मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
लम्पी स्किन

लम्पी स्किन नियन्त्रण र उपचारका लागि सरकारको के छ कार्यक्रम र योजना ?

बुधबार, १७ साउन २०८०, १३ : ५१
बुधबार, १७ साउन २०८०

काठमाडौँ । हालसम्म ११ लाख ४९१ पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् । नेपालमा दुई वर्ष अघिदेखि पशुहरूमा लम्पी स्किन रोग पुष्टि भए पनि पूर्व तयारी नहुँदा यसपालि महामारीको रूप लिएको छ । 

७७ जिल्लामै लम्पी स्किनले भयावह रूप लिएपछि मात्रै सरकार नियन्त्रण गर्न योजना तथा कार्यक्रम बनाइ अगाडि बढेको छ  । 

पशु सेवा विभाग विगतमा लम्पी स्किन रोग नियन्त्रण गर्न र स्वास्थ्य उपचारका लागि केन्द्रसँग बजेट अभाव भन्दै उम्किँदै आएको थियो । 

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चासो देखाउनुका साथै राजनीतिक दलका शीर्ष नेताहरूले सदनमा लम्पी स्किन महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार बनेको कुरालाई पटक पटक उठान गरिएपछि नियन्त्रण र उपचारका लागि सरकारले कार्ययोजना बनाएको छ । 

लम्पी स्किन रोगको नियन्त्रण र उपचारका लागि चालु आर्थिक वर्षका लागि राज्यले गर्नुपर्ने कार्य प्रस्ताव मन्त्रालयमा लगिएको पशु सेवा विभागका वरिष्ठ पशुविज्ञ डा. चन्द्र ढकालले बताए ।

यस्तो छ प्रस्ताव

महामारी नियन्त्रणका लागि रोगको प्रकोपको आधारमा हिउँदभित्र कम्तीमा ५० लाख पशुलाई यस रोग विरुद्धको खोप लगाउन आवश्यक रहेकाले बजेट विनियोजन गर्न आवश्यक रहेको ढकालले बताए ।   

हाल सबै पालिकामा एक पालिका, एक भेटेनिरी डाक्टर तथा एक गाउँ एक प्राविधिक कार्यक्रम समावेश नभएको हुँदा छुटेका सबै पालिकाहरूमा चिकित्सक र सबै वडामा प्राविधिकहरूको व्यवस्थापनको लागि ६० करोड बजेट व्यवस्था गर्न आवश्यक देखिएको छ । यसबारे विभागले मन्त्रालयमा प्रस्ताव गरेको उनले बताए । बजेट व्यवस्थापन भए हाललाई प्रभावित १६१ स्थानीय तहमा ती प्राविधिक खटाइनेछ । 

रोग नियन्त्रणको लागि आवश्यक औषधि खरिद र आपूर्ति गर्न हरेक स्थानीय तहमा पाँच लाखका दरले ३७ करोड ६५ लाख रकम व्यवस्थापन गर्न आवश्यक देखिएको प्रस्ताव गरिएको छ । 

यस्तै, लामखुट्टे लगायतमा लम्पी स्किनको विषाणु लामो समय जीवित रहन्छ । यसरी दीर्घकालीन रूपमा यो रोग नियन्त्रणका लागि बर्सेनि खोप लगाउन आवश्यक हुने भएकाले यसका लागि नेपालमै खोप उत्पादन गर्न व्यवस्था मिलाइनु पर्ने उनले बताए । 

हाल रोगको प्रकोप देखिएका क्षेत्रमा रोगी पशुको उपचारमा निरन्तरता दिन दिनुपर्ने प्रस्ताव गरिएको डा ढकालले बताए । साथै, खोप प्रभावकारिता अध्ययन, खोप कार्यको स्थलगत अनुगमनका लागि आवश्यक बजेटको आवश्यकता पर्ने उनले बताए । 

lumpy skin

यस्तै, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभागका कर्मचारीले लम्पी स्किन रोगको अवस्थाबारे ब्रिफिङ गरेका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले पशुविज्ञहरूले आकलन गरिएभन्दा लम्पी स्किन रोगले अझै धेरै महामारीको रूप लिने स्थिति सिर्जना भएकाले विभागलाई गम्भीर भएर काम गर्न समेत निर्देशन दिएका थिए । साथै, विपन्न परिवारको पशुचौपाया मरेकाले राहतका लागि गृहकार्य गर्न तथा पशुलाई निःशुल्क खोपका लागि निर्देशन दिएका थिए । 

विपन्न किसानका पशुलाई खोप र राहत सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय भएसँगै विभाग अघि बढ्ने डा. ढकालले बताए । हाल सरकारले  निजी क्षेत्रबाट आयात भएको १० लाख ३७ हजार डोज खोप प्राप्त गरेको छ, जसमा हाल साढे ३ लाख पशुलाई मात्रै लगाइएको छ । 

विभागले के गरिरहेको छ ?

पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना, सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरिएको गरिएको डा ढकालले जानकारी दिए । 

यसरी खटिएको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन, समन्वय गरी उपचार, प्राविधिक सल्लाह दिइरहेको उनको जिकिर छ । राष्ट्रव्यापी रूपमा वृहत् खोप कार्यक्रम सञ्चालन गर्न लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन छिमेकी राष्ट्र भारत र चीनसँग समन्वय गरिरहेको उनको भनाइ छ । 

यस्तै, प्रदेश र स्थानीय तहमा लम्पी स्किन रोग नियन्त्रणका लागि समन्वय गर्न सम्पर्क व्यक्ति तोकिएको उनले बताए । 

औषधिहरूको नियमित आपूर्ति व्यवस्था मिलाउन औषधि उत्पादक र आयातकर्ताहरुसँग समन्वय गरिएको उनको भनाइ छ । केन्द्रीयसहित पाँचवटै पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट नमुना परीक्षण गरी रोग निदान कार्यलाई प्राथमिकतामा पारिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप