आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी नेताहरूसँग चिनियाँ प्रतिनिधिमण्डलको डिनर मिटिङ, के–के भयो कुराकानी ?

आइतबार, ०७ साउन २०८०, २३ : ०९
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र) का पदाधिकारीहरूसँग आइतबार साँझ छलफल गरेको छ । द्वारिका होटलमा भएको छलफलमा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्याच्युन नेतृत्वको टोलीले माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीसँग छलफल गरेको हो ।

उपमहासचिव वर्षमान पुनका अनुसार आजको छलफल दुई पार्टीबीचको सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित रहेको थियो । त्यस्तै, नेपाल र चीनबीच रहँदै आएको सरकार, पार्टी र जनस्तरको तीन तहको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि आज छलफल भएको नेता पुनले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘नेपालको सामाजिक आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएको छ । हामीले विभिन्न तहमा हुने आदानप्रदान निरन्तर चलिराख्नेछ भन्ने कुरा राख्यौँ । उहाँहरूबाट पनि हामी सकारात्मक प्रतिक्रिया पाएका छौँ ।’

त्यस्तै, युआन च्याच्युनले चिनियाँ कम्युनिस्ट पार्टी नेपालको शान्ति र समृद्धि स्थिरताको लागि पूर्ण सहयोग गर्न तयार रहेको बताएका थिए । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ सुदृढ रहेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आगामी दिनमा हुने चीनको भ्रमणले यसलाई अझै सुदृढ बनाउने आशा व्यक्त गरेका थिए ।

पछिल्लो समय चिनियाँ नेतृत्वले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकजुट हुन सुझाव दिँदै आएका छन् । तर, आजको भेटमा भने यस विषयमा कुनै छलफल नभएको नेता पुनको भनाई छ ।

‘आजको भेटघाटमा दुई पार्टीबीचको सम्बन्ध विस्तारमा नै केन्द्रित रह्यो । उहाँहरूले हामीसँग मात्र नभएर देशका अन्य राजनीतिक दलहरूसँग पनि सम्बन्ध विस्तार गर्न चाहनुभएको छ,’ नेता पुनले भने, ‘उहाँहरूले नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्वसँग पनि छलफल गर्ने कार्यतालिका रहेको छ ।’

चिनियाँ प्रतिनिधिमण्डलले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको थियो भने इटालीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग भर्चुअल संवाद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप