आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विपद् व्यवस्थापन मन्त्रालय एक्लैले गर्न सक्दैन : मन्त्री ज्वाला

मङ्गलबार, १६ साउन २०८०, १५ : ५८
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मन्त्रालय एक्लैले काठमाडौँमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने स्पष्टीकरण दिएका छन् ।

मंगलबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बोल्दै उनले यस्तो स्पष्टीकरण दिएका हुन् । 

बैठकमा सांसदहरुले गत श्रावण ७ गते सामाखुशी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए । जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताए । 

उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गरे ।

मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडकलगायतको समस्याबाट कुनैपनि खालको क्षति नहोस् भन्ने कुरामा भने आफ्नो मन्त्रालय सचेत रहेको पनि बताए । 

 ‘सडकसँग, पुलसँग अथवा हाम्रो मन्त्रालयसँग जोडिएका विपद्सँग सम्बन्धित विषयमा यो वर्षामा बाटोघाटो बन्द नहोस् । र मानवीय र अन्य क्षतिनहोस् भन्ने कुरामा हामी सचेत छौं’, उनले भने, ‘अरु विषयमा सम्बन्धित मन्त्रालयसँग पनि बसेर साझा निष्कर्ष निकालौं ।’

उनले ¥यापिड बस सेवा शुरु गर्ने भनिएको भन्दै त्यो पनि एक्लै गरेर नहुने बताए । 

‘यातायात व्यवस्था विभागले के गर्ने, सडक विभागले अर्को गर्नुपर्ला । ट्राफिकले गर्नुपर्ला । ५/६ वटा निकायले काम बाँडफाँट गरेपछि काम अघि बढ्या छ । यो कुरामा एक्लै हाम्रो मन्त्रालय, जसको शुद्ध क्षेत्राधिकार पनि भएन । त्यसैले यही नै समाधान भनेर हामीले भन्ने अवस्था रहेन । त्यसैले समितिले यही रुपमा लिनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु’, मन्त्री ज्वालाको भनाइ छ । 

मन्त्री ज्वालाले वर्षातका कारण पूर्वका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिनका लागि सक्दो प्रयास गरिरहेको दाबी समेत गरे ।

मुग्लिन–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको मन्त्री ज्वालाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप