शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

सभापति देउवाले किन राखे केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव ?

सोमबार, ०१ साउन २०८०, १८ : ४३
सोमबार, ०१ साउन २०८०

काठमाडौँ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् । 

आफ्नो निवास धुम्बाराहीमा सोमबार अपराह्न बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका सहमहामन्त्री महेन्द्र यादवले राताेपाटीलाई बताए । 

मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकको लाइभ हुने सम्भावना रहेको यादवले बताए । 

उनले भने," पार्टी बैठकका कुरा सबै बाहिर गइहाल्छन् । त्यसो गर्नुभन्दा पार्टीको फेसबुक पेजमा बैठकको लाइभ नै गराैँ । टिभीलाई पनि बैठक लाइभ गर्न दिउ भनेर सभापतिज्यूले भन्नू भयो ।" 

विगतमा देउवाले पार्टी बैठकमा उठेका कुरा हुबहु मिडियामा आउने गरेको भन्दै बैठकका कुरा बाहिर नलिन आग्रह गरेका थिए । तर, बैठकमा उठेका विषय मिडियामा आउन नरोकिएपछि देउवाले केन्द्रीय समिति बैठकको लाइभ गर्ने प्रस्ताव राखेको उनी निकट नेताहरू बताउँछन् । 

सभापति देउवाको बैठक लाइभकाे प्रस्तावमा धेरै नेताहरू सहमत भएको पूर्वमहामन्त्री शशांक कोइरालाले बताए । ‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्नेबारे छलफल भयो । धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो,’ कोइरालाले भने । 

केही नेताले भने लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय राखेको कोइरालाले बताए । ‘भोलि लाइभ गरौँ र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ । भोलि सायद लाइभ हुन्छ । त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ,’ उनले भने । 

बैठक लाइभ गर्ने देउवाको प्रस्तावमा फरक फरक धारण आएको सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताए ।

‘सभापतिले केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गर्नुभएको छ । यसमा फरक फरक विचार बैठकमा आएका छन् । लाइभ गर्नेबारे भोलि सभापतिले जे भन्नू हुन्छ । त्यही हुन्छ ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप