सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

उडान सुरु भएको ७ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपोको शिलान्यास

सोमबार, ०१ साउन २०८०, १५ : २५
सोमबार, ०१ साउन २०८०

पोखरा । उद्घाटन भएको झण्डै ७ महिना पछि सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयल निगमको हवाई इन्धन डिपो निर्माणको लागि शिलान्यास गरिएको छ । जनवरी १, २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको भए पनि हवाई इन्धन भर्नको लागि डिपो भने थिएन ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विधिवत् रूपमा यसको शिलान्यास गरेका हुन् । हवाई इन्धन डिपो नभएकाले अहिलेसम्म पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि ७ किलोमिटर टाढा रहेको पुरानो पोखरा विमानस्थलबाट इन्धन ल्याउने गरिएको छ । आयल निगमले रिफ्युलरबाट जहाजमा आवश्यक पर्ने हवाई इन्धन ओसार्दै आएको छ । ११ हजार लिटर क्षमता भएका २ वटा रिफ्युलरले विमानस्थलका जहाजमा इन्धन भर्ने गर्दै आएका छन् ।

pokhara airport oil depot (1)

अहिले भने आयल निगमले करिब ७७ करोड रुपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो । यसका लागि निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरणसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको छ ।

pokhara airport oil depot (2)

कुल ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्याङ्क निर्माण गर्न लागिएको हो । ७७ करोड रुपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् भने एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढ्ने आयल निगमले जनाएको छ ।

आयल निगमले मुलुकका ६ विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने योजना बनाएको छ । विमानस्थलमा इन्धन डिपो नहुँदा जहाजलाई इन्धन दिन कठिनाइ भएपछि निगमले कदम चालेको हो ।

pokhara airport oil depot (3)

जनकपुर, सिमरा, भरतपुर, दाङ, मन्थली, झापा लगायतका ठाउँमा हवाई इन्धन डिपो निर्माण गर्न आवश्यक रहेको अध्ययनमा देखिएको थियो । निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ । 

pokhara airport oil depot (4)

मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन । डिपो नभएका विमानस्थलमा हवाई जहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बोकेर जानुपर्ने बाध्यता छ ।

निगमले भद्रपुर र मन्थलीमा अस्थायी रूपमा हवाई इन्धन भर्ने व्यवस्था मिलाएको छ । सिमरा विमानस्थल बारा, भरतपुर, जनकपुर, चन्द्रगढी झापा, दाङ, डोल्पा, जुम्ला, भोजपुर, बाजुरा, खानीडाँडा खोटाङ, मनाङ, फाप्लु सोलुखुम्बु, रामेछाप, रुकुम चौरजहारी, रुकुम सल्लेरी, रुम्जाटार ओखलढुंगा, रारा मुगु, सिमिकोट हुम्ला, ताप्लेजुङ, तेन्जिङ हिलारी सोलुखुम्बु, तुम्लिङटार विमानस्थल सङ्खुवासभामा हवाई इन्धन डिपो छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी एक दर्जन, अन्तर्राष्ट्रिय दुई दर्जन एयरलाइन्सका दैनिक पौने दुई सयभन्दा बढी विमानले इन्धन भर्ने गरेका छन् ।

pokhara airport oil depot (5)pokhara airport oil depot (6)pokhara airport oil depot (7)pokhara airport oil depot (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप