सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सडक वर्गीकरणको काम छिट्टै अघि बढ्छ : मन्त्री ज्वाला

शनिबार, ०६ साउन २०८०, १९ : २९
शनिबार, ०६ साउन २०८०

काभ्रे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक पूर्वाधार वर्गीकरणको काम अघि बढाउने बताएका छन् । शनिबार काभ्रेको पनौतीमा समाजवादी प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले सडक वर्गीकरणको काम छिट्टै अघि बढाउने तयारी भएको बताए ।

मन्त्री भएर पदभार ग्रहण गरेपश्चातः आफ्नो पहिलो निर्णय नै सडक वर्गीकरण सम्बन्धी रहेकाले सो कार्यको प्रक्रियागत काम केही समयमा नै अघि बढाउने मन्त्री ज्वालाले बताए । सडक वर्गीकरण गरी स्थानीय, प्रादेशिक र संघीय सडक कायम गरिने उनको भनाई छ ।

‘अहिले कुन सडक कस्तो भन्ने अन्यौता देखिएको छ । सडक वर्गीकरण हुन नसक्दा कुन संघीय सडक, प्रदेश सडक र स्थानीय सडक भन्नेबारे अन्यौलता छ । त्यसको समाधानका लागि मन्त्रालयले काम गरिरहेको छ’ उनले भने ।

मन्त्री ज्वालाले सडक ऐन संशोधनको तयारी समेत भइरहेको बताए । उनले सडक ऐन पुरानो भएकाले छिट्टै नै प्रक्रिया सुरु गरिने उनको भनाई छ । सडक सुरक्षाको विषयमा पनि मन्त्रालय गम्भीर भएर काम गरिरहेको उनको भनाई छ । सडक सुरक्षाका विषयमा सडक सुरक्षा मापदण्ड निर्माणमा मन्त्रालयले छलफल अघि बढाएको र रोड सेफ्टी काउन्सिल गठन गर्ने योजना भइरहेको उनले बताए ।

उनका अनुसार सडक सुरक्षाका लागि सडक यातायात व्यवस्था प्राधिकरणलाई थप व्यवस्थित र सशक्त बनाउन सो प्राधिकरणमा कार्यकारी अधिकृतको व्यवस्था गरिनेछ । ‘सडक सुरक्षा मापदण्ड निर्माणमा मन्त्रालयले छलफल अघि बढाएको छ ।

मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको नेतृत्वमा रोड सेफ्टी काउन्सिल गठन गर्ने र कार्यान्वयनमा जाने योजना बनेको छ । सडक सुरक्षाका लागि सडक यातायात व्यवस्था प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गर्ने तयारी भएको छ’ मन्त्री ज्वालाले भने ।

मन्त्री ज्वालाले सूर्यविनायक–धुलिखेल सडक खण्ड विस्तार तथा स्तरोन्नतिका लागि बजेट अभाव हुन नदिने बताए । बजेट अभावका कारण सो सडक खण्डको काममा अवरोध नहुने उनले बताए । उनले हाल विनियोजित बजेटबाट काम भइरहेको र आवश्यक परेको खण्डमा बजेट रकमान्तर गरिने बताए ।

आगामी असोजबाट सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन हुने र दोस्रो चरणमा सूर्यविनायक–धुलिखेलसम्म बस सेवा विस्तार गरिने उनको भनाई छ । बीपी राजमार्ग विस्तारका लागि जापान सरकारसँग छलफल भइरहेको मन्त्री ज्वालाले बताए । छिट्टै नै जापानको औपचारिक भ्रमण गरी सो राजमार्गको धुलिखेल–बर्दिबास सडकलाई विस्तारको अन्तिम निर्णय हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप