शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा गौरिकाको अर्को राष्ट्रिय कीर्तिमान

बुधबार, १० साउन २०८०, १५ : ५७
बुधबार, १० साउन २०८०

काठमाडौँ । दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्ण पदकधारी पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा जारी ‘२०औँ वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।  गौरिकाले आफ्नै नाममा रहेको पुरानो समयमा सुधार ल्याउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

हाल फुकुओकामा रहेका नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार, गौरिकाले बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोक स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।  गौरिकाले सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा आयोजना भएको १२ औं सागमा आफैले राखेको ३१.८७ सेकेन्डको समयमा सुधार ल्याएकी हुन् । फुकुओकामा बुधबार उनले निर्धारित दूरी ३१.४४ सेकेन्डमा पार गरिन् । 

यसअघि ओलम्पियन गौरिकाले फुकुओकामा जारी च्याम्पियनसिपको एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आगामी ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा बुधबार पुरुषतर्फ एलेक्जेन्डर शाहले पनि राष्ट्रिय कीर्तिमान बनाए । 

एलेक्सले पुरुष एक सय मिटर फ्रिस्टायल स्पर्धामा आफ्नो समयमा सामान्य सुधार ल्याउँदै नयाँ कीर्तिमान बनाएका हुन् । एलेक्सले पुरानो ५२.९६ सेकेन्डको समयमा सुधार गर्दै ५२.९४ समयका साथ नयाँ कीर्तिमान बनाए । यसअघि उनले हालै सम्पन्न ११औँ एनएसए कप च्याम्पियनसिपमा निर्धारित दूरी ५२.९६ सेकेन्डमा पार गरेका थिए । 

यसअघि मंगलबार डुवाना लामाले पनि महिला दुई सय मिटर फ्रिस्टायल स्पर्धामा आफ्नो ब्यक्तिगत समयमा सुधार गर्दै निर्धारित दूरी दुई मिनट १२.४६ सेकेन्डमा पूरा गरेकी थिइन् । डुवानको ब्यक्तिगत समय यसअघि दुई मिनट १५.०१ सेकेन्ड रहेको थियो । उक्त स्पर्धाको राष्ट्रिय कीर्तिमान भने गौरिकाको नाममा रहेको छ । गौरिकाले निर्धारित दूरी दुई मिनट ११.९४ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा राखेकी हुन् । 

‘२०औँ वर्ल्ड एक्वाटिक च्याम्पियनसिप—२०२३’ मा अब नेपाली खेलाडीको दुई खेल बाँकी छ । बिहीबार डुवाना लामाले महिला एक सय मिटर फ्रिस्टायल र शुक्रबार एलेक्सले पुरुष ५० मिटर फ्रिस्टायल स्पर्धामा प्रतिस्पर्धा गर्ने जानकारी नेपाली टोलीका ब्यवस्थापक नरेश बैद्यले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप