आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१५ लाख रुपैयाँभन्दा बढीका कपडा र औषधिसहितको ट्रक नियन्त्रणमा

बिहीबार, १८ साउन २०८०, २० : २३
बिहीबार, १८ साउन २०८०

मकवानपुर । सशस्त्र प्रहरीले  हेटौंडाबाट १५ लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा तथा प्रतिबन्धित औषधि नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल, १४ नम्बर गण हेडक्वाटर मकवानपुरबाट खटिएको टोलीले बिहीबार बिहान हेटौंडा–१५, रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डबाट भन्सार छलेर ल्याइएका १५ लाख ७७ हजार रुपैयाँ बराबरको कपडा र औषधिसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकका चालक काभ्रे मण्डन देउपुर नगरपालिका–९, मण्डन बस्ने वर्ष ४८ का ज्ञानेन्द्र कुमार सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भन्सार छलेर ल्याइएको पाइन्ट, टिसर्ट, कुर्ता लगायतका कपडा र प्रतिबन्धित औषधिसहित मालबाहक कन्टेनर (ट्रक)सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१९००६ ख २६५६ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याइएका उक्त समान बरामद भएको प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरका गणपति प्रहरी उपरीक्षक अनिल कार्कीका अनुसार विशेष सूचनाको आधारमा भन्सार छलेर ल्याइएका १ लाख २० हजार रुपैयाँ बराबरको पाइन्ट ३० पिस, ३ लाख रुपैयाँ बराबरको टिसर्ट २०० पिस, १० लाख २६ हजार रुपैयाँको कुर्ता ५१३ पिस बरामद गरिएको हो । बरामद गरिएका कपडाको बजार मूल्य कुल १४ लाख ४६ हजार रुपैयाँ रहेको कार्कीले बताए ।

प्रहरीले १ लाख ३१ हजार रुपैयाँ बराबरको उपभोग मिति समाप्त भएका प्रतिबन्धित औषधि ट्रामडोल ५० एमजीको ७६० ट्यावलेट र महारिच मल्टी भिटामिन १५० पिस बरामद गरेको पनि उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएको ट्रक, चालकसहित बरामद भएका सामानका विषयमा कानुन शाखासँग आवश्यक समन्वय गरी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप