मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मनाइयो विश्व बाघ दिवस

शनिबार, १३ साउन २०८०, २३ : ०३
शनिबार, १३ साउन २०८०

काठमाडौँ । विश्वमा बाघको संरक्षणलाई विशेष महत्त्व दिँदै आज यहाँ बाघ दिवस मनाइएको छ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले चिडियाखानामा रहेका बाघलाई आहारा खुवाएर कार्यक्रम सुरुआत गरे ।

सदर चिडियाखानामा आयोजित कार्यक्रममा मन्त्री महतोले भने, “सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने १३ देशले प्रतिबद्घता व्यक्त गरेकामा नेपालले अहिले तेब्बर बनाएको छ । यो विश्वमा गौरवको विषय भएको छ ।”

उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती थपिएको छ । बासस्थान व्यवस्थापन, आहार प्रजाति संरक्षण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जलवायु परिवर्तन, सीमावर्ती क्षेत्रमा व्यवस्थापन सुधारलगायतका विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय देखिएको नयाँ रोगका कारण जनावर संरक्षणमा चुनौती थपिएको बताउँदै उनले भने, “अहिले हाम्रो सामुन्ने मुख्य चुनौती लम्पी स्किन रोग हो । यो रोग जङ्गलका वन्यजन्तुमा सर्यो भने घाँस खाने जनावर सखाप हुनेछन् । यसमा नेपाल सरकारलगायत संरक्षण सङ्घसंस्थाले छिटो ध्यान दिन जरुरी छ ।”

सो अवसरमा बाघ संरक्षण, व्यवस्थापनमा देखिएका चुनौतीलाई व्यवस्थापन गर्ने गरी सन् २०२३ देखि २०३२ सम्मका लागि तय गरिएको ‘बाघ संरक्षण कार्यनीति योजना’ समेत मन्त्री महतोले सार्वजनिक गरे ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्कीले बाघको आहारा संरक्षण, वन क्षेत्र वरपरका समुदायको जीवनस्तर उकास्ने र मानिसको आनीबानी परिवर्तनका विषयसमेत समेटेर तयार पारिएको योजना कार्यान्वयन गरिने विश्वास दिलाए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यसै आर्थिक वर्षभित्र ज्येष्ठ नागरिक र अपाङ्गताका लागि १५ सिटको बस व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भक्तपुरको सूर्यविनायकमा सदर चिडियाखानालाई नसार्न वनमन्त्रीलाई आग्रह गरे ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा सदर चिडियाखानाले प्रमुख महर्जनलाई कोभिडको समयमा उत्कृष्ट वन्यजन्तु संरक्षणमा सहयोग गरेवापत सम्मान गर्यो । सन् २०२२ का तथ्याङ्कानुसार नेपालमा तीन सय ५५ वटा बाघ छन् । सन् २०१० मा रुसको बाघ सम्मेलनले हरेक वर्ष जुलाई २९ लाई विश्व बाघ दिवस मनाउने घोषणा गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप