आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रकोप

‘लम्पी स्किन’ का कारण दुध उत्पादन घट्यो, खोपकै अभावले मृत्युदर बढ्दो

शुक्रबार, ०५ साउन २०८०, ०७ : ०७
शुक्रबार, ०५ साउन २०८०

पोखरा । शोभाखर भण्डारी पेसाले कृषक हुन् । २० वर्षअघि पोखरा ३३ स्थित बाघढुंगामा एउटा गाईबाट सुरु गरेको ‘कृषि फर्म’मा गत वैशाखसम्म गाईको संख्या ७१ पुग्यो । तर, यो फर्म दुई महिनाको बीचमै रित्तिँदै गएको छ । हाल देशव्यापी रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगका कारण आफ्नो फर्मका २५ गाई मरिसकेको भण्डारीले सुनाए ।

संक्रमण दर बढिरहेकाले अझै यो संख्या कति पुग्ने हो थाहा छैन । ‘सुरुमा एउटा गाईले मुखबाट फिँज निकाल्यो । हामीले सामान्य लक्षण सोच्यौैँ । तर, एक दुई दिनमा त शरीरभरि घाउ देखियो,’ फर्म सञ्चालक भण्डारीले भने, ‘यसलगत्तै पशु कार्यालयमा खबर पनि गरेँ । उहाँहरुले आएर हेरेपछि लम्पी स्किन रोग भएको पुष्टि भयो । त्यो गाईलाई छुट्टै राखेर उपचार गरियो । तर, अरु गाईमा सरिसकेको रहेछ । यसपछि खोप लगाए पनि गाई भकाभक मर्न थाले ।’

बाच्छबाच्छी र लैनो गाई गरेर २५ वटा मरेपछि आफूलाई २०-२५ लाखको क्षति पुगेको उनले सुनाए । मर्ने त मरे, बाँचेका गाईको पनि दुध घटेको उनले बताए । संक्रमित भएपछि गाईको दुध ८० प्रतिशतसम्म घटेको उनको भनाइ छ । ऋण गरेर जोडजाम गरेको फर्म दोहोरो नोक्सानीमा गइरहेको उनको दुखेसो छ ।

संक्रमणका बारेमा तीन वर्षअघि देखि खोपका अभियान चले पनि यसबारे आफू अनभिज्ञ भएको उनले सुनाए । ‘पशु निर्देशनालयले पनि खोप लगाउनुपर्छ भनेर भनेन । अहिले एकै चोटी फर्ममा बज्रपात भयो,’ भण्डारीले भने ।

भण्डारी फर्ममा मात्र होइन, गण्डकी प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किन रोग फौलिएको छ । प्रदेशभरि ४८ हजार १ सय ३९ वटा गाईभैंसीमा यो रोगको संक्रमण देखिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका अधिकृत सुरज श्रेष्ठले बताए । उनका अनुसार कुनै किसानको गोठ नै खाली हुने गरी रोगले गाईभैंसी मरेको श्रेष्ठले बताए । संक्रमण संख्याको करिब ४ प्रतिशत मृत्युदर भए पनि समयमा खोप नलगाउँदा केही किसानको फर्म नै रित्तिएको छ ।  

suresh shrestha

संक्रमणकै कारण पोखरा अर्चलबोटका शिव पराजुलीका तीनमध्ये २ वटा गाई मरेका छन् । बाँकी एउटा पनि संक्रमणको उच्च जोखिममा छ । गाईलाई खोप लगाए पनि बाँच्ने ग्यारेन्टी नभएको पराजुली बताउँछन् । ‘अब एउटा सानो गाई छ । दुई वटा गाई लम्पी स्किनबाट मरे । एउटा गाई त दुई जिउको थियो । अहिले गोठ खालीजस्तो भएको छ,’ पराजुलीले भने ।

गण्डकीमा यो रोगबाट एक हजार ८०१ वटा गाईभैंसी मरेको निर्देशनालयका अधिकृत श्रेष्ठ बताउँछन् । ‘प्रदेशभरि गाईभैंसीको संख्या ८ लाख छ । ६० हजार ६ सय ९९ चौपायामा मात्र खोप उपलब्ध गराउन सकिएको छ । यसकारण जोखिम टरेको छैन,’ अधिकृत श्रेष्ठले भने ।

संक्रमण र मृत्युदर हेर्ने हो भने गण्डकीका ११ जिल्लामध्ये गोरखामा बढी संक्रमण देखिएको छ । मृत्युको संख्या भने कास्कीमा बढी छ । गोरखामा १३ हजार ८ सय ३६ संक्रमण हुँदा १ सय १९ वटा जनावरको मृत्यु भएको छ । तर, १२ हजार २ सय ७८ वटा जनावरमा संक्रमण देखिएको कास्कीमा ५ सय ५३ वटा गाईभैंसी मरेको पशु विकास कार्यालय कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए ।

दुध उत्पादन ह्वात्तै घट्यो, खोपको अभाव

कास्की जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेलले संक्रमणका कारण जिल्लामा २५ प्रतिशत दुध उत्पादन घटेको बताए । उनका अनुसार लम्पी स्क्रिन रोगले गाईभैंसीको मृत्यु हुने र संक्रमण बढिरहेकाले दुध उत्पादन घटेको हो ।

यो रोग लागेपछि गाईभैंसीले ८० प्रतिशतसम्म दुध घटाएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका आँकडामा उल्लेख छ । निर्देशनालयका अधिकृत सुरज श्रेष्ठ भन्छन्, ‘मर्ने त मरेर गए । दुध घट्ने नै भयो । यता संक्रमण दर बढ्दा बाँच्ने गाईले पनि ८० प्रतिशतसम्म दुध घटाएका तथ्यांक आएको छ ।’

nirdasnalya

संक्रमण बढ्दै जाँदा बजेट अभावकै कारण प्रदेशमा आवश्यकता अनुसारको खोप उपलब्ध हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष गण्डकी प्रदेश सरकारले खोप खरिद गर्न १० लाख उपलब्ध गराए पनि यो पर्याप्त नभएको निर्देशनालयका अधिकृत श्रेष्ठ बताउँछन् ।

‘१० लाखको खोप खरिद त गर्यौं तर, यो पर्याप्त भएन । यसकारण रोग फैलिन सक्ने जोखिम उत्तिकै छ,’ अधिकृत श्रेष्ठले भने, ‘चालु आर्थिक वर्षमा पनि सरकारले १ करोड बजेट निर्देशनालयलाई खोपकै लागि दिएको छ । सोही अनुसार अब खोप खरिदको प्रक्रियामा जान्छ र खरिद गर्छौं ।’

अघिल्लो आर्थिक वर्ष खरिद गरिएको खोप ६० हजार ६ सय ९९ वटा गाईभैंसीमा मात्र लगाइएको छ । जबकि गण्डकी प्रदेशमा गाईभैंसीको संख्या करिब ८ लाख छ । प्रदेशभरिका गाईभैंसीको तथ्यांक हेर्दा चालु आर्थिक वर्षका लागि विनियोजन भएको १ करोड रुपैयाँ पनि पूर्ण खोपका लागि अपुग हुने पक्का छ । 

data

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप