ब्रेकथ्रूको पर्खाईमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तस्बिरहरु

काठमाडौँ । थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । आज बिहान भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाइँ, सचिव केशवकुमार शर्मा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले स्थलगत अवलोकन गर्दा उक्त जानकारी दिएका हुन् । सो आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत पूरा भएको छ ।
निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनले बताए । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ४ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए ।
दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ । मुख्य सडकबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारी साधनबाहेक अन्यलाई गुड्न दिइनेछ । दोस्रो सुरुङबाट मुख्य सडकमा सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइनेछ ।