सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
नयाँ ब्याजदर

नयाँ आर्थिक वर्षमा नयाँ ब्याजदर : कुन बैंकमा पैसा राख्दा पाइन्छ बढी ब्याज ?

राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ८.२४ प्रतिशत मात्र
आइतबार, ३१ असार २०८०, १५ : ४३
आइतबार, ३१ असार २०८०

काठमाडौँ । बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक ब्याजदर नीति अनुसार आउँदो महिनाका लागि जारी महिनाको अन्तिम दिन अर्थात् मसान्त अघि नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नीति बमोजिम वाणिज्य बैंकहरूले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 

आउँदो महिना नयाँ आर्थिक वर्ष २०८०/८१ को सुरुवाति महिना समेत भएकाले घट्दो ब्याजदरमा आर्थिक वर्ष सुरुवात हुने भएको छ । गत बिहीबार बसेको बैंकर्स संघको बैठकले आगामी महिनाका लागि खुल्ला ब्याजदर नीति (ब्याजदर तोक्ने अधिकार बैंकहरूलाई नै) दिने निर्णय गरेको थियो । ब्याजदरको विषयमा बैंकहरूले मिलेर कार्टेलिङ गरेको भन्दै चौथर्फी विरोध भएपछि संघ ब्याजदरको विषयमा खुल्ला नीतिमा जान बाध्य भएको हो । 

सोही खुल्ला नीति अनुरूप बैंकहरूले आगामी महिनाका लागि निक्षेपमा न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । 

कुन बैंकले कति ब्याजदर प्रस्तावित गरे ?

प्रस्तावित नयाँ ब्याजदर हेर्दा सबैभन्दा बढी एनएमबि बैंकले ब्याजदर प्रस्ताव गरेको छ । बैंकर्स संघको अध्यक्षता समेत गरिरहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीको बैंक ‘एनएमबि’ ले साउन महिनाका लागि निक्षेपमा १०.९८ प्रतिशत ब्याजदर अफर गरेको हो । यो असार महिनाका लागि वाणिज्य बैंकहरूले कायम गरेको ब्याजदरभन्दा ०.९९ प्रतिशत (झण्डै) १ प्रतिशतले बढी हो । 

यसअघिसम्म भद्र सहमतिका नाममा ब्याजदरमा कार्टेलिङ गरिरहेका बैंकहरूले असारका लागि न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशत ब्याजदर कायम गरेका थिए । तर, साउनदेखि बैंकहरूले आफ्नो ब्याजदर आफै तोक्ने पाउने व्यवस्था हुँदै गर्दा अधिकांश बैंकहरूले ब्याजदर घटाउँदै गर्दा एनएमबि बैंकसहति ४ वटा बैंकहरूले ब्याजदर बढाएका छन् । 

प्राइम कमर्सियल बैंक

ब्याजदर वृद्धि गर्नेमा दोस्रो नम्बरमा प्राइम कमर्सियल बैंक परेको छ । बैंकले साउन महिनाका लागि निक्षेपको नयाँ १०.९३ प्रतिशत तोकेको छ । यो चालु असार महिनाको ब्याजदर भन्दा ०.९३ प्रतिशतले बढी हो । आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको औसत आधारदर (बेस रेट ) १०.८४ प्रतिशत रहेको छ । बैंकले कर्जा लगानी यसै बेस रेटमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम चार्ज गर्ने जनाएको छ । 

नबिल बैंक

नबिल बैंकले आउँदो साउन महिनाका लागि निक्षेपमा १०.४९ प्रतिशत ब्याजदर अफर गरेको छ । असार महिनाका लागि बैंकहरूले मिलेर निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर कायम गरेकामा स्वतन्त्रतापूर्वक साउन महिनाका लागि नबिल बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि अधिकतम १०.४९ प्रतिशत ब्याजदर तोकेको हो । 

कुमारी बैंक

कुमारी बैैंकले साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७.५१ प्रतिशतदेखि १०.०१ प्रतिशत नयाँ ब्याजदर प्रस्ताव गरेको छ । यो असार महिनाको भन्दा जम्मा ०.०२ प्रतिशतले मात्र बढी हो ।

५ वटा वाणिज्य बैंकको ब्याजदर स्थिर 

यद्यपि, ५ वटा वाणिज्य बैंकहरूले भने साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक (हालै मात्र मर्जर भएको), नेपाल एसबीआई बैंक, हिमालय बैंक र सिटिजन बैंकले साउनका लागि पनि हाल कायम ब्याजदर नै प्रदान गर्ने निर्णय गरेका हुन् । 

हाल बैंकहरूले संस्थागत निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् भने व्यक्तिगत निक्षेप खातामा ९.९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । यी बैंकहरूको औसत बेस रेट १०.९० प्रतिशत रहेको छ । 

९ वटा बैंकको ब्याजदर घट्यो

तर, यता ९ वटा वाणिज्य बैंकहरूले भने साउन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । सानिमा बैंक, एभेरेष्ट बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंकसहित तीनवटा सरकारी स्वामित्वका बैंकहरू कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक रहेका छन् । 

साउन महिनाका लागि सानिमा बैंकले निक्षेपमा न्यूनतम ७.५२ प्रतिशतदेखि अधिकतम ९.५२ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ भने कृषि विकास बैंकले ९.५१ प्रतिशत, एभरेष्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले समान ९.५ प्रतिशत तोकेका छन् । 

यसैगरी माछापुच्छ्रे बैंकले साउन महिनाका लागि न्यूनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशत ब्याजदर तोकेकोमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले निक्षेपमा समान ६.९९ प्रतिशतदेखि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ । 

साउनका लागि सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले निक्षेपमा ६.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत मात्र ब्याजदर दिने बताएको छ । यो हाल कायम ब्याजदर भन्दा १.०४ प्रतिशतले कमी हो । 

समग्रमा ब्याजदरमा खुल्ला नीति अवलम्बन भएपछि बैंकहरूले साउन महिनाका लागि तोकेको ब्याजदरको अन्तर २.०३ प्रतिशतले देखिएको छ । यसले निक्षेपकर्ताहरूका लागि पैसा राख्न एनएमबि, प्राइम कमर्सियल, नबिल र कुमारी बैंक उत्तम देखिएको छ । तथापि, कर्जातर्फ भने बैंकहरूले आफ्नो बेस रेटमा चार्ज गर्ने प्रिमियममा भर पर्ने हुँदा अवश्य पनि सबैभन्दा कम ८.२४ प्रतिशत मात्र बेस रेट भएको वाणिज्य बैंक सस्तो पर्न सक्छ । परिवर्तित नयाँ ब्याजदर सोमबार अर्थात् साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप