शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डियर जिन्दगी

शनिबार, ०६ साउन २०८०, १० : २७
शनिबार, ०६ साउन २०८०

तिमीलाई एक बुँद 
खुसी दिनको लागि
बामे सर्दै, कुद्दै र दौडँदै
रात दिन नभेटिने गन्तव्य छुन
आफ्नै परिधिको वारपार
विश्वको कल्पना सागर तर्न 
तयार छ मनस्थिति ।

कहिले ज्ञानको खोजीमा
कहिले जीवन चलाउने अभिलाषामा,
कहिले खुसी दिन र प्राप्त गर्ने आशमा
दुर्लभ रूपमा प्राप्ति हुने, 
सम्बन्धका अमृत मोहमा
अन्त्यमा आफ्नै मनको 
गोलचक्करमा घुमिरहेछ जिन्दगी ।

जीवनको पूर्वार्द्धमा जन्मिएको बखत
आमाको खुसीको निमित्त
अलिकति ठुलो हुँदा
सपना पूरा गर्न अनेकन् सम्झौतासँग
दुःखद कालमा खोक्रा मानव मस्तिष्कसँग 
र, आफ्नै मनका घाउहरूसँग घुमिरहेछ जिन्दगी ।

जीवनको उत्तरार्द्धमा आफ्नैहरुसँग निरुत्तर भएर
बनाएका आत्मीय सँगको आशा, निराशातिर गएर
आफ्नो अतृप्त हाँसो सापटी मागिरहेछ
यमराजसँग जीवन बन्धकी राखेर पनि
पल पल मर्दै बाँचिरहेछ जिन्दगी ।

वर्तमान अवस्थामा आफू बलवान हुँदा खेरी
निर्बलहरूलाई बनाइएको प्रयोगशालामा
किन आफैँप्रति प्रतिबिम्बित हुँदै 
आयो भनेर प्रश्न गर्दै छ जिन्दगी ।
तर जे होस्, आफ्नो ब्रह्म ज्ञानले गरेका
असल कर्महरूलाई एकत्रित गरेर
ईश्वरको पानाबाट खुसीको मसीले जीवन रङ्गाउँदा
आफैसँग पुलकित भई, 
परमात्मासँग उमेर सापटी मागिरहेछ जिन्दगी ।

दीन दुःखीका निमित्त बोझ नबनोस् यो मानव नगरी
ईश्वरको कलमद्वारा हरदम सत्यमार्गीको बाटोभरि
सुन्दरताले भरिपूर्ण सुगन्धित बाटोका निर्माण अनि,
विचरण गर्न सकोस् यो जिन्दगी ।

भक्तपुर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला शर्मा
सुशीला शर्मा
लेखकबाट थप