मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अपमान गरेको भन्दै राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा आपत्ति व्यक्त

सोमबार, ०८ साउन २०८०, ०९ : ४९
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले संघ र प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष सहितको भेलाको निष्कर्ष तयार पार्ने प्रक्रियामा अपमान गरिएको भन्दै आपत्ति जनाएकी छिन् । अर्यालले राष्ट्रिय सभाका उपाध्यक्ष, संघ र प्रदेश सभाका उपसभामुखहरू रहेको एक संसदीय संयन्त्र निर्माणको नेतृत्वको विषयलाई लिएर आपत्ति जनाएकी हुन । 

गत साउन ५ र ६ गते काठमाडौँको चन्द्रागिरिमा संघीय संसद् सचिवालयको आयोजनामा भएको संघीय संसद् र प्रदेश सभाको अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको निष्कर्ष तयार गर्ने प्रक्रिया र निष्कर्षप्रति आफ्नो आपत्ति रहेको जनाएकी छिन् । 

उनले भनेकी छिन्–‘दुई दिनसम्म चन्द्रागिरिमा प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको नेतृत्व तथा प्रतिनिधि सभाका माननीय उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष म आफै, प्रदेश सभाका माननीय सभामुख र माननीय उपसभामुख एवं संघीय संसद्का महासचिव, सचिवहरू र प्रदेश सभाका सचिवहरूको सहभागितामा सभा सञ्चालनका क्रममा सँगालेका अनुभव, अभ्यास, समस्या र चुनौतीहरूका बारेमा निकै सौहार्दपूर्ण वातावरणमा गहन छलफल तथा अन्तरक्रिया सम्पन्न भयो। अत्यन्तै सहजतापूर्वक र सौहार्दपूर्ण रूपमा भएको छलफलको निष्कर्ष तयार गर्ने प्रक्रिया भने सहभागी सबैसँग छलफल नै नगरी अपारदर्शी तरिकाले सार्वजनिक भयो ।’ 

आज बिहान संघीय संसद्का महासचिवले आफूलाई उपलब्ध गराएको कार्यक्रमको निष्कर्षको मस्यौदामा उल्लेख भएको विषय र पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निष्कर्ष किन फरक आएको भन्दै उनले प्रश्न गरेकी छिन् । 

उनले भनेकी छिन्–‘यो मसँग जोडिएको विषयमा मलाई जानकारी नै नगराई, थाहा समेत नदिई किन बिहान दिइएको मस्यौदा संशोधन गरियो ? कार्यक्रममा सहभागी संघीय संसद्का पदाधिकारी, प्रदेश सभाका सभामुख र उपसभामुख एवं महासचिव र सचिवहरू सबै बसेर किन कार्यक्रमको निष्कर्षबारे छलफल गरिएन ? सम्माननीय सभामुखज्यू र सम्माननीय अध्यक्षज्यूप्रति मेरा प्रश्नहरू छन् ।’

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको कार्यक्रमको निष्कर्षको बुँदा नं ७ मा संविधानप्रदत्त महिलाको हक अधिकार कार्यान्वयन गर्न र महिला सशक्तीकरणका लागि प्रतिनिधि सभाका उपसभामुखको नेतृत्वमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरू रहेको एक संसदीय संयन्त्र निर्माण गर्ने लेखिएको तर आफूलाई बिहान महासचिवले उपलब्ध गराएको मस्यौदामा भने फरक लेखिएको बताएकी छिन् । 

महासचिवले आफूलाई दिएको मस्यौदामा संविधानप्रदत्त महिलाको हक अधिकार कार्यान्वयन गर्न संघीय संसद्का माननीय उपसभामुख र माननीय उपाध्यक्षको नेतृत्वमा प्रदेश सभाका उपसभामुखहरू रहेको एक संसदीय संयन्त्र गठन गर्ने लेखिएको बताउँदै चन्द्रागिरिबाट बानेश्वर आउँदासम्म किन बुँदा संशोधन गर्नुपर्ने भयो ? हामीसँग छलफल नै नगरी, कसैको पनि हस्ताक्षर नै नगराई हतारमा निष्कर्षहरू सार्वजनिक गर्नुपर्ने बाध्यता के आइपर्‍यो ? भन्दै प्रश्न गरेकी छिन् ।  

उनले भनेकी छिन्–‘कार्यक्रमको निष्कर्ष तयार गर्ने जस्तो महत्त्वपूर्ण विषयमा छलफल नै गर्न नचाहने सम्माननीयज्यूहरुको नियत हो कि बाध्यता ? पहिलो विषय, हामीसँग छलफल नै नगरी निष्कर्ष तय गर्ने प्रक्रियाप्रति मेरो आपत्ति छ । दोस्रो, हिजो शनिबार बेलुकी चन्द्रागिरिमै मेरो अध्यक्षतामा प्रदेश सभामा उपसभामुखहरूसँग बसेर गरेको निर्णय जुन बुँदा नम्बर ७ मा उल्लेख गरिएको छ ।  मलाई एउटा मस्यौदा दिएर बाहिर फरक किसिमले प्रस्तुत गरी अपमानित गर्ने कार्य गरिएको छ, त्यसप्रति मेरो घोर आपत्ति रहेको ब्यहोरा यही प्रेस विज्ञप्तिमार्फत सबैमा जानकारी गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप