शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

दावा छिरिङ : कलसेन्टर प्रकरणमा फरार, सुन तस्करीमा पक्राउ

भियना होटलसँग कल सेन्टर र सुन तस्करीको कनेक्सन
आइतबार, १४ साउन २०८०, २२ : ४९
आइतबार, १४ साउन २०८०

काठमाडौँ । प्रहरीले वर्षदिन अगाडी काठमाडौँ र रुपन्देहीमा सञ्चालित कल सेन्टरमा छापा मारेको थियो । कल सेन्टरको आवरणमा भारतको विभिन्न शहरमा एप्समार्फत ऋण लगानी गरेर चर्को व्याज असुलेको आरोप प्रहरीको थियो ।  

कल सेन्टरको आवरणमा ठगी धन्दा चलाउनेमा तिब्बतीय मुलका बेल्जियन नागरिक दावा छिरिङ पनि संलग्न देखिएका थिए । अनुसन्धान अधिकृतहरुकाअनुसार छिरिङ कल सेन्टर चलाउन घर भाडामा लिने र व्यवस्थापन गर्ने भूमिकामा देखिएका थिए । तर, त्यतिवेला दावा पक्राउ परेनन् ।

अहिले, करिब १ सय किलो सुन तस्करीमा संलग्न आशंकामा आइतबार राजस्व अनुसन्धान विभागको टोलीले उनलाई पक्राउ गरेको छ । २०७९ साउनमा गरेको प्रहरीको अनुसन्धानबाट ३ वटा कल सेन्टरबीच ‘कनेक्सन’ देखियो । ती कल सेन्टर हुन्, काठमाडौँ महानगरपालिका–९ स्थित गैह्रिगाउँ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकारीनगर र काठमाडौं–२६ ज्याठास्थित भियना होटलको तेस्रो तलामा सञ्चालित कल सेन्टर ।

कल सेन्टरको आवरणमा ठगी गरेको कसुरमा फरार भएका छिरिङ आइतबार सामाखुसीबाट पक्राउ परेका हन् । छिरिङको साथमा बेल्जियमको पासपोर्ट भेटिएको छ । छिरिङको लगानी रहेको भनिएको ठमेलस्थित ‘होटल भियना’ मा पनि राजस्व अनुसन्धान विभागले छापा मारेको छ । 

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको करिब १ सय किलो सुन  साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो । सुन तस्करीमा छिरिङको संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । सुन प्रकरणमा छिरिङबाहेक एकजना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परेका छन् । 

‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौं ल्याएको थियो ।

कलसेन्टर कनेक्सन  

२०७९ मा प्रहरीले छापा मारेको गैह्रिगाउँ र तिलोत्तमाको कल सेन्टर नेपालीको नाममा दर्ता रहेको भेटियो । दुवै कल सेन्टर ठमेलबाट चिनियाँ नागरिकको निर्देशनमा चलिरहेको अनुसन्धानबाट खुल्यो । कम्पनी रजिष्ट्रारको कार्यालयको रेकर्डअनुसार बुटवलको कल सेन्टर विजय श्रेष्ठ र सुविन्द्र रोकामगरको नाममा दर्ता भएको भेटियो । सुविन्द्र रोल्पाका हुन् ।  

कल सेन्टरको आवरणमा ठगी धन्दा चलाउन तिब्बतीय मुलका दावा छिरिङले व्यवस्थापकको भूमिका खेलेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । कल सेन्टरबारे अनुसन्धान गरेका एकजना प्रहरीका अधिकृत भन्छन्–‘छिरिङ घर भाडामा लिने र व्यवस्थापन गर्ने भूमिकामा देखिएका थिए ।’ 

२०७९ साउन ९ मा तिनकुनेस्थित स्काई वल्र्ड सर्भिस प्रालिमा भेटिएका चिनियाँ नागरिक ४३ वर्षका हु युह्याको डेरा खोज्दा प्रहरी अधिकारीहरु भियना होटलमा पुगेका हुन् । ‘चिनियाँ बस्ने डेरा खोज्दा भियना होटलमा पुगेका थियौं’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘होटलको तेस्रो तलाबाट चारजना चिनियाँलाई पक्राउ गरेका थियौं ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप