शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा :  सिस्टम

शनिबार, ०६ साउन २०८०, ०८ : ५५
शनिबार, ०६ साउन २०८०

“कस्तो फोहोर हो । झ्याल त खोल्नै नहुने, गनाएर नाक नै फुट्ला जस्तो छ ।” उसले भन्यो । 

“के गर्नु, सबै मान्छे सहरमा नै थुप्रो लाग्नु पर्ने भएपछि बिजोग हुँदो रहेछ ।” माइक्रो बसमा सँगै बसेको यात्रुले जवाफ दियो । 

“देश सिस्टममा चल्नु पर्छ सर । आफू त विदेश बसेर आएको, यहाँको गति देख्दा उदेक लाग्छ ।” उसले धाक लायो । 

“के गर्नु अब । गाउँमा मानिस बस्न छोडे । सहरमा व्यवस्थापन गर्न समस्या भयो । अलि हुने खाने राम्रैसँग बसेका छन् । गरिबी बढेपछि सहरमा फोहोर मैलाको समस्या बढ्दै जाँदो रहेछ ।” सँगैको यात्रुले विचार राखे । 

अघिबाट कहिले एउटा, कहिले अर्को खल्ती छाम्दै उसले भन्यो, “म गएको विदेशको सहरमा त कति धेरै जनसङ्ख्या थियो । मान्छे त कीरा बराबर सरावर थिए । तर कतै फोहर मैला देखिँदैनथ्यो ।” 

उसले खल्तीबाट सुर्तीको प्याकेट निकाल्यो र सुर्ती झिकेर मुखमा च्याप्यो । झ्याल खोलेर खाली प्याकेट बाहिर फाल्यो । एक पटक पिच्च बाहिर थुक्यो र झ्याल लगाउँदै पुनः भन्न थाल्यो, “गरे के हुँदैन सर ?”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप