उद्घाटन भएको १४ महिनासम्म बनेन अन्तर्राष्ट्रिय सभाहल सञ्चालन कार्यविधि
बुटवल । लुम्बिनीमा अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र बनेको १४ महिना भएको छ । तर, सभाहल सञ्चालन गर्न अझैसम्म कार्यविधि बनेको छैन । २०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सभाहल उद्घाटन गरेका थिए ।
पौने एक अर्ब रुपैयाँमा निर्मित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र सञ्चालन गर्न कार्यविधि बनाउनेको विषयमा पटक पटक छलफल भए पनि कार्यविधि बनाउनको जिम्मा अझैसम्म कसैलाई प्रदान गरिएको छैन ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईका अनुसार अझैसम्म कार्यविधि नभएको तर बनाउन छलफल चलेको छ । उद्घाटन गरेको केही महिनामा हल चुहिएपछि थप समस्या भएको डा.राईले बताए ।
लुम्बिनीको महत्त्व र मूल्यमान्यता अनुसारका कार्यक्रमका लागि मात्रै सभा हल भाडामा दिन सक्ने गरी काम चलेको छ । त्यस आधारमा उद्घाटन भएको १४ महिनामा विकास कोषका बाहेक आधा दर्जन जति सङ्घ संस्थाहरूले कार्यक्रम गरेका छन् ।
पाँच हजार जना अटाउने उक्त सभा हल कोषले कुन प्रकृतिको कार्यक्रमको हो, समय हेरेर दैनिक एक लाखदेखि ५० हजारसम्म भाडा लिने गरिएको छ ।
विकास कोषका अधिकृत राजन बस्नेतका अनुसार यहाँ गत माघमा १० दिने रामकथा प्रवचन भएको थियो । यस्तै, नेपाल शिक्षक सङ्घको सम्मेलन, सत्य शाही सेवा सङ्गठन, श्रुति फाउन्डेसन र हेफर नामक गैरसरकारी संस्थाले किसानको राष्ट्रिय भेला आयोजना गरेको थियो । ती संस्थाबाट रकम लिइएको उनले बताए ।
यस्तै यहाँ हुने विकास कोषको बुद्ध जयन्ती कार्यक्रम, भिक्षु बन्नु भन्दा अगाडि गरिने प्रज्या पूजा आदिको कार्यक्रम भए पनि निःशुल्क गरिएको छ । उनले भने कार्यक्रम प्रकृति हेरेर यहाँको खर्च उठ्ने गरी अहिले रकम लिने गरिएको छ तर कतिपय कार्यक्रम निःशुल्क पनि गर्नुपर्ने हुन्छ ।

२०७३ सालमा २५६०औँ बुद्ध जयन्ती समारोहका लागि खडा गरिएको टेन्ट हावाहुरीले उडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम स्थलबाटै लुम्बिनीमा पाँच हजार जना अटाउने सभा हल निर्माण गर्ने घोषणा गरेका थिए ।
२०७५ साल वैशाख १७ गते २५६२ औँ बुद्ध जयन्तीका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभा हलको शिलान्यास गरेकी थिइन् । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको भए पनि चार वर्षमा पूरा भएको उक्त सभा हलको तत्कालीन प्रम शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
साढे एक बिघा जमिनमा फैलिएको ठाउँमा आवश्यकताअनुसार ससाना हलमा विभाजन गर्न मिल्ने प्रविधि जडान गरिएको विकास कोषका प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए।
हलको छानो र भित्री सजावटमा चिनियाँ र कोरियाली प्रविधिको सामग्री प्रयोग गरिएको छ।
होटेल सङ्घ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले भने, ‘लुम्बिनीमा अन्तर्राष्ट्रिय हल चलाउने न कार्यविधि बन्छ, न विदेशीले दिएका विद्युतीय गाडी चलाउन ध्यान छ । लगानी गर्ने तर प्रयोग नगर्ने हुँदा त्यसले राज्यलाई नोक्सान मात्रै भएको छ ।’
नाटा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीले यहाँको हल पूर्ण रूपमा सञ्चालन हुँदा यहाँको पर्यटन व्यवसायमा थप चलायमान हुने भएपनि सरकारले हल चलाउन ध्यान नदिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण