खीर खाएर मनाइयो साउन १५
काठमाडौँ । नेपाली समाजमा परापूर्व कालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो ।
दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाईभैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन सुरु भएको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा पायस बनाउँछन् ।
यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशमा ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही च्युरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफु पनि खाने लौकिक चलन रहिआएको छ ।
खीर खाने पर्वका रूपमा साउन १५ मनाइने भएकाले आज बजारमा दूधको बिक्री पनि धेरै भएको व्यवसायीले जनाएका छन् । धेरै स्थानमा दिउँसै दूध सकिएको थियो ।
विसं २०७८ देखि साउन १५ लाई राष्ट्रिय दुग्ध विकास बोर्डले खीर दिवसका रूपमा घोषणा गरेको छ । दूधमा बनेका परिकारले कोरोना, डेङ्गुजस्ता भाइरसबाट बचाउन सफल हुने भएकाले रोग प्रतिरोधी क्षमता वृद्धिमा सहयोग पुग्ने पनि बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण