आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारत र बंगलादेशबीचको रोमाञ्चक एकदिवसीय खेल बराबरी

शनिबार, ०६ साउन २०८०, २० : ४६
शनिबार, ०६ साउन २०८०

ढाका । ढाकामा जारी भारत र बंगलादेश महिला क्रिकेट टिमबीचको तेस्रो एकदिवसीय खेल बराबरीमा सकिएको छ । दुई टोलीबीचको एकदिवसीय खेलमा बराबरी भएको यो पहिलो पटक हो ।

एकदिवसीय शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा बंगलादेश महिला क्रिकेट टोलीले टस जितेर पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर २२५ रन बनाएको थियो । जवाफमा भारतीय टोली ४९.३ ओभरमा २२५ रन बनाएर अलआउट भयो ।

भारतीय टोलीको स्कोर ४७ औं ओभरको पाँचौँ बलसम्म ६ विकेटमा २१६ रन थियो । त्यसपछि जितका लागि १९ बलमा १० रन मात्र आवश्यक थियो तर अर्को बलमा रबाया खानले अमनजोत कौरलाई आउट गरिन् । यसपछि ४८ औं ओभरमा ठूलो टर्निङ प्वाइन्ट आयो जब नाहिदा अख्तरले पहिले स्नेह राणालाई शून्य रनमा आउट गरिन् । त्यसपछि देविका वैद्य पनि आफ्नो बलमा खाता नखोल्दै पभिलियन फर्किइन् ।

यो ओभरमा अख्तरले एक रन दिएर दुई विकेट लिएकी थिइन् । अब भारतीय टोलीको अन्तिम जोडी पिचमा थियो। ४९ औं ओभरमा ६ रन बनेको थियो । जितका लागि अन्तिम ओभरमा तीन रन आवश्यक थियो। पहिलो दुई बलमा दुई रन बनाए पनि अर्को बलमा मारुफा अख्तरले मेघना सिंहलाई आउट गर्दै खेल बराबरीमा ल्याइन् ।

योसँगै दुई टोलीबीचको तीन एकदिवसीय खेलको शृङ्खला पनि १–१ को बराबरीमा पुगेको छ । बंगलादेशका लागि फरगाना हकले यस खेलमा सर्वाधिक १०७ रन बनाएकी थिइन् । फरगाना हक एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो महिला क्रिकेटर बनेकी छिन् ।

भारतका लागि हरलिन देवलले सर्वाधिक ७७ रन बनाएकी थिइन् । हरलिन ‘प्लेयर अफ द म्याच’ चुनिइन् भने फरगाना प्लेयर अफ द सिरिज बनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप