्य बजार क्षेत्र भन्दा बाहिर भएका प्रहरीको तथ्याङ्क रहेको छ । उक्त सडक खण्ड अन्तर्गत पर्ने हेटौँडा बजार क्षेत्रमा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परि एक जनाले ज्यान गुमाउन परेको थियो भने ३९ जना घाइते भएको प्रहरीको तथ्याङ्क रहेको छ । सो अवधिमा हेटौँडा बजार क्षेत्रमा २८ वटा सवारी दुर्घटनाका घटना भएका थिए ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मकवानपुर खण्डमा चालु आर्थिक वर्षमा भएका ९० वटा सवारी दुर्घटनाहरू मध्ये ६२ वटा दुर्घटना मुख्य बजार क्षेत्र बाहिर भएका छन् । हेटौँडाको मुख्य बजार क्षेत्रमा चालु आर्थिक वर्षको भाद्रमा २, असोज, कार्तिक, मङ्सिरमा ३-३, पुसमा एक, फागुन, चैत्र, वैशाखमा २÷२, जेठमा ६ र असारमा ४ वटा सवारी दुर्घटनाका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार सो दुर्घटनामध्ये हेटौँडाको मुख्य बजार क्षेत्रमा चैतमा भएको घटनामा परि एक जनाको मृत्यु भएको हो ।

हेटौँडाको मुख्य बजार क्षेत्रमा भएको दुर्घटनामा परी भाद्रमा २ जना, असोजमा ६ जना, कार्तिकमा ४ जना, मङ्सिरमा ३ जना, पुसमा एक जना, फागुनमा २ जना, चैत्रमा एक जना, वैशाखमा ३ जना, जेठमा ९ जना र असारमा ८ जना गरी कुल ३९ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मकवानपुर खण्डको सडक मध्ये मुख्य बजार क्षेत्र बाहिर मात्र सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने २५१ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप