सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

हर्कराज राजस्वको नियन्त्रणमा आइसकेका थिए, भारतीयको फोन बजिरह्यो !

बुधबार, १० साउन २०८०, ११ : ४९
बुधबार, १० साउन २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ करिब १ सय किलो सुन बरामद हुँदा सुनसँग कनेक्सन देखिएका हर्कराज राई बुढानिलकण्ठमा थिए । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका ४९ वर्षीय हर्कराज केही समयदेखि बुढानिलकण्ठमा बस्दै आएका छन् ।

साउन ३ मा मध्यराति राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले उनलाई बुढानिलकण्ठस्थित चपलीबाट नियन्त्रणमा लियो । राजस्वले उनलाई पुल्चोकस्थित विभागको कार्यालयमा ल्याउँदै थियो । हर्कराजको फोन लगातार बजिरह्यो । फोन गर्नेको नाम थियो–‘थाप्तेन ।’

उनी हुन्, भारतस्थित पुरानो दिल्ली घर भएर पानी पोखरीमा बस्दै आएका थाप्तेन छिरिङ । त्यसपछि पोल खुल्यो, तिब्बत मुलका ५३ वर्षीय थाप्तेन पनि करिब ८० देखि १०० किलो सुन तस्करीमा संलग्न छन् ।

राजस्वका अधिकारीहरुले हर्कराजलाई दबाव दिए– ‘थाप्तेनलाई बोलाउ ।’ थाप्तेन छिरिङलाई पनि राजस्वको टिमले त्यसैरात पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

साउन ४ मा राजस्व अनुसन्धान विभागले छिरिङ बस्ने पानी पोखरीस्थित कम्फर्ट हाउजिङमा खानतलासी गरेको छ । थाप्तेन बस्ने फ्ल्याटबाट सुनसँग सम्बन्धित महत्वपूर्ण कागजात बरामद गरिएको अनुसन्धानमा संलग्न विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जिक्वाङ लिनसहित १६ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप