बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
कर्मचारी संयन्त्र

कर्मचारीको ध्यान सुगममा मात्रै

दुर्गममा जान एउटै निवेदन परेन, सुगममा आउन २१९ कर्मचारीले दिए निवेदन
शुक्रबार, १९ साउन २०८०, १६ : १५
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । कर्मचारी सरुवामा ‘कसैलाई काखा र कसैलाई पाखा’ गरेको व्यापक जनगुनासो आएपछि सरकारले कर्मचारीलाई नै भौगोलिक क्षेत्र छानेर निवेदन दिन आग्रह गर्यो ।  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत साउन ११ मा सूचना जारी गर्दै नौ दिनको म्याद दिएर भौगोलिक क्षेत्र रोज्न कर्मचारीलाई आग्रह गरेको थियो । 

निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) को खण्ड (क) बमोजिम ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरि कार्यावधि पुरा भएका निजामती कर्मचारीले सोही उपदफाको खण्ड(ख) बमोजिम ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रमा सरुवा हुन इच्छुकले निवेदन दिन मन्त्रालयले सूचना जारी गरेको थियो । त्यस्तै ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रमा कार्य गरि कार्यावधि पुरा गरेका कर्मचारीले ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रमा सरुवा हुन निवेदन दिन कर्मचारीलाई सुझाएको थियो । 

शुक्रबार मन्त्रालयले दिएको नौ दिन समयसीमा सकिएको छ । ९ दिनमा दुर्गममा बसेर कार्य गरि कार्यावधि पुरा गरेका दुई सय १९ जना कर्मचारीले ‘क’ र ‘ख’ वर्गका कुनै एक जिल्लामा सरुवा हुन भन्दै निवेदन दिएको मन्त्रालयले जनाएको छ । तर, ‘क’ र ‘ख’ वर्गका जिल्लामा काम गरेका एक जना कर्मचारीले पनि दुर्गम अर्थात ‘ग’ र ‘घ’ वर्गका जिल्लामा सरुवा हुन निवेदन दिएका छैनन् । 

यो विवरणले पनि कर्मचारीहरु सकेसम्म सुगम क्षेत्रमै वसेर काम गर्ने इच्छामा रहेको देखाउँछ । मन्त्रालयले अहिले सिंहदरबार भित्र तीन वर्ष भन्दा बढी काम गरेका शाखा अधिकृत र उपसचिवलाई पालिकाहरुमा सरुवा गरिरहेको छ । खासगरी मधेश प्रदेशका अधिकांश गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चल्दै आएका थिए । बिहीबार मन्त्रालयले कर्मचारी सरुवा गरेपछि अब मधेश प्रदेशका कुनै पनि पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छैनन् । 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराईले सुगमका कर्मचारीले दुर्गममा जान निवेदन नदिएपनि मन्त्रालयले दुर्गम क्षेत्रबाट आएका निवेदनका आधारमा कर्मचारीको व्यवस्थापन गर्ने बताए । उनले रातोपाटीसँग भने,‘ सिंहदरबार भित्र वा नजिकका सुगम क्षेत्रमा बसेर तीन वर्ष बढि काम गरेका कर्मचारीको विवरण हामीसँग छ, दुर्गमका बसेर काम गरिरहेकाको लिष्ट पनि छ, अवस्था हेरेर दुर्गमको सुगममा र सुगमको दुर्गमा कर्मचारी सरुवा गर्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप