आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादी नेतालाई प्रचण्डले भने, ‘फोटो खिच्दा ख्याल गर्नुहोला’

सोमबार, १५ साउन २०८०, १० : ५४
सोमबार, १५ साउन २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा पार्टीका शीर्ष नेताहरूको नाम मुछिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चासो व्यक्त गरेका छन् । सोमबार बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरूलाई विभिन्न व्यक्तिहरूसँग गर्ने भेटघाटमा सचेत बन्न सुझाएका हुन् ।

केही समयअघि मात्र भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको सुन तस्करहरूसँग सम्पर्क देखिएको थियो । त्यस्तै, हाल चर्चामा रहेको करिब १ सय किलो सुन तस्करी प्रकरणमा उपमहासचिव वर्षमान पुनको परिवारको नाम जोडिएको छ । 

यस प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग नेता पुन र उनकी पत्नी ओनसरी घर्ती तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले खिचाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । फोटोसँगै यस प्रकरणमा उनीहरूको संलग्नता भएको आशङ्का गरिएको छ ।

‘विभिन्न मान्छेहरूसँग भेटघाट हुन्छ । तर, उनीहरूसँग भेटघाट गर्दा, तस्बिर खिचाउँदा ख्याल गर्नुहोला,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘अहिले त्यही तस्बिरलाई लिएर अहिले अनुसन्धान नै प्रभावित गर्ने गरी प्रचार हुँदैछ ।’ ती नेताका अनुसार प्रधानमन्त्रीले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेका छन् ।

यता, नेता पुनले भने ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले आफूसँग जोडेर गरिएको प्रचार प्रति गम्भीर आपत्ति भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निष्पक्ष छानबिनको म पूर्ण रूपमा समर्थन गर्दछु। राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्दछु। ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप