सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीको छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना

शनिबार, १३ साउन २०८०, १३ : ००
शनिबार, १३ साउन २०८०

रुपन्देही । रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।

बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गए पछि शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरी २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो ।

भौगोलिक रूपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकोले र बढ्दो चोरी, लुटपाट तथा लागु औषध दुर्व्यसनको घटनाबाट स्थानीय त्रसित भएकोले  न्यूनीकरण गर्दै व्यवस्थित बजार र सुशासन कायम गराउँदै स्थानीयको सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले भने । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश जोशीले अस्थायी प्रहरी पोस्टको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै उनले जनसङ्ख्या बढ्दै गई चहल र आर्थिक क्रियाकलाप बढ्दै गएकोले स्थानीय, सियारी गाउँपालिका र सुरक्षा समितिको आवश्यकता अनुसार  सुरक्षाका दृष्टिले संवेदनशील भएकाले अस्थायी प्रहरी पोस्टको स्थापना सुरुवात मात्रै रहेको हो, यसलाई चौकी र इप्रका हुँदै अगाडि बढाउँदै जानु पर्ने बताए ।

अहिले यहाँ आमूल परिवर्तन भएकोले यहाँ सम्म आएका छौ, स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने आपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसङ्गति सबै न्यूनीकरण र नियन्त्रण गर्न सकिने बताए । मन भित्र सबैको पाप हुने हुँदा शिक्षा र विवेकको प्रयोग भए अपराध आफै रोकिने बताए । 

साथै, प्रदेश प्रहरी कार्यालयले प्रदेशका ३ वटा जिल्ला दाङ, रुपन्देही र वाकेमा डिजिटल प्रणालीबाट जरिवाना असुल गर्ने प्रणालीको विकास गरेको छ भने पूर्व पश्चिम राजमार्गको विभिन्न ठाउँमा भएको चेक प्वाइन्ट र अनावश्यक चेकजाँचलाई हटाई सीमित र आवश्यकता अनुसारको चेकजाँचले सडकमा प्रहरी कम भए पनि राजश्व बढेको बताए ।

बढ्दो आपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोस्ट स्थापना गरेकोमा धन्यवाद दिँदै स्थानीयले अस्थायी प्रहरी पोस्ट स्थापना भएपछि धेरै खुसी भएको प्रतिक्रिया दिए । प्रहरी पोस्ट नभएका कारण विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या हुने गरेको थियो । पोस्टको स्थापना पछि हामीसँग पनि प्रहरीको साथ छ, हाम्रो सुरक्षाका निम्ति प्रहरी २४ घण्टा खटिने भएकोले यस क्षेत्रमा चोरीका घटना मात्र होइन महिला हिंसा लगायतका आपराधिक क्रियाकलापले प्रशय नपाउने उनीहरुले सुनाए । यसले शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत थप मद्दत पुग्ने र हामीहरू प्रहरी सेवा लिन इलाका प्रहरी कार्यालय समेत जान नपर्ने बताए । 

हालै स्थापना गरिएको पोस्टबाट प्रहरीले दत्तचित्त भएर निष्पक्ष रूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्ने अपेक्षा लिएको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले भने । अब छपिया चोकमा शान्ति सुरक्षा अमनचैनमा प्रहरी पोस्टले महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने बताए । 

सो अवसरमा बोल्दै सहायक जिल्ला अधिकारी ध्रुव बहादुर कुँवर, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्मा, वडाध्यक्ष श्रीराम यादव लगायतले स्थानीय बासीको माग, शान्ति सुरक्षा, जीउधनको रक्षाका लागि गाउँपालिकाको सक्रियतामा प्रहरी चेक पोस्ट स्थापना भएकोले छपिया चोक अब व्यवस्थित हुँदै सुशासन कायम हुने बताए । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप