आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अवैध संरचनामा बालेनको एक्सन

राप्रपाको पार्टी कार्यालय तत्काल नभत्किने, महानगरले दियो २१ दिनको समय

सोमबार, १५ साउन २०८०, १९ : ४१
सोमबार, १५ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने भएको छ । राप्रपाले कार्यालय नभत्काउन आग्रह गर्दै लिखित रुपमा २१ दिनको समय मागेर पत्राचार गरेसँगै महानगरपालिकाले त्यसलाई स्वीकारेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डेले राप्रपाले २१ दिनको समय माग गरेर लिखित रुपमा पत्र दर्ता गरेसँगै सो अवधिका लागि पर्खिने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । 

‘हामीले यसअघि नै पनि विभिन्न समयमा सार्वजनिक सूचना जारी गरेका हौँ । सोहीअनुसार हामीले शुक्रबार ३ दिनअघि माइकिङ गरेर कार्यालय हटाउन भनेका हौँ’, उनले भने, ‘तर उहाँहरुले मान्नु भएन । आज भत्काउनै भनेर गएपछि राप्रपाले २१ दिनको समय मागेर पत्राचार गरेसँगै त्यतिसमय पर्खिने भएका छौँ ।’

 अबको २१ दिनमा पनि पार्टी कार्यालय नहटाएर महानगरपालिकाले २२ औँ दिनमा डोजर चलाउने पाण्डेले स्पष्ट गरे ।

राप्रपाका मुख्यसचिव केदार बहादुर अधिकारीले मेयर बालेन शाहलाई सम्बोधन गरेर दर्ता गराएको पत्रमा भनिएको छ, ‘महानगरपालिकाको सूचना बमोजिम घर खाली गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिनभित्र घर खाली गरी महानगरपालिकालाई जानकारी गराउने निर्देशानुसार अनुरोध गर्दछु ।’ 

त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई समेत दिइएको छ । 

359099042_855274666029513_4656758963645048505_n

महानगरपालिकाले यसबारे निर्णय गरेपनि राप्रपालाई जानकारीसहितको पत्र भने मंगलबार पठाउने बताइएको छ । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन हाइटेन्सन लाइनमुनि बनेको पार्टी कार्यालय जोगाउन दिनभर लागिपरेका थिए ।  काठमाडौँ महानगरपालिकाले अवैध संरचनामा बनेको पार्टी कार्यालय भत्काउन लागेपछि लिङ्देन पार्टी कार्यालय जोगाउन लागिपरेका हुन् । 

महानगरपालिकाको टोली सोमबार डोजरसहित राप्रपाको कार्यालयमा पुगेसँगै लिङ्दनले दौडधुप बढाएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सुरुमा उनले आफ्नो कार्यालय बचाइदिन भन्दै महानगरपालिकाका मेयर बालेन शाहलाई फोन गरेका थिए । तर, बालेनले फोनमा कुरा गर्न चाहेनन् । लिङ्देनको फोन उठाएका सहयोगीले बालेन व्यस्त रहेको भन्दै फोन नदिएको ती नेताको भनाइ छ । 

त्यसपछि उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग हारगुहार गरेका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारीमार्फत समन्वयको पहल भएको थियो । 

 साथैसाथै महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको कार्यालय जोगाउन अवरोध समेत गरेका थिए । शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको हारगुहार र कार्यकर्ताका अवरोधपछि आज कार्यालयमा डोजर चल्नबाट जोगियो भने महानगरपालिकापनि राप्रपाको पत्रपछि लचक भएसँगै तत्कालका लागि पार्टी कार्यालय नभत्किने सुनिश्चित भएको हो ।  

यसअघि शुक्रबार महानगरपालिकाले हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय रहेको भन्दै हटाउने उर्दी जारी गरेको थियो । सोमबार बिहानैदेखि राप्रपाको कार्यालय धुम्बाराही परिसरमा पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो भने कार्यालय नजिक गाडीसमेत तेर्स्याएर अवरोध गरिएको थियो । 

 राप्रपाले मङ्गलवार बिहान समेत ८ बजे नै सबै केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको थियो ।

तत्कलीन राप्रपा नेपालका अध्यक्ष कमल थापाको पालामा धुम्बाराहीमा हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय बनाएको थियो । उक्त कार्यालय राजावादी नेता दिलविकास राजभण्डारीको स्वामित्वको जग्गामा बनेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप