आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

चिनियाँ प्रतिनिधिमण्डलको प्रश्न : राष्ट्रपति सी नेपाल आउँदा भएका सम्झौता किन कार्यान्वयन भएन ?

प्रधानमन्त्रीको चीन भ्रमणदेखि पोखरा विमानस्थलबारे छलफल
मङ्गलबार, ०९ साउन २०८०, १२ : १८
मङ्गलबार, ०९ साउन २०८०

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक व्यूरो सदस्य युआन च्या च्युनको नेपाल भ्रमण नेपाल–चीनबीच भएका विकास सम्झौता कार्यान्वयनमा केन्द्रित भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१९ अगष्ट १२ र १३ मा गरेको दुई दिने नेपाल भ्रमणका क्रममा गरेका सम्झौता र आगामी दिनमा नेपाल–चीनबीच हुने साझेदारीका बारेमा छलफल भएको छ ।

आइतबार नेपाल आइपुगेका युआनले सुरुवातमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।

युआनले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको पूर्व तयारी र भ्रमणका छलफलका एजेण्डाका बारेमा पनि नेपाली नेताहरुसँग छलफल केन्द्रित गरेका छन् । उनले नेपाली नेताहरुलाई चीन भ्रमणको समेत निमन्त्रणा दिएका छन् । प्रचण्डको चीन भ्रमण सेप्टेम्बर महिनाको अन्तिमतिर गर्ने गरी तयारी भइरहेको छ ।

उनले सभामुखसँगको भेटमा चीनको सहयोग रकम घोषणा र सभामुखलाई चीन भ्रमणको निम्तो समेत दिएका छन् । चीनले पछिल्लो समयमा नेपाल र चीनका राजनीतिक र उच्चस्तरीय भ्रमणलाई प्राथमिकता दिएको छ । केरुङ–काठमाडौं रेल मार्गको कार्य प्रगति र हालै चीनको ऋणमा तयार भएको पोखरा विमानस्थलको बारेमा पनि नेपाली नेताहरुसँग छलफल भएको बताइएको छ ।

चीनले चीनको विकास साझेदारी योजना बीआरआईको सम्झौता भएको ६ वर्ष पूरा हुँदा समेत कार्य प्रगति नभएपछि अलि बढी चासो राखेको छ । नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरुले पोखरा विमानस्थल बीआरआई अन्तर्गतको परियोजना भने पनि नेपाल सरकारले सो कुरालाई अस्वीकार गरेको छ ।

युआनले कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आइतबार नै भेटवार्ता गरेका थिए । नेपाल र चीन असल छिमेकी र दुई देश बीचको उच्च तहको भ्रमणबाट आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

युआन नेतृत्वको चिनियाँ टोलीले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ ।

चीनको चासो भनेको नेपाल–चीनबीच भएका सम्झौताका विषयमा काम गर्नु नै हो । पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपाल भ्रमणमा आएका युआन वरिष्ठ नेता हुन् ।

चीन–नेपाल सम्बन्धका काम गर्ने चीनको सिचुवान र युनान प्रान्तसँग जोडिएको छङछिङ प्रान्तले पनि नेपाल–चीन सम्बन्धमा अलि बढी चासो दिन थालेको छ । युआन छङछिङ प्रान्तका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव हुन् । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका सचिव नै प्रान्तका प्रमुख हुन्छन् । गत महिनामात्र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अधिकारीहरु नेपाल भ्रमणमा गएका थिए ।

युआनको नेपाल भ्रमण व्यवस्थापनका लागि चिनियाँ कम्युनिस्ट पार्टीका नेपाल डेस्क हेर्ने अधिकारी र नेपालस्थित चिनियाँ दूतावासले ब्यवस्थापन मिलाएको छ ।

को हुन् युआन ?     

युआन च्या च्युन अन्तरिक्ष प्रविधिमा विशेषज्ञ, राजनीतिज्ञ र जनवादी गणतन्त्र चीनका उपराज्य नेता हुन् । झेजियाङ प्रान्तका गभर्नर र चिनियाँ कम्युनिस्ट पार्टीको झेजियाङ प्रान्तीय पार्टी कमिटीको सचिव हुन् । हाल चिनियाँ कम्युनिस्ट पार्टीको छङछिङ म्युनिसिपल पार्टी कमिटीको राजनीतिक ब्यूरो र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोको सदस्य हुन् ।

युआन च्या च्युनले बेइजिङ एकेडेमी अफ एरोनटिक्स एण्ड एस्ट्रोनटिक्स (अहिले बेइजिङ युनिभर्सिटी अफ एरोनटिक्स एण्ड एस्ट्रोनटिक्स) को एयरक्राफ्ट डिजाइन र एप्लाइड मेकानिक्स विभागबाट स्नातक, ठोस मेकानिक्समा प्रमुख, स्पेस टेक्नोलोजी रिसर्च इन्स्टिच्युट (पाँचौं एकेडेमी) बाट स्नातक, एयरोनाटिक्स र एस्ट्रोनाटिक्समा डिजाइन, डिजाइन र एस्ट्रोनटिक्स र एस्ट्रोनटिक्समा एक प्रमुख डीडी प्राप्त गरेका छन् । उनी अन्तर्राष्ट्रीय एकेडेमी अफ एस्ट्रोनटिक्सका एकेडेमिशियन हुन् । शेन्झाउ अन्तरिक्ष यान परियोजनाका कमाण्डर इन चीफ, चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पाेरेशनको चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजीका अध्यक्ष पनि हुन् उनी ।

उनी चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ केन्द्रीय समितिका वैकल्पिक सदस्य, १९औँ र २०औँ केन्द्रीय समितिका सदस्य र २०औँ चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप