बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

अण्डामा परिनिर्भर कर्णाली मासुमा आत्मनिर्भर

शुक्रबार, १२ साउन २०८०, १९ : ५५
शुक्रबार, १२ साउन २०८०

सुर्खेत । कर्णाली प्रदेशमा पशुजन्य बस्तु निर्यातको तुलनामा आयात निकै कम हुने गरेको छ । आर्थिक वर्ष ०७९/०८० मा पशुजन्य बस्तुको निर्यातबाट ३ अर्ब २८ करोड २५ लाख २ हजार रकम कर्णालीमा भित्रिएको थियो । 

प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी विकास निर्देशनालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा २३ करोड ८८ लाख १ हजार बराबरको पशुपन्छीजन्य बस्तुहरू मात्र आयात भएको छ । 

अण्डा, माछामा कर्णाली परनिर्भर छ । प्राकृतिक जलशायबाट उत्पादित माछाबाट कर्णालीले खासै आम्दानी गर्दैन । गत एक वर्षमा १३ करोड ४० लाख ५३ हजार गोटा अण्डा आयात भएको छ । विशेष गरी कर्णालीमा बाँके र दाङबाट अण्डा आउने गरेको छ । अण्डा खरिदमा १ करोड ९४ लाख ६६ हजार कर्णालीबाट बाहिरिएको छ । 

पशुपन्छी विकास निर्देशनालयका कार्यालय प्रमुख कृष्णप्रसाद पंगेनी अण्डामा कर्णाली परनिर्भर रहेको बरु, खसी, बोकाहरु निर्यात हुने गरेको बताउँछन् ।

गत एक वर्षमा ८० मेट्रिक टन माछा बाँके र बर्दियाबाट कर्णालीमा आयात भएको छ । जसबाट ३ करोड २१ लाख रकम प्रदेश बाहिर गएको छ । यस्तै २९ लाख ५० हजार माछाको भुरा कर्णालीमा आयात भएको पशुपन्छी निर्देशनालयले जनाएको छ । 

गत एक वर्षमा १२ लाख १५ हजार ८६७ गोटा ब्रोइलर चल्ला कर्णालीले आयात गरेको छ । ब्रोइलर बाँकेबाहेक चितवनबाट पनि कर्णालीमा आउने गरेको छ । ब्रोइलर खरिदमा कर्णालीबाट ९ करोड ८ लाख ४९ हजार रकम प्रदेश बाहिर गएको छ । 

यस्तै, कुखुराको मासु, प्रजन्को लागि बोका/बाख्रा, भैँसी, गाई पनि कर्णालीले आयात गर्छ । निर्देशनालयका अनुसार गत एक वर्षमा २७५ गोटा भैँसी आयात भएका छन् । जसमा ४ करोड १८ लाख बराबरको रकम बाँके र बर्दिया गएको छ  । उता ३ करोड ११ लाख ५० हजारको कुखुराको मासु आयात भएको छ । 

यस्तै गाई खरिदमा पनि कर्णालीबाट १ करोड ३५ लाख रकम बाहिरिएको निर्देशनालयसँग तथ्याङ्क छ । 

११ हजार ६७१.१ मेट्रिक टन दूध कर्णालीले बाहिर निर्यात गरेको छ । दूधबाट कर्णालीमा ८४ करोड ५१ लाख ३६ हजार रुपैयाँ भित्रिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप