आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
खतरामा राप्रपा कार्यालय

पार्टी कार्यालयको रक्षा गर्न राजेन्द्र लिङ्देनले बोलाए केन्द्रीय सदस्य

महानगरको डोजर आएपछि बालेनदेखि गृहमन्त्रीसमेतलाई फोन !
सोमबार, १५ साउन २०८०, १८ : २८
सोमबार, १५ साउन २०८०

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन हाइटेन्सन लाइनमुनि बनेको पार्टी कार्यालय जोगाउन लागिपरेका छन् । काठमाडौँ महानगरपालिकाले अवैध संरचनामा बनेको पार्टी कार्यालय भत्काउन लागेपछि लिङ्देन पार्टी कार्यालय जोगाउन लागिपरेका हुन् । 

महानगरपालिकाको टोली सोमबार डोजरसहित राप्रपाको कार्यालयमा पुगेसँगै लिङ्दनले दौडधुप बढाएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सुरुमा उनले आफ्नो कार्यालय बचाइदिन भन्दै महानगरपालिकाका मेयर बालेन शाहलाई फोन गरेका थिए । तर, बालेनले फोनमा कुरा गर्न चाहेनन् । लिङ्देनको फोन उठाएका सहयोगीले बालेन व्यस्त रहेको भन्दै फोन नदिएको ती नेताको भनाइ छ । 

त्यसपछि उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग हारगुहार गरेका थिए । साथै महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध समेत गरेका थिए । शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको हारगुहार र कार्यकर्ताका अवरोधपछि आज कार्यालयमा डोजर चल्नबाट जोगिएको छ । 

यसअघि शुक्रबार महानगरपालिकाले हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय रहेको भन्दै हटाउने उर्दी जारी गरेको थियो । बिहानैदेखि राप्रपाको कार्यालय धुम्बाराही परिसरमा पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो भने कार्यालय नजिक गाडीसमेत तेर्स्याएर अवरोध गरिएको थियो । 

राप्रपा अध्यक्ष लिङ्देनले पार्टी कार्यालय जोगाइदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत हारगुहार गरेपछि श्रेष्ठकै निर्देशनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी  जितेन्द्र बस्नेतले समन्वयको प्रयास गरेका थिए । 

उनले राप्रपा, विद्युत् प्राधिकरण र महानगरका प्रतिनिधिसहितको बैठक राखेपनि सहमति जुट्न नसकेको हो । तर प्रशासनले महानगरको कदममा आफूले बुझ्नुपर्ने भन्दै प्रहरीको ब्याकफोर्स दिन नसक्ने बताएपछि महानगरपालिका आज डोजर चलाउनबाट पछि हटेको बताइएको छ । 

यस्तै राप्रपाका मुख्यसचिव केदार अधिकारी र नेता निरञ्जन थापाले महानगरपालिकामा पत्र दर्ता गराएका छन् । पत्रमा भवन भत्काउनुको लिखित जानकारीसहित महानगरको कार्यक्षेत्र लगायतका विषयमा प्रश्न गरिएको छ । 

तर, महानगरपालिकाले राप्रपाको पत्र चित्तबुझ्दो नभएको जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र चित्तबुझ्दो नभएको र यसबारे आफूहरू छलफलमै रहेको बताए । 

राप्रपाले अहिलेकै अवस्थामा कुनै पनि हालतमा पार्टी कार्यालय भत्काउन नदिने नीति लिएको छ । जसअनुसार राप्रपाले मङ्गलवार बिहान ८ बजे नै सबै केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको छ।  राप्रपाका एक नेताले भने, ‘आठ बजे नै बैठकमा आउनु भनेर एसएमएस नै आएको छ । आज पनि दिनभर त्यही लफडामा लागियो । हेरौँ अब के हुन्छ ।’

नेताहरूका अनुसार उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री धवल शमशेर जबरालगायतले पनि कुनै पनि हालतमा पार्टी कार्यालय जोगाउनु पर्ने भन्दै आज उपस्थित नेता कार्यकर्तालाई आन्तरिक ब्रिफिङ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप